दशैँको इतिहास : पहिले तीन/तीन महिनामा दशैँ मनाइन्थ्यो

 असोज २६, २०७८ मंगलबार ८:४८:२२ | दिनेशराज पन्त
unn.prixa.net

परापूर्व कालदेखि नै दशैँ शरद ऋतुमा मनाउने चलन रहिआएको छ । प्राचीन कालमा शासकहरुले दशैँको दिन दुर्गाको आराधना र पूजापाठ गरेर आफ्नाे विजयी यात्रा प्रारम्भ गर्ने गरेको उल्लेख गरिएको पाइन्छ। 

नेपालको परिप्रेक्ष्यमा रहेर कुरा गर्दा लिच्छवीकालदेखि नै दशैँ मनाइने गरेको अभिलेखहरुमा पाउन सकिन्छ । आज भन्दा साढे छ सय वर्ष अगाडि पृथ्वीराज मल्लको पालामा लेखिएको गोपालराज वंशावलीमा दशैँ मनाइने गरेको उल्लेख गरिएको छ । यो कुरा हामीले दाबी गरेर भन्न सकिने कुरा हो।

हामीले असोजमा बडा दशैँ मनाउँछौँ र चैतमा चैते दशैँ । तर प्राचीनकालमा असार महिनामा र पुस महिनामा पनि दशैँ मनाउने गरिन्थ्यो । अर्थात हरेक तीन तीन महिनामा दशैँ मनाउने गरिन्थ्यो । हामीले चण्डी पाठ गर्दा देवीले असुरहरुको संहार गरेको कुरा त्यसमा उल्लेख गरिएको छ । जसले खराब कुरालाई हटाइ राम्रा कुरालाई स्वीकार्नु पर्दछ भन्ने अर्थ दिन्छ । यो चलन नेपालको पूर्व मध्यकालीन समयसम्म बाँकी थियो। 

बिस्तारै नेपाल राज्य टुक्रिँदै गयो । त्यसपछि नेपालमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ५२ वटा भन्दा बढी राज्यको स्थापना भयो । यी राज्यहरुमा काठमाण्डौ, पाटन र भक्तपुर जस्ता ठाउँ उपत्यकाभित्रका राज्य भए । 

ती सबै राज्यहरुमा आफ्नै ढङ्गले दशैँ मनाइने उल्लेख गरिएको पाइन्छ । दशैँको अवसरमा गोरखाका राजाले काठमाण्डौका राजासँग मित लगाएको पनि किंवदन्ती छ । यसरी नै मित्र मिलन गर्ने, परिवारसँग मिलन गर्ने गरी दशैँ मनाउने चलन थियो । नेपालको परिप्रेक्ष्यमा सम्पूर्ण जातजाति सबैको साझा चाडपर्वको रुपमा दशैँलाई हेरिने गरिन्छ । त्यसैले हरेक जातजाति समुदायले हर्षोल्लासका साथ दशैँ मनाउने गरेका छन् ।

आजभन्दा ६ हजार वर्ष पहिला सिन्धुघाटीको सभ्यता देखिनै दशैँ सुरु भएको अनुमान गरिन्छ । सिन्धुघाँटीका कुराहरु पनि विद्वानहरूले कल्पना गरेका हुन । कतिपय कुराहरु खुलि पनि सकेका छन् । तर कति अझै खुल्न सकेका छैनन् । 

प्राचीनकालमा राजाहरुले देवीको आराधना गरेर शक्ति सञ्चय गर्ने र विजययात्राको आरम्भ गरेको पाइन्छ । दशैँमा दुःख परेकाहरु, निमुखाहरुको संरक्षण गर्ने, दुष्टहरुको थिचोमिचोलाई हटाउने चाडको रुपमा यसको महत्त्व रहेको छ । 

आजभोलि परिस्थिति अनुसार आ–आफ्नाे ढङ्गले दशैँ मनाउने गरिन्छ । एउटा घरमा मनाउने तरिका अर्को घरमा मिल्दैन । दशैँ मनाउने तरिका फरक भए पनि यसको मूल तत्वमा फरक परेको छैन । घर, समुदाय र ठाउँ अनुसार दशैँ मनाउने तरिका फरक भए पनि दशैँमा शक्तिको पूजा गर्ने, शक्तिको सञ्चय गर्ने गरी त्यसको सुरुवात भएको हो ।

दशैँमा किसानहरुलाई सबै कामबाट फुर्सद हुने गर्दछ । समयको हिसाबले शरद ऋतुमा सबै खेतीपातीको काम सकिने हुँदा यो बेला दशैँ मनाउने गरिन्छ । हाम्रो पुरानो परम्परा अनुसार हाम्रा चारवटा चाडलाई फरक फरक समुदायका जातजातिले मनाउने गर्दथे । 

जसमा जनैपूर्णिमा ब्राह्मणले मनाउने, दशैँ क्षेत्रीले मनाउने, तिहार वैश्यले मनाउने र फागु सुद्रले मनाउने गरिन्थ्यो । नेपालका हरेक मानिससँग सबै कुरा मिल्दैन । तर जति मिल्छ त्यहाँसम्म सहकार्य गर्ने हो । पहिलेको समयको कुरा गर्दा मिठो खान र नयाँ लुगा लगाउन दशैँसम्म कुर्नु पर्दथ्यो । तर अहिले नयाँ लुगा लगाउन र मिठो खान दशैँ कुर्नु पर्दैन । नेपालीहरु पहिले कम रमाइलो गर्थे र धेरै बचत । 
तर अहिले चाहिने भन्दा पनि बढी पैसा खर्च गर्ने गरेका छौँ । पैसा कमाउन धेरै गाह्रो छ । तर मानिसहरु यसलाई सानो कुरा सम्झन्छन् । 

पहिले बाउबाजेका पाला दशैँमा आधा महिनाको पेस्की आउँथ्यो । त्यो आधा महिनाको दशैँ पेस्की पनि असोजदेखि कात्तिकसम्मको काटिएर आउने गर्दथ्यो । त्यस समयमा धेरैले पैसा भए/नभए पनि मिठो खाने र राम्रो लाउने गर्दथे । जागिर नखानेहरुले पनि दशैँको बेला जसोतसो मिठो खान राम्रो लाउन पैसाको जोहो गर्नै पर्ने हुन्थ्यो ।

काठमाण्डौको न्युरोडका गल्लीहरुमा रातो माटो र सेतो कमेरोले घर सजाउने गरिन्थ्यो । बडा दशैँको नाम अनुसार ऋण धन गरेर यो बेलामा आनन्द लिने प्रष्टै देखिन्थ्यो । पहिला दरबार मार्गका रेष्टुरेन्टहरुमा विदेशीहरु नै धेरै हुने गर्दथे । तर अहिले अधिकांश नेपालीहरु मात्र देख्न सकिन्छ । किनकि धेरैको आम्दानी बढेको पनि छ । उनीहरुको खर्च गर्ने मन पनि बढेको छ । क्षमता पनि बढेको छ । त्यस बेलाका मानिसहरुले सकेसम्म ऋण लिँदैनथे । ऋण लिएपछि आफू फसिन्छ भन्ने थियो ।

पृथ्वीनारायण शाहको पालादेखि अहिलेसम्म आउँदा राजाहरुले कुमारीको हातबाट दशैँको टीका लगाउने प्रचलन छ । अहिले पनि शासकहरु र राष्ट्रपतिले पनि यो चलन कायमै राखेका छन् । उच्च मध्यम वर्गीय मानिसहरुलाई पनि नयाँ लुगा लगाउन समस्या हुने गर्दथ्यो । पुराना लुगा उल्टो पारेर लगाउने चलन थियो । 

पैसा नहुनेहरुले पनि खोजखाज गरेर दशैँ मनाउने गर्दथे । भएका मानिसले पनि अरुबेला खर्च नगरि दशैँमा खर्च गर्ने गर्दथे । दशैँ आउँदा मात्र मिठो खान पाइन्थ्यो र राम्रो लगाउन पाइन्थ्यो । थोरै भए पनि गोजीमा पैसा हुन्थ्यो । दशैँ आएपछि मात्र छुट्टै रमाइलो हुने गर्थ्याे । त्यति बेला दशैँको धेरै महत्त्व थियो ।

हिजोआज मानिसहरुलाई धेरै सहज हुने गरेको छ । पैसाको समस्या हुनेहरुले कतैबाट जोहो गरेर दशैँ मनाउने गर्छन । पहिला जस्तो धेरै समस्याहरु हुँदैनन् । सहज तरिकाले दशैँ मनाउन सकिन्छ । दशैँ मनाउने तरिकामा केही फरक भए पनि दशैँको महत्त्व अझै पनि उत्तिकै छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०७८

दिनेशराज पन्त

पन्त इतिहासविद् हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया