एमाले महाधिवेशन : सौराहा भरिभराउ, ५ करोड रुपैयाँभन्दा बढीकाे कारोबार हुने अनुमान

 मंसिर ५, २०७८ आइतबार १४:१७:५५ | राधेश्याम खतिवडा
unn.prixa.net

एमालेकाे दशाैँ महाधिवेशनका लागि साैराहामा निर्माण हुँदै गरेकाे आयाेजनास्थल

चितवन - नेकपा एमालेकाे दशाैँ महाधिवेशन क्रममा पार्टीको बन्दसत्रको कार्यक्रम चितवनको सौराहामा हुने भएपछि यतिबेला सौराहा भरिभराउ भएको छ ।

एमाले महाधिवेशनमा ५ करोड रुपैयाँभन्दा बढीकाे कारोबार हुने सौराहाका व्यवसायीको अनुमान छ ।

नेकपा एमालेले महाधिवेशनमा आउने प्रतिनिधि तथा पाहुनाका लागि भनेर ३५ सय बेड छुट्याउन क्षेत्रीय होटल सङ्घ सौराहासँग सम्झौता गरिसकेको छ । उनीहरूका लागि कोठाका साथै ब्रेकफास्ट र दुई छाक खाना सम्बन्धित होटलमै र बाँकी ३ छाक खाना बन्दसत्र स्थलको मेसमा खुवाउने तयारी पार्टीको छ ।

सौराहाका होटल व्यवसायीहरूको आकलनमा महाधिवेशन अवधि मंसिर १० देखि १२ गतेसम्म एमालेसम्बद्ध करिब ७ हजारभन्दा धेरै सौराहामा रहने छन् । सौराहाका होटलको क्षमता भने करिब ६ हजार ५ सय जनालाई राख्न सक्ने छ।

कोरोनाको प्रभावका कारण लामो समय बन्द भएको सौराहालाई एमालेको यो महाधिवेशनले जाग्ने अवसर दिएको छ । कार्यक्रमका कारण सौराहाका होटल बुक भएपछि लकडाउन बेला काम नभएपछि घर फर्किएका कर्मचारी अहिले काममा फर्किने क्रम बढेको छ । 

सौराहाका प्राय होटलले लकडाउनपछि एकतिहाइ कर्मचारी राखेर काम गर्दै आएका थिए । नेकपा एमालेको महाधिवेशनलाई लक्ष्य गरेर होटल सञ्चालकले आफ्ना कर्मचारी फिर्ता बोलाएका छन् । सौराहामा दशैँयता पर्यटकको चहलपहल बढ्दै गएको थियो । पर्यटकको चहलपहल सुरू भएपछि अधिकांश होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आएका छन् । सौराहामा करिब सवा सय होटल र सयभन्दा बढी रेस्टुरेन्ट छन् । 

लकडाउनअघि एक हजारभन्दा बढी कामदारले सौराहाका रेस्टुरेन्टमा काम गर्दै आएका थिए । कोरोना महामारीका कारण करिब ८ सय जना विस्थापित भए । रेस्टुरेन्ट एन्ड बार एसोसिएशन सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले पर्यटक बढ्न थालेपछि रेस्टुरेन्टमा काम गर्ने अधिकांश कर्मचारी फिर्ता भएको बताउनुभयो ।

यसरी सबै होटल तथा रिसोर्ट पूर्ण क्षमतामा सञ्चालन भएपछि महाधिवेशनको समय अवधिभित्र सौराहामा ५ करोड रूपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरेले बताउनुभयो । आफ्ना प्रतिनिधिको व्यवस्थापनको क्रममा १ करोड ६० लाख रूपैयाँभन्दा बढी कोठा खर्च मात्र एमालेले सौराहामा बुझाउँदैछ ।

सौराहामा अहिले भइरहेको भन्दा मासु, अन्डा, तरकारीको खपत पनि ६ गुणा बढ्ने अनुमान रहेको व्यवसायीहरु बताउँछन् ।  सौराहामा यति ठूलो बुकिङ यसअघि कहिल्यै नभएको उनीहरुले बताए ।

महाधिवेशनका लागि आउने कतिपय एमाले कार्यकर्ताले सौराहामा कोठा नपाएपछि रत्ननगर र भरतपुरका होटलमा पनि कोठा बुक गरेका छन् । 

चितवनका ७ ठाउँबाट जुलुस निकालिने, गाडी पार्किङ स्थल तोकियो

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र रुपमा अगाडि बढेको छ । आउँदाे मंसिर १० देखि १२ गतेसम्म तीन दिन चितवनमा हुने महाधिवेशनको उद्घाटन मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा हुनेछ । 

महाधिवेशनको बन्दसत्र  मंसिर ११ र १२ गते चितवनकै पर्यटकीय क्षेत्र सौराहामा हुने छ । महाधिवेशनले आउँदाे चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।  मंसिर १० गते हुने महाधिवेशनको उद्घाटन सत्रमा चितवन जिल्लाका पाँच ठाउँबाट जुलुस निकालिने भएको छ । विभिन्न ठाउँबाट आएका नागरिकलाई भरतपुरका पाँच ठाउँबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको हो ।

एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार पूर्वबाट आउने सहभागीहरु भरतपुरको केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी हुनेछन् । पूर्वबाट आउने गाडीलाई केन्द्रीय बसपार्कमै पार्किङ गर्ने व्यवस्था गरिएको छ । पश्चिम नेपालबाट आउने नागरिकलाई पुल्चोकबाट जुलुससहित सभामा सहभागी गराइने भएको छ । पश्चिमबाट आउने गाडीलाई गैँडाकोटतर्फको नारायणी नदी किनारमा पार्किङको व्यवस्था गरिएको छ ।

मुग्लिनको बाटो हुँदै आउने सहभागीहरुलाई आँटपारिबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको छ । त्यस ठाउँमा रोकिएका गाडीलाई आँटपारिमा रहेको नेपाल ट्रष्टको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिने भएको छ।

चितवनको माडी, जगतपुर, गीतानगरतर्फबाट आउनेहरुलाई हाकिमचोकबाट जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । ती ठाउँबाट आउने गाडीलाई पनि भरतपुर बसपार्कमा पार्किङको व्यवस्था गरिने छ । भरतपुरको पश्चिमी क्षेत्र चनौली, मेघौली लगायतका क्षेत्रबाट आउने सहभागीहरुलाई चौबीसकोठीबाट जुलुसमा सहभागी गराइने व्यवस्था गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १६, १७, १८ लगायत पश्चिम चितवनबाट आउने सहभागीहरु बेलचोकबाट जुलुसमा सहभागी हुनेछन् । त्यहाँ आउने गाडीलाई त्यही क्षेत्रमा पार्किङको व्यवस्था गरिएको रावलले जानकारी दिनुभयो । कालीका नगरपालिका र भरतपुर ११ तर्फबाट आउने सहभागीहरु विशालचोकबाट वीरेन्द्र क्याम्पस रोड हुँदै जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया