दशैँका लागि सात लाखभन्दा धेरैले काठमाण्डौ छाडे, मुख्य नाकामा दिनहुँजसो जाम

 असोज २४, २०७८ आइतबार ८:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - दशैँका लागि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रुले काठमाण्डौ उपत्यका छाडेका छन् । यो महिना सुरु भएदेखि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रु बाहिरिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

गएको १ गतेदेखि घटस्थापनाको दिन २१ गतेसम्म फाट्टफुट्ट मात्रै गाउँघर गए पनि घटस्थापनापछि बाहिरिनेको सङ्ख्या बढेको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । अग्रिम टिकट बुकिङ खुलेको केही दिनसम्म यात्रु नपाए पनि घटस्थापनापछि यात्रुको चाप बढेको उहाँले बताउनुभयो ।

गएको ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइएको थियो । ११ गतेदेखि अहिलेसम्म साढे ५ लाखभन्दा धेरै काठमाण्डौबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । फूलपाती र अष्टमीका दिन यात्रुको चाप अझ बढ्नेछ । गएको २४ घण्टामा मात्रै झण्डै ५० हजार जना यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ ।

तथ्याङ्कअनुसार यो अवधिमा झण्डै ३५ हजार मानिस उपत्यका भित्रिएका छन् । यात्रुको चाप बढेसँगै काठमाण्डौ उपत्यकासँग जोडिएका नाकाहरुमा जाम बढ्न थालेको छ । विशेषगरी दुई नाका काठमाण्डौको नागढुङ्गा र भक्तपुरको जगातीमा लामो जाम हुने गरेको छ ।

यी दुई नाकामा अहिले पनि जाम भएको ट्राफिक प्रहरीले जनाएको छ । दशैँमा यात्रा गर्ने यात्रुको सहजताका लागि नागढुङ्गादेखि नारायणघाटसम्मको सडक खण्डमा ठूला गाडी चलाउन रोक लगाए पनि यो पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । यसले गर्दा पनि जाम हुने गरेको छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया