बूढीगण्डकी नदी किनार आसपास ओतकाे बसोबास रहेको अनुमान

 कात्तिक २६, २०७८ शुक्रबार १५:५१:१ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखाको मनास्लु संरक्षण क्षेत्र अन्तर्गत बूढीगण्डकी नदीमा ओत नामको जनावरको बसोबास रहेको अनुमान गरिएको छ । वन विज्ञान अध्ययन संस्थान पोखराका उपप्राध्यापक ध्रुव जिसी नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्ययनमा त्यो क्षेत्रमा ओतको बसोबास रहेको पुष्टि हुने तथ्यहरू फेला परेको हो हो । अहिलेसम्मको अध्ययनबाट चुमनुब्रीको फिलिमदेखि जगत आसपाससम्मको बूढीगण्डकी नदीको किनारमा ओतको बसोबास रहेको हुन सक्ने सङ्केत पाइएको जिसीले जानकारी दिनुभयो ।

‘बूढीगण्डकी किनारका केही ठाउँमा दिसा फेला पारिएको छ र त्यो ओतकै हुन सक्ने हाम्रो बुझाइ छ’, उहाँले भन्नुभयो, ‘प्रयोगशाला परीक्षणपछि थप विवरण प्राप्त हुन्छ ।’ मनास्लु पदमार्ग अन्तर्गत चुमनुब्री गाउँपालिका ३ को ठाडो भर्‍याङ आसपासको क्षेत्रमा ओतको बसोबास रहेको हुन सक्ने अनुमान गरिएको जिसीले बताउनुभयो ।

कात्तिक दोस्रो हप्तादेखि गरिएको अध्ययन झन्डै एक वर्ष जारी रहने उहाँको भनाइ छ । उहाँका अनुसार नेपालमा तीन प्रजातिका ओत पाइन्छन् । अहिलेसम्म नेपालमा 'युरोसियन', 'स्मुथ कोटेड' र 'एसियन स्मल क्लड' ओतको बसोबास रहेको पाइएको उहाँले बताउनुभयो । 

नेपालमा पाइने सबै प्रजातिका ओतको छोटो खुट्टा, बलियो पुच्छर र मुखको वरिपरि सिकार पत्ता लगाउन सजिलो पार्ने ठाडा रौँहरू हुने जिसीले जानकारी दिनुभयो । ओत सिमसार अर्थात् खोलानाला, नदी, ताल, पोखरी, समुद्रमा बस्दछन् । यिनीहरूका लागि लुक्न, भाग्न र आराम गर्नका लागि सिमसारको किनारा वा वरिपरि घना वनस्पतिको आवश्यकता पर्दछ । ओतले झिङ्गे माछा, गँगटा, चरा, किरा, भ्यागुतालाई आहारा बनाउने गरेको छ । नेपाल सरकारले संरक्षित वन्यजन्तुको सूचीमा नराखे पनि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्गठन (आईयूसीएन) ले भने सङ्कटापन्न जनावरको सूचीमा राखेको छ । वनको फडानी गरिनु, डढेलो लाग्नु, पहाडी क्षेत्रमा रहेका साना खोलाहरू सुक्नु, सिमसार, दलदले वा धापिलो क्षेत्रमा खेतीपाती तथा विकास निर्माणका काम गरिनु, नदी र खोलाबाट बालुवा र ढुङ्गा बढी झिकिनु जस्ता कारणले नेपालमा ओतको बासस्थान विनाश हुन थालेको उपप्राध्यापक जिसीले बताउनुभयो ।

यस्तै पानीमा किटनाशक औषधि, रासायनिक विषादी, फोहरमैला मिसाउने गर्दा ओतको स्वास्थ्यमा प्रतिकूल असर परेको उहाँको भनाइ छ । यस्तै किसान र माछापालकहरूले ओतलाई शत्रुका रूपमा लिएर आक्रमण गर्दा र छालाको व्यापारका लागि चोरी–सिकार गर्दा पनि ओतको सङ्ख्या कम हुँदै गएको वन विज्ञान अध्ययन संस्थानका अर्का प्राध्यापक सुवर्णराज घिमिरेले बताउनुभयो । मनास्लु क्षेत्रमा ओतको बसोबास रहेको पुष्टि भएमा यहाँको जैविक विविधतामा थप टेवा पुग्ने उपप्राध्यापक ध्रुव जिसीको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Yojan Shrestha

    Nov. 14, 2021, 9:18 a.m.

    सिध्दलेक ३ , बुढीगण्डकी किनारमा छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया