सर्वोच्चको 'फुल कोर्ट' द्वारा गोलाप्रथाबाट इजलास तोक्ने गरी नियमावली संशोधन

 मंसिर २, २०७८ बिहिबार १७:२७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वाेच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक अर्थात् 'फुल कोर्ट' ले गोलाप्रथा प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गरेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराबाहेकका १८ जना न्यायाधीशको आज बिहीवार बसेको बैठकले यसअघि प्रधानन्यायाधीशले इजलास तोक्ने व्यवस्था परिवर्तन गर्दै गोलाप्रथा प्रणालीबाट इजलास तोक्ने प्रावधानसहितको नियमावली पारित गरेको हो । अब यो नियमावली कानुन मन्त्रालयमार्फत राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ । गोलाप्रथा प्रणालीका लागि निर्देशिका पनि बनिसकेको छ । 

यसअघि प्रधानन्यायाधीश आफैँले इजलास तोक्दा स्वार्थ बाझिने र न्याय नै प्रभावित भएको भन्दै आलोचना भइरहेको थियो । कार्यविधिअनुसार हरेक दिन बिहान १० बजे प्रधानन्यायाधीश, न्यायाधीश, मुख्य रजिस्ट्रार र मुद्दा व्यवस्थापनमा संलग्न कर्मचारी तथा सूचना प्रविधि प्राविधिकको उपस्थितिमा गोलाप्रथा प्रक्रियाद्वारा इजलास गठन र दैनिक पेसी सूची निर्धारणको कार्य प्रारम्भ हुनेछ ।

हरेक दिन न्यायाधीशहरूले बन्द थैलीमा राखिएको गोटी तानेपछि गोटीमा परेको नम्बरअनुसारको इजलास गठन हुनेछ । गोला तान्ने प्रक्रियाको सबै प्रक्रिया सीसी क्यामेराले निगरानी गर्नेछ र कम्युटरमा सुरक्षित राखिने निर्देशिका उल्लेख छ । 

यसअघि सर्वोच्च अदालत सुधारका लागि न्यायाधीशहरू हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको समितिले पनि प्रधानन्यायाधीशले इजलास तोक्ने प्रणाली हटाएर गोलाप्रथामा जान सुझाव दिएको थियो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया