न्यायपालिका विवाद : अब संसदबाट समाधान खाेज्नुपर्छ– डा. भट्टराई

 कात्तिक २९, २०७८ सोमबार १९:९:१० | किरण लोहनी
unn.prixa.net

गोरखा – पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले न्यायपालिकामा भइरहेकाे विवादको समाधान संसदबाट खोज्नुपर्ने बताउनुभएको छ । सुरुवाती चरणमा न्यायपालिका आफैँले आफूभित्रको विवादको हल गरोस् भन्ने सोचिएको भन्दै उहाँले अब समस्या गिजोलिएर गएको बताउँदै यस्ताे बताउनुभएकाे हाे । 

नागरिकतासँग भेटघाट कार्यक्रमका लागि एक हप्तादेखि गृह जिल्ला गोरखामा रहनुभएका भट्टराईले आज साेमवार बगुवामा पत्रकार भेटघाटमा अब न्यायपालिकाले आफूभित्रको समस्या आफैँले हल गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । ‘सुरुको चरणमा हामीले न्यायपालिका आफैँले समस्याको हल गरोस् भनेकै हो, घटनाक्रम बढ्दै जाँदा यो गिजोलिएर गएको छ’, भट्टराईले भन्नुभयो, ‘आफैँ भित्रबाट मात्रै हल भएन भने त्यसको हल गर्ने अङ्ग भनेको व्यवस्थापिका नै हो जुन कार्यपालिका र न्यायपालिका भन्दा माथि हुन्छ ।’

न्यायपालिकाको समस्या व्यवस्थापिकाले हल गर्नु भनेको प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर हटाउनु मात्रै भने नरहेको उहाँले स्पष्ट पार्नुभयो । ‘विभिन्न ढङ्गले सहजीकरण गर्ने हो । ऐन, कानुनका हिसाबले अप्ठ्यारा छन् भने व्यवस्थापिकाले हल गर्ने हो’, उहाँले भन्नुभयो, ‘न्यायपालिकाको गठन प्रक्रियामै समस्या हो कि, सञ्चालन प्रक्रियामा समस्या हो कि, विधि र संवैधानिक कानुनले कहाँ समस्या पारेको छ भन्ने कुराहरू बुझेर व्यवस्थापिकामार्फत हल गर्ने हो ।’

राज्यको तीन वटै अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका यसरी सङ्कटग्रस्त हुनु शुभ सङ्केत भने नभएको डा. भट्टराईकाे भनाइ छ । राज्यका तीन अङ्गले एकले अर्कालाई हस्तक्षेप गर्ने क्रम विगतदेखि नै चल्दै आएको भन्दै उहाँले समस्याग्रस्त हुँदा समाधानका लागि एक अर्कालाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

फरक प्रसङ्गमा भट्टराईले अहिलेको सत्तापक्षीय गठबन्धनलाई आउँदाे चुनावसम्मै कायम गर्नुपर्ने आफ्नो धारणा रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया