प्रदेशकाे नाम चाँडै टुङ्गाे लगाउँछाैँ : मुख्यमन्त्री राई

 कात्तिक १८, २०७८ बिहिबार १५:२५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणलाई चाँडै टुङ्गो लगाउने बताउनुभएको छ ।

आज बिहीवार हामीसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरणलाई चाँडै टुङ्गो लगाउने बताउनुभएको हो । अघिल्लो सरकारले सुर गरेका कामलाई पूरा गर्ने र बजेटलाई स्राेत खोजेर ठूलो बनाउने बताउनुभयो । मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा बजेटलाई सही ढङ्ग र सही ठाउँमा खर्च गर्ने बताउँदै नेकपा एमालेको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको आरोप लगाउनुभयो । उहाँले प्रदेशको नामाकरण गर्न दुई तिहाइ मतको आवश्यक पर्ने भएकाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूसँग पनि छलफल गर्ने र सहयोग पुर्‍याउन आग्रह गर्ने बताउनुभयो ।

मुख्यमन्त्री राईले भन्नुभयो, ‘पहिलो कुरा त यसको नाम तोक्ने काम हामी आरम्भ गर्दछौँ र प्रक्रिया पूरा गरेर नाम तोक्छौँ । त्यस्तै थालेका कामलाई सम्पन्न गर्छौँ, बजेटको आकार सानो छ, त्यो बजेटलाई हामी अर्को बजेट अधिवेशनसम्ममा स्राेत खेजेर ठूलो बनाउने प्रयास गर्छौं । बजेटको सही सदुपयोग गर्छाैँ । योजना छनोटमा, विधेयक निर्माणमा सांसहरू बलियो बनाउने ढङ्गले हामी अघि बढाउने प्रयास गर्छौँ । अघिल्लो सरकारले प्रदेशको नामाकरण गर्न सकेन भन्दा पनि प्रयास नै गरेन । प्रदेशकाे नामाकरणका लागि तिहारपछि संसद् सुरु हुनासाथ छलफल गराउने, संसदमा प्रवेश गराउने र प्रक्रियाद्वारा टुङ्गो लगाउने ढङ्गले जान्छु र यसका लागि दुई तिहाइको आवश्यक पर्छ, त्यसका लागि प्रतिपक्षमा रहेको नेकपा एमालेको पनि साथ र सहयोग जरुरी छ, उनीहरूसँग पनि म सौहाद्रपूर्ण ढङ्गले छलफल गरेर यसलाई टुङ्गो लगाउने दिशामा अघि बढ्छु ।’

मुख्यमन्त्री राईले नेपालमा सङ्घीयता सही ढङ्गले अघि बढ्न नसकेको बताउनुभयो । उहाँले अहिले पनि नेपालमा केन्द्रीय ढङ्गले नै काम हुने गरेको बताउँदै प्रदेशलाई दिनुपर्ने अधिकार सङ्घले नदिएको बताउनुभयो । 

कुराकानीमा मुख्यमन्त्री राईले केन्द्रीय सरकारसँग ऋण लिएर भए पनि जनहितका काम गर्ने र बजेटको दायरालाई बढाउने बताउनुभयो । उहाँले बजेटमा भ्रष्टाचार र अनियमितता बढेको भन्दै त्यसलाई आफ्नो कार्यकालमा नियन्त्रण गर्ने बताउनुभयो ।

मुख्यमन्त्री राईले बजेटमा खराब कर्मचारी, उपभोक्ता समिति, जनप्रतिनिधि, समाजका अगुवाहरूले भ्रष्टाचार गरेको बताउनुभयो । उहाँले बजेटलाई सही ठाउँमा प्रयोग नभएको बताउँदै  ऐन, कानुन बनाएर अनियमितता गर्नेलाई कारबाही गरिने बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया