एमाले १० औँ महाधिवेशन : भव्य मञ्च बन्दै, चितवनका प्रत्येक घरमा निमन्त्रणा पत्र

 मंसिर ३, २०७८ शुक्रबार १९:४२:६ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौरहामा बन्द सत्र हुँदै छ । मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनको तयारीको क्रम चलेको छ । महाधिवेशनमा देशभरबाट झन्डै पाँच लाख नेता/कार्यकर्ता सहभागी हुने नेकपा एमाले वाग्मती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

एमालेमा पछिल्लो पटक नवीकरण भएका पार्टी सदस्यको सङ्ख्या आठ लाख ५५ हजार चार सय ५३ छ । महाधिवेशनमा एक हजार नाै सय ९९ प्रतिनिधि चयन भइसकेका छन् भने त्यसको पाँच प्रतिशतसम्म मनोनित हुनेछन् ।

चितवनका प्रत्येक घरमा निमन्त्रणा पत्र

एमाले चितवनले महाधिवेशनको प्रचारप्रसार गर्न जिल्लाका प्रत्येक घरमा निमन्त्रणा पत्र पठाइएको छ । जिल्लामा रहेका ९८ वटै वडामार्फत निमन्त्रणा पत्र पठाइएको १० ‍औँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीले जानकारी दिनुभयो । पार्टीको वडा कमिटीहरूले भेला र बैठक गरेर निमन्त्रणा पत्र वितरण सुरु गरिसकेको सुवेदीले जानकारी दिनुभयो । 

उद्घाटन सत्रमा जिल्ला भित्रबाट उल्लेख्य सहभागी गराउन प्रत्येक घरमा निमन्त्रणा पत्र नै पठाइएको उहाँले बताउनुभयो ।  

उद्घाटन कार्यक्रममा एमाले कार्यकर्तामात्रै नभएर शुभेच्छुक, शुभचिन्तकलगायत आम सर्वसाधारणलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको नेकपा (एमाले) का जिल्ला अध्यक्ष पार्वती रावलले बताउनुभएको छ । 

चितवनबाट मात्रै उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनसहभागिता गराउने तयारी गरिएको रावलले जानकारी दिनुभयो ।     

नारायणी नदी किनारमा भव्य मञ्च बन्दै 

नेकपा एमालेको आसन्न १० औँ महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनको काम सुरु भएको छ । यसका लागि नारायणी नदी किनारमा धमाधम काम भइरहेको छ ।

कार्यक्रम स्थलमा नक्साङ्कन गरेर काम सुरु गरिएको एमालेका केन्द्रीय सदस्य विनोद श्रेष्ठले जानकारी दिनुभयो । एक सय अतिथि रहने गरी आकर्षक मञ्च निर्माण गरिने जनाइएको छ । १६ फिट अग्लो मञ्च निर्माण हुने केन्द्रीय सदस्य श्रेष्ठले बताउनुभयाे । निर्माण गर्न लागिएको मञ्च चार खण्डमा हुनेछ । माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्डमा केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहने छ । 

७२ कलाकारले एकै पटक प्रस्तुति दिन सक्ने गरी मञ्च निर्माण गरिनेछ । मञ्च आ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो हुनेछ । नारायणी नदीको पुलबाट र गैँडाकोट तर्फको नदी किनारबाट समेत हेर्न मिल्ने गरी मञ्चको ढाँचा तयार गरेर त्यहीअनुसार काम सुरु भएको श्रेष्ठले बताउनुभयो । 

उद्घाटन सत्रमा कार्यक्रमस्थलसहित विभिन्न ठाउँमा गरी २० ठाउँमा डिस्प्लेमार्फत प्रदर्शन गर्ने योजना रहेको जनाइएको छ ।

महाधिवेशनमा पाँच लाख मानिस सहभागी हुने लक्ष्यअनुसार सहजै उद्घाटन कार्यक्रम हेर्न सक्ने गरी मञ्च निर्माण भइरहेको केन्द्रीय सदस्य श्रेष्ठले बताउनुभयो । मञ्च व्यवस्थापनका लागि पाँच सय स्वयंसेवक परिचालन गरिनेछ । नदी किनारलाई आकर्षक बनाएर १० गते बिहान मूल आयोजक समितिलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । मञ्च व्यवस्थापनका क्रममा ठाउँ–ठाउँमा सेल्फी प्वाइन्ट बनाइने छ । 

बन्द सत्र सौरहामा 

बन्द सत्र हुने सौरहाको होटल सेभेन स्टार परिसरमा समेत बन्द सत्र गर्ने हल निर्माणलगायत अन्य काम सुरु भइसकेको जिल्ला अध्यक्ष रावलले जानकारी दिनुभयो । महाधिवेशन प्रतिनिधिको आवासका लागि क्षेत्रीय होटल सङ्घ सौरहासँग तीन हजार पाँच सय बेड सम्झौता गरिसकिएको छ । बन्द सत्रमा झन्डै दुई हजार प्रतिनिधि सहभागी हुँदैछन् ।

थप प्रतिनिधिका लागि सौरहाका अन्य होटलमा व्यवस्थापन गरिने जनाइएको छ । 

सात करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा सात करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । महाधिवेशनका लागि गठित मूल व्यवस्थापन समितिअन्तर्गतको आर्थिक समितिका संयोजक विष्णु रिमालले केन्द्रीय कमिटीको दायित्वमा त्याे रकम पर्ने बताउनुभएको छ । 

यसअघिका तीन वटा महाधिवेशन र एउटा विधान महाधिवेशनलाई हेरेर खर्चको अनुमान गरिएको नेता रिमालले बताउनुभयो । गएकाे आठौँ महाधिवेशनमा झन्डै दुई करोड २५ लाख र नवौँ महाधिवेशनमा चार करोड २५ लाख रुपैयाँ खर्च भएको रिमालले बताउनुभयो । गएकाे असोजमा ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा ६ हजार चार सय ३५ प्रतिनिधिको उपस्थिति हुँदा झन्डै पाँच करोड रुपैयाँ खर्च भएको बताउँदै नेता रिमालले यी तीन महाधिवेशनको अङ्कलाई तुलना गरेर यो महाधिवेशनमा केन्द्रले दायित्व बोक्नुपर्ने झन्डै सात करोड ५० लाख रुपैयाँ आकलन गरिएको जानकारी दिनुभएको छ । 

अनलाइन प्रणालीबाट स्वेच्छिक सहयोग सङ्कलन

एमालेले महाधिवेशनका लागि रसिद काटेर आर्थिक सङ्कलन नगरि पार्टी सदस्य र शुभेच्छुकबाटै अनलाइन प्रणालीबाट स्वेच्छिक सहयोग सङ्कलन गरिरहेको छ । एमालेले प्रत्येक पार्टी सदस्यलाई न्यूनतम सय रुपैयाँ पार्टीको खातामा जम्मा गर्न आह्वान गरेको छ । 

सदस्यबाट न्यूनतम रकम लिएर महाधिवेशन गर्ने यो नेपालमा रहेका पार्टीका लागिसमेत उदाहरणीय अभियान भएको बताउँदै नेता रिमालले यसले पारदर्शितालाई पनि टेवा पुग्ने अपेक्षा राखेको बताउनुभयो । एमालेले यस पटकको अधिवेशनका लागि यति रकम चाहियो भनेर कसैलाई पत्र नकाटेको र रसिद नछापेको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया