आबुधावी डाइलग : नेपालमा सिकेको सीपलाई मान्यता दिने गरी संयन्त्र बनाउन गन्तव्य देशलाई नेपालकाे आग्रह

 कात्तिक १०, २०७८ बुधबार १५:४५:८ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ ले यूएईमा जारी आबुधावी डाइलगमा नेपालमा सिकेको सीपलाई मान्यता दिन गन्तव्य देशलाई आग्रह गर्नुभएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)मा सोमबारदेखि जारी छैटौँ श्रम मन्त्री स्तरीय ‘आबुधावी डाइलग’ मा  सहभागी मन्त्री श्रेष्ठले मंगलबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कामदार पठाउने देशमा दिइने सीप तालिमलाई गन्तव्य देशमा मान्यता र त्यसका लागि आवश्यक संयन्त्र बनाएर अघि बढ्नु पर्ने भनाई राख्नुभएको हो ।

श्रम मन्त्री श्रेष्ठले उठाएको यो विषयमा सहभागी सबैजसो देशका प्रतिनिधिले जोड दिएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

यस्तै मन्त्री श्रेष्ठले श्रमिक आयात गर्ने मध्य पूर्वी अरबी खाडी मुलुक र कामदार उपलब्ध गराउने एसियाली मुलुकबीच थप समन्वय आवश्यक रहेको बताउनु भएको छ । मन्त्री श्रेष्ठले आप्रवासी कामदारको हकहित, सुरक्षाका विषयमा थप समन्वय, लगानी र डिजिटल मञ्चको प्रयोग गर्नुपर्ने कुरा उठान गर्नुभएको छ ।

यू​एईको श्रम तथा मानव संसाधन मन्त्रालयले कामदार पठाउने देश र कामदार आयात गर्ने देशबीचको सम्बन्ध र भावी योजना बारे छलफल गर्न आबुधावी डाइलगको आयोजना गरेको हो । बिहीवारसम्म चल्ने डाइलगमा नेपालको तर्फबाट मन्त्री श्रेष्ठसहित श्रम सचिव सूर्यप्रसाद गौतम र उपसचिव डा.थानेश्वर भुसाल सहभागी हुनुहुन्छ ।

यसैबिच आबुधावी डाइलगमा सहभागी हुन यूएई आएको टोलीले बुधबार साँझ आबुधावीमा रहेको नेपाली दूतावासमा यहाँ रहेका संघसस्थाका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ । टोली बिहीवार दुबईमा जारी दुबई एक्पो २०२० को अवलोकन गर्ने कार्यक्रम तय भइसकेको दूतावासले जनाएको छ ।    

आबुधावी डाइलगमा श्रमका लागि कामदार पठाउने सदस्य मुलुकहरू नेपालसहित अफगानिस्तान, बङ्गलादेश, भारत, इन्डोनेसिया, पाकिस्तान, फिलीपिन्स, श्रीलङ्का, थाइल्यान्ड र भियतनामका प्रतिनिधिको सहभागिता रहेको छ ।  त्यस्तै कामदार ल्याउने देशका सदस्य मुलुकहरू यूएईसहित बहराइन, ओमान, कुवेत, कतार, साउदी अरब, यमन र मलेसियाका प्रतिनिधि सहभागी भएका छन् ।

डाइलगमा संयुक्त राष्ट्र अन्तरगत आइएलओ तथा अन्य आप्रवासी कामदार र उनीहरूको अवस्थाबारे काम गर्दै आएका विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरू समेत सहभागी भएका छन् । सन् २००८ को जनवरी २१ बाट सुरु भएको आबुधावी डाइलगमा सुरुबाटै नेपालले सहभागिता जनाउँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया