नेवार समुदायमा बाजा बजाउने सीपको पुस्तान्तरण

 मंसिर ६, २०७८ सोमबार ११:२०:४७ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डाै - नेवार समुदायको चाडपर्व, भाषा, संस्कृति र खानपान निकै विशिष्ट र प्रचलित छ । योसँगै निकै प्रचलित छ मेला जात्रा र उत्सवमा  बजाइने बाजागाजा र गुन्जने सुमधुर धुनहरु । विभिन्न अवसरहरुमा बजाइने यस्ता बाजागाजाहरुमा बालबालिकादेखि बुढापाकासम्मको उत्तिकै रुचि देखिन्छ । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सिक्दै पुस्तान्तरण हुने वाद्यवादन र वाद्यवादन कलाको लोकप्रियता आजको पुस्तामा पनि घटेको छैन ।  

कीर्तिपुरका रोहन महर्जन विभिन्न थरिका बाजाका धुन सुन्दै हुर्कनुभयो । सानै उमेरदेखि घर, टोल र समुदायमा परम्परागत बाजाका धुनहरु सामान्य जीवनकै हिस्सा बनिरहे  । उत्सव जात्राहरुमा बजाइने बाजागाजा नजिकैबाट चिन्ने र सुन्ने अवसर पाउनुभयो । सानैदेखि सुन्दै आइरहेका ती बाजाहरु सुनाइमा मात्रै सीमित रहेनन्, आफैँ बजाउन पनि थाल्नुभयो । रोहन अहिले धिमे, भिस्याहा र बाँसुरी बजाउनुहुन्छ । कीर्तिपुरकै मङ्गल माध्यमिक विद्यालय कक्षा ९ मा पढ्नुहुन्छ रोहन । विभिन्न जातजाति र भाषाभाषीको संस्कृति लोप हुने अवस्थामा पुगेको भन्ने गुनासाहरु धेरै आउँछन्  ।  

नेवार समुदायमै पनि काठमाण्डौ उपत्यकाभन्दा बाहिर बसोबास गर्ने धेरैले बाजा बजाउन जान्दैनन् । कतिपयलाई त बाजाको बारेमा थाहा नै छैन । उनीहरुको संस्कृति नेवार संस्कृतिसँग  मिल्दोजुल्दोसमेत  भएको पाइँदैन । तर आफूले आफ्नो संस्कृति अनुसरण गर्न पाएकोमा खुसी लाग्छ रोहनलाई । 

कीर्तिपुरकै रकिट खट्की पनि धिमे, धा र भिस्याहा बाजा मजाले बजाउनुहुन्छ । काठ, छाला लगायतको समिश्रणमा बनाइएको धिमे बाजा नेवार संस्कृतिमा बढी मात्रामा बजाइन्छ । सुरुमा तीन महिना जति उहाँले अग्रजहरुसँग बाजाहरु बजाउन सिक्नुभयो भने अहिले आफैले सजिलै बजाउनुहुन्छ  । 

कीर्तिपुरकै योगेश महर्जनले ४, ५ वर्षको उमेरदेखि नै बाजा बजाउन थाल्नुभयो । उहाँ पनि धा, भिस्याया, बाँसुरी र मादल बजाउन सिपालु हुनुहुन्छ । आफ्नो सांस्कृतिक पहिचानलाई जोगाइराख्नका लागि बाजा बजाउन सिकेकोमा उहाँलाई  निक्कै खुसी लाग्छ । 

धिमेलाई विभिन्न तरिकाले बजाउन सकिन्छ । धिमे बजाउनका लागि विभिन्न बोल सिक्नुपर्ने हुन्छ । त्यो बोल सिकेपछि मात्र  बाजा बजाउन सकिन्छ । हुन त नेवार समुदायको फैलावट र सांस्कृतिक  दायरा यति ठूलो छ कि वर्षभर ठ्याक्कै कतिवटा जात्रा उत्सव मनाइन्छन् भन्ने यकिन आँकडा कतै भेटिन्न । कतिपय जात्रा लोप भइसकेका छन् ।

इन्द्रजात्रा, सेतो तथा रातो मत्स्येन्द्रनाथको रथ तान्ने जात्रा भने पहिलेभन्दा बढी जनसहभागिता र हर्षोल्लासपूर्वक मनाइँदैछन् । १२ वर्षमा हुने खड्ग सिद्धि नाच, १२ वर्षमै मनाइने बुङ्गमतीबाट रातो मत्स्येन्द्रनाथको रथ तान्ने जात्रा , १२ वर्षमा मनाइने विभिन्न देवदेवीका जात्रा, १२ वर्षमा मनाइने हरिसिद्धिको त्रिशक्ति भवनीको जात्रा जस्ता पर्व पनि जीवन्त छन् ।

प्रायः सबै शुभकार्यमा बाजागाजा बजाइन्छ । त्यही भएर धेरैले बाजा सिक्न चाहेका हुन्छन् । ललितपुर पाटनका राजेन्द्र महर्जनले २४ वर्षदेखि  नेवार संस्कृतिका बाजा सिकाउँदै आउनुभएको छ । उहाँले देशभित्र र बाहिर गरी ५ हजार जना विद्यार्थीलाई ८८ प्रकारका बाजा सिकाउने गर्नुभएको छ । ललितपुर, काठमाण्डौ र भक्तपुरका धेरै ठाउँमा आफू स्वयम् उपस्थित भएर बाजा सिकाउनुहुन्छ । आफू पुग्न नसकेको ठाउँमा भने अनलाइन माध्यमबाट नै भए पनि बाजा सिकाउने गर्नुभएको छ । 

अनलाइन माध्यमबाट बाजा बजाउँदा  त्यति प्रभावकारी भने हुँदैन । ४२ वर्षका महर्जन आफूले सानै उमेरदेखि बाजा बजाउन थालेको बताउनुहुन्छ । त्यो क्रममा उहाँले १७ जना गुरुसँग नेवार बाजा बजाउन सिक्नुभयो । आफूले गुरुहरुसँग निःशुल्क बाजा सिकेकाले आफूले पनि निःशुल्क रुपमा नै बाजा बजाउन सिकाउने गर्नुभएको उहाँले बताउनुभयो ।

बाजा सिकाएबापत विद्यार्थीसँग उहाँले महिनामा दुुई रुपैयाँ  मात्र लिनुहुन्छ । दुई रुपैयाँमध्ये एक रुपैयाँ उहाँ भगवानको नाममा चढाउनुहुन्छ  । बाँकी एक रुपैयाँ खल्तीमा राख्नुहुन्छ ।  नेवार संस्कृतिको बाजा सिकाउनका लागि पोखरादेखि भारतको दार्जिलिङसम्म पनि पुग्नुभएको छ ।  नेवार संस्कृति युवा पुस्तामा पनि राम्ररी हस्तान्तरण भइरहेको उहाँ बताउनुहुन्छ । 

अनलाइन माध्यमबाट सिकाउँदा सबै विधि पूरा गर्न भ्याइएको हुँदैन । तर बाजा सिकाउने इन्स्टिच्युटमाहरुमा बाजा सिक्नुभन्दा अगाडि विभिन्न नियमहरु  बनाइएका हुन्छन् । उहाँले सिकाउने धेरै ठाउँमा  एउटा कुनामा बाँसुरीलगायत बाजा अनि अर्को कुनामा नाट्यश्वरको मूर्ति हुन्छ ।  

त्यहाँ नेवार संस्कृतिका बाजा र चर्या नाच सिक्न आउनेले नाट्यश्वरलाई ढोगेर बाजा बजाउन र नाच्न सुरु गर्ने गरेका उहाँ बताउनुहुन्छ ।  महर्जन  पनि बाँसुरी र चर्याका गुरु हुनुहुन्छ । अहिले त काठमाण्डौमा  मात्र नभइ उपत्यकाबाहिर पनि बाजा बजाउने विशेष कक्षा सञ्चालन हुने गरेका छन्  । महर्जन  भन्नुहुन्छ, ‘प्रशिक्षार्थीहरू सँगसँगै बसेर बाजा बजाउँदा बेग्लै आनन्द हुन्छ । सबै उमेरका व्यक्ति आउने हुँदा हरेकलाई सिकाउँदा फरक–फरक अनुभव हुन्छ ।’ 

केही समय अघिसम्म नेवार समुदायमा बाजा बजाउने भन्नासाथ महर्जन अर्थात ज्यापुहरूलाई बुझिन्थ्यो । अहिले यो ट्रेन्डमा परिवर्तनसमेत हुँदै आएको उहाँ बताउनुहुन्छ । अहिले नेवार समुदायका श्रेष्ठ, मानन्धर, महर्जन, मुनिकार, ताम्राकार, कंसाकार, प्रजापतिलगायत सबै थरकाले बाजा बजाउनमा रुचि लिएको पाइन्छ । बाहुन, क्षेत्रीहरूले समेत नेवार बाजा बजाउन सिक्न थालेको राजेन्द्र महर्जन बताउनुहुन्छ । 

सदियौँदेखिको आफ्नै रीतिरिवाज, भाषा, लिपि, भेषभुषा र बन्दव्यापार सहितको मौलिक जीवनशैली नेवारपनको पर्याय बनेको छ । जसले आफ्नै माटोबाट उठेर समृद्ध बनेको संस्कृति मार्फत संसारसामु देशको पहिचान गाढा बनाएको छ । भिन्नभिन्न कालखण्डमा विभिन्न ठाउँबाट मिसिन आइपुगेका परम्परा र संस्कृतिहरूलाई सम्मिश्रण र परिष्कृत गर्दै बनेको काठमाण्डौ उपत्यकाको नेवार संस्कृति जति मौलिक छ, त्यति नै सम्पन्न पनि ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया