खाडीमा भन्दा बारीमा मनग्य कमाइ

 असोज २०, २०७८ बुधबार १२:५५:२२ | रासस
unn.prixa.net

म्याग्दी – ‘सोचेजस्तो हुन्न जीवन, खोजेजस्तो हुन्न जीवन’ भन्ने गीतका शब्द र भाव धेरैको जिन्दगीसँग मेल खान्छन् । 

गायिका अरुणा लामाको स्वरमा रहेको याे गीत घर परिवार, समाज र आफ्नै देश छोडेर पैसा कमाउने र सुखी जिन्दगी बिताउने लालसामा रोजगारीका लागि विदेश गएर सयौं हण्डर खाएका युवाको जिन्दगी सोचेजस्तो हुने कुरै भएन । 

अरबीयन देशमा खाइनखाइ पसिना बगाएर दश नङ्ग्रा खियाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि गाउँमा फर्किएर तरकारी र फलफूलखेती गरेका म्याग्दीका केही युवाले खाडीमा भन्दा तीन गुणा बढी आम्दानी गरेर मनमा सन्तोष र मुहारमा खुसी फर्काउन सफल भएका छन् ।

त्यस्ता धेरै युवामध्येका तीनजना प्रतिनिधि पात्र हुनुहुन्छ म्याग्दीको मङ्गला गाउँपालिकाका जीवन पौडेल, बेनी नगरपालिका–२ ज्यामरुककोटका हरिलाल घिमिरे र बेनी नगरपालिका–६ अर्थुङ्गेका नरेश जिसी । जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताएका यी तीनैजना युवाको पहिले र अहिलेको अवस्था करिब करिब मिल्दोजुल्दो छ । साउदी अरब, कतार र युएईमा एक दशक भन्दा बढी परिश्रम गर्दा पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका यी तीनजना युवाको जीवनको उत्तरार्द्धमा बल्ल हरियाली छाउन थालेको छ ।​

उमेरले चालिस वर्ष काटिसकेका तीनै जनाले जीवनको युवा अवस्था  साउदी अरब, कतार र युएईको चर्को घाममा पसिना बगाउँदैमा बिताउनुभयो । खाडी देशमा पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि उहाँहरुको जिन्दगीमा खुसी फर्किएको छ ।

अर्का किसान घिमिरे पनि तरकारी खेतीबाट सन्तुष्ट हुनुहुन्छ । “विदेशमा कमाइ गर्न नसकेपछि गाउँ फर्केर आएँ, अनि तरकारी खेती सुरु गरेँ”, उहाँले भन्नुभयो, “कतिले मलाई विदेश छोडर बारीको माटोमा पैसा फलाउने रे भनेर  गिज्याए । तर, म आफ्नो काममा लागिरहेँ ।” घिमिरेले यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझे विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ भन्नुभयो ।

त्यसैगरी अर्थुङ्गेका जिसीले पनि विदेशको बसाइँलाई बिट मारेर गाउँमै कृषि कर्ममा रमाउँदै राम्रो कमाइ गरिरहनुभएको छ । उहाँको तीन रोपनी बारीभरि लटरम्म तरकारी फलिरहेको छ । बजारमा स्थानीय तरकारीको माग रहेकाले बिक्रीको कुनै समस्या छैन । तरकारी बेचेर मासिक ३० हजारभन्दा बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

अहिले रोजगार पाउन नसकेको भन्दै धेरै युवा विदेशिने गरेका छन् । तर, म्याग्दीमा भने विदेशबाट फर्केर आएका युवाले तरकारी, फलफूल खेती र पशुपालन गरेर विदेशको भन्दा बढी कमाइ गरिरहेका छन् । स्थानीय तह र सम्बन्धित सरकारी निकाय तथा गैरसरकारी सङ्घ संस्थाले पनि व्यावसायिक किसानलाई प्रोत्साहन गर्ने, कृषि औजारदेखि मल बीउसम्म सहयोग गर्ने र आर्थिक अनुदान समेत उपलब्ध गराउने गरेकाले धेरै युवाको कृषि पेसातर्फ आकर्षण बढ्दै जान थालेको पाइएको छ ।

युवालाई कृषि पेसातर्फ आकर्षित गर्नका लागि कृषि औजार र मल बीउ खरिदमा अनुदान, सिँचाइको प्रबन्ध, ठूलो क्षेत्रफल र ठूलै समूहमा खेती किसानी गर्न प्रोत्साहन गर्नुपर्ने यस क्षेत्रमा लागेका युवा बताउँछन् ।  । जिसीले भन्नुभयो, “हामी पाँच लिटर दूध उत्पादन गरेर बिक्री हुँदैन, के गाईपालन गर्नु भन्छौं । एक डोको सिमी फलाएर बिक्री नै हुँदैन, किन सब्जी खेती गर्नु भनेर क्यारेमबोर्ड खेलेर बस्छौं । त्यसो होइन । हामीले हरेक उत्पादन ठूलो मात्रामा गर्नुपर्छ ।”

उहाँका अनुसार कृषिलाई परम्परागत होइन, आधुनिक र प्रविधिकरण गरेर थोरै श्रमबाट धेरै उत्पादन दिन सक्नुपर्छ, जसले गर्दा लागत कम हुन्छ । यसका साथै यसले ग्रामीण र कृषि पर्यटनको सम्भावना पनि उत्तिकै बढाउनेछ । सबै युवा उद्यममा लागेपछि गाउँमा दिगो आर्थिक गतिविधि हुनेछ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया