वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै

 असोज २४, २०७८ आइतबार ७:१८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजदेखि सुरु हुने प्रदेश सभाको नवौँ अधिवेशनमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

शाक्य उपाध्यक्ष रहेको नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । संविधानको धारा १८८ को उपधारा (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

एमालेका तर्फबाट एकल बहुमतसहित शाक्य मुख्यमन्त्री बन्नुभएको थियो । वाग्मती प्रदेशमा सभामुखसहित एक सय ९ सांसद छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । तर पाटी विभाजन अघि एमालेका ५६ सांसद रहेकोमा विभाजन भएपछि १३ जना सांसद नेकपा (एकीकृत समाजवादी)मा गएका छन् ।

अहिले वाग्मती प्रदेश सभामा एमालेका ४३ सांसद छन् । गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन् । उनीहरुले शाक्यलाई मत नदिने जनाएका छन्।

यी दलबाहेक विवेकशील साझा पार्टीको तीन, नेमकिपा दुई, राप्रपा दुई र स्वतन्त्र एक सांसद छन् । शाक्य गएको भदौ दुई गते नेपालकै पहिलो महिला मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । गठबन्धनबाट नयाँ मुख्यमन्त्रीका रुपमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने तयारी छ । तर सहमती भइसकेको छैन ।

वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले दलहरुसँग परामर्श गर्न बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । प्रदेश सभा सचिवालयमा विश्वासको मत लिन प्रस्ताव पेस गर्ने सूचना पुगेको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया