सुदूरपश्चिममा भारतबाट रोजगारी गरी घर फर्किनेकाे ​चहलपहल बढ्याे

 असोज १५, २०७८ शुक्रबार १०:५७:४३ | विमल बिष्ट
unn.prixa.net

डाेटी - भारतमा राेजगारी गरी दशैँ मनाउन घर फर्किनेकाे सङ्ख्या बढेसँगै डाेटीलगायत सुदूरपश्चिमका जिल्लामा चहलपहल बढ्न थालेकाे छ । 

रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका सुदूरपश्चिमवासीहरु दशैँ नजिकिँदै गएकाले घर फर्किन थालेका छन् । अहिले यहाँका गाउँघरमा निकै चहलपहल बढेको छ ।

घरको खेतीपातीको काम सकेर यहाँका नागरिक कामका लागि भारतका विभिन्न सहर जाने गरेका छन् । 

राेजगारीका लागि अधिकांश नागरिक भारत जाने भएका कारण यहाँका गाउँघर सुनसान भएका थिए । अहिले उनीहरु धमाधम गाउँ फर्किन थालेका कारण गाउँमा निकै रौनकता छाएको जोरायल गाउँपालिका–६ निरौलीका स्थानीयवासी डम्बरबहादुर बोहराले बताउनुभयो । 

उहाँले भन्नुभयो,'कामका लागि भारत गएकाहरु घर फर्किन थालेका छन्, अहिले यहाँका गाउँघरमा सहरभन्दा बढी चहलपहल बढेको छ ।' दशैँका लागि घर पोत्ने, कमेरो लगाउने लगायतका काम समेत सुरु भएकाे उहाँले बताउनु भयाे । 

डाेटीको शिखर नगरपालिका–१ साफरीगाउँमा किसनसिंह साफरी एक वर्षअघि गहुँ खेती लगाएर परिवारसहित रोजगारीका लागि भारत जानु भएको थियो । भारतमा एक वर्ष रोजगारी गरी अहिले दशैँका लागि भन्दै उहाँ फेरि परिवारसहित अहिले घर फर्किनु भएको छ ।

किसनसिंह मात्र होइनन् रोजगारका लागि भारतलगायत अन्य देश गएका सुदूरपश्चिमेलीहरु अहिले धमाधम घर फर्किन थालेका छन् । केआइसिंह गाउँपालिका–४ का दीपकबहादुर कामी भारतको उत्तराखण्डमा रोजगारी गरेर दशैँ मनाउनका परिवारसहित घर फर्किएकाे बताउनु हुन्छ । 

उहाँले भन्नुभयो,'खास्सै पैसा कमाउन त सकिनँ, तर वर्षदिनको पर्व परिवारसँग मनाउन घर फर्किएको छु, दशैँ तिहार सकिए पछि फेरि कामका लागि उतै फर्किन्छु।' 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दैनिक दुई सयदेखि तीन सय नेपाली कैलालीका त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल फर्किने गरेका छन् ।

घर फर्किएका नागरिकका कारण अहिले तराईबाट पहाड आउने गाडीहरु पनि भरिभराउ हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । भारतबाट आउने नागरिकको सङ्ख्या बढेकाले कोरोना जोखिमबाट सजग रहन स्थानीय प्रशासनले सबैलाई आग्रह गरेको छ ।

भारतबाट घर फर्किँदै गरेका नेपालीलाई सीमामा सास्ती नहोस् भन्नका लागि त्रिनगर र गड्डाचौकी नाकामा चाडपर्व लक्षित सीमा सहायता कक्ष स्थापना गरिएको प्रदेश प्रहरी प्रमुख तथा डीआईजी पुरुषोत्तम  कँडेलले बताउनुभयो ।

 उहाँले भन्नुभयो,'नेपालीलाई घर फर्किँदा सीमामा कुनै पनि समस्या नहोस् भन्नका लागि सहायता कक्ष स्थापना गरिएको छ, कुनै समस्या भए प्रहरीलाई खबर गर्दा हुन्छ ।'

डोटीमा दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै प्रहरीले नागरिक सहायता कक्ष समेत स्थापना गरेकाे छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको ३६ नम्बर गणले गाडी जाँचमा कडाइ तथा जिल्लाको शान्ति सुरक्षा कायम गर्न बजारमा गस्ती समेत गर्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया