देउवा र पाैडेल कांग्रेसबाट 'रिटायर्ड' हुनुहाेस् : नेता सिंह

 कात्तिक ४, २०७८ बिहिबार २०:२७:१० | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपसभापति प्रकाशमान सिंहले आफू पार्टीकाे १४ औँ महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्ने बताउनुभएको छ ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट 'रिटायर्ड' हुन आग्रह गर्दै नेता सिंहले पार्टीलाई सही दिशामा अघि बढाउन कार्यकर्ताले र नागरिकले समेत नयाँ नेतृत्व खोजेको बताउनुभएको छ ।

आमाको किरिया बस्नुभएका नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीलाई आज बिहीवार भेट्न धादिङ आउनुभएका नेता सिंहले पार्टीकाे १४ औँ महाधिवेशनमा आफू सभापति पदको उम्मेदवारी दिन कसैले छेक्न नसक्ने बताउनुभएको हो ।

वर्तमान नेतृत्वले पार्टीलाई सही दिशामा लान नसकेको आरोप लगाउँदै सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चालन गरिरहेको र नयाँ पुस्ताले मात्र यो काम गर्न सक्ने उहाँको दाबी थियो ।

अझै तीन जिल्लाको सदस्यता विवाद भएकाले त्याे समाधान गरेर अब तोकिएकै समयमा महाधिवेशन गर्नैपर्ने उहाँको माग छ । यसअघि महाधिवेशन तोकेपछि जस्तोसुकै कठिन अवस्थामा पनि सम्पन्न गर्ने गरेकाले अहिले तीन पटक महाधिवेशन तोकेर पनि सर्दै आएकोमा नेता सिंहले चिन्ता व्यक्त गर्नुभयो ।

जिल्लामा देखिएकाे सदस्यता विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनअनुसार नेतृत्वले काम गर्नुपर्ने उहाँले बताउनुभयो । पार्टीको महाधिवेशन समयमै गर्नुपर्ने बताउँदै आफू देउवा र रामचन्द्रपछिको नेता भएकाले संस्थागत रूपमा पार्टी चलाउन आफूले नेतृत्व गर्नुपर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २२, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया