विराटनगर विमानस्थल भोलिदेखि खुलाउने तयारी

 कात्तिक ५, २०७८ शुक्रबार ८:३५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - बाढीका कारण जलमग्न भएको विराटनगर विमानस्थल भोलिदेखि खुलाउने तयारी भएको छ ।

आज बेलुकासम्ममा विमानस्थल सफा गरी डुबेका सामग्री तथा उपकरणको जाँच गरेर भाेलिदेखि विमानस्थल खुलाउने तयारी गरेको विमानस्थलका प्रमुख उत्सवराज खरेलले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘भोलिदेखि विमानस्थल खुलाउन आज बेलुकासम्ममा सबै काम सक्ने गरी प्रयासमा जुटेका छौँ । सबै ठिकठाक भए भाेलि बिहानदेखि उडान अवतरण सुरु गर्छौँ।’

हिजोदेखि पानी पर्न रोकिए पछि विमानस्थलमा जमेको पानी घट्दै छ । विमानस्थलको धावनमार्ग र ट्याक्सी मार्गलगायतका क्षेत्रमा पानी घटे पनि टर्मिनल भवन, पार्किङ क्षेत्र तथा परिसर आसपास अझै डुबानमा रहेकाले भोलिदेखि मात्र हवाई सेवा सुरु गर्ने तयारी गरेको विमानस्थलका प्रमुख उत्सवराज खरेलले जानकारी दिनुभयो । 

हवाई उडान र अवतरण कहिलेदेखि नियमित गर्ने भन्नेबारे टुङ्गो नभए पनि मौसम सफा भए भोलिदेखि हवाई सेवा सुरु गर्ने विमानस्थल कार्यालयको तयारी छ । विमानस्थलमा फसेका दुई वटा विमान भने सुरक्षा जाँच पछि हिजै काठमाण्डौ फर्काइएको छ ।

स्थानीय केसलिया खोलामा आएको बाढीका कारण विमानस्थल जलमग्न भएको थियो । गएको मङ्गलवारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण बन्द छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया