पार्टीका जिम्मेवार पदमा महिला सहभागिता एक तिहाइ पुग्नुपर्ने नेत्रीहरूको माग

 मंसिर ७, २०७८ मंगलबार २०:१०:३ | सुजता सुनुवार
unn.prixa.net

काठमाण्डौ – विभिन्न राजनीतिक पार्टीका जिम्मेवार पदमा महिला सहभागिता एक तिहाइ पुग्नुपर्ने क्रियाशील नेत्रीहरूले माग गरेका छन् । काठमाण्डौको राष्ट्रिय महिला आयोगको भवनमा आज मङ्गलवार भएको ‘राजनीतिक दलमा महिलाको अर्थपूर्ण सहभागिता’ विषयक कार्यक्रममा सहभागी नेत्रीहरूले एक तिहाइ महिला सहभागिताको माग गरेका हुन् ।

अखिल नेपाल महिला सङ्घका संयोजक तथा पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालको संविधानले महिला सहभागितालाई महत्त्वका साथ हेरेको बताउनुभयो । उहाँका अनुसार संवैधानिक हिसाबले अधिकार पाए पनि यसको प्रभावकारी कार्यान्वयन फितलो भएकाले सहभागितामा महिला कम देखिएको हो । तर आउन लागेको महाधिवेशनमा भने महिला सहभागिताको सबाल नै पहिलो प्राथमिकतामा रहेको उहाँले स्पष्ट पार्नुभयो ।

यसका लागि नेकपा एमालेभित्र महिला सहभागिता गराउनेमा पार्टीलाई आफ्नो तर्फबाट दबाब दिँदै सचेत गराउने काम गरिरहेको पूर्वमन्त्री थापाको भनाइ छ । उहाँले भन्नुभयो, ‘महाधिवेशनका लागि भइरहेको छनोट प्रक्रियामा वडाबाटै महिला सहभागितालाई पार्टीले महत्त्व दिनुपर्छ भनेका छौँ ।’ पार्टीको महाधिवेशन प्रतिनिधिमा एक तिहाइ महिला ल्याउने बताउँदै दुई सय २५ केन्द्रीय महिला सदस्यमध्ये ७५÷७६ जना जिम्मेवार पदमा महिलाको सहभागिता गराउने पार्टीको योजना रहेको पूर्वमन्त्री थापाले जानकारी दिनुभयो । 

यस्तै नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व ऊर्जामन्त्री राधा ज्ञवालीले पनि महिला सहभागिता बढाउन उपाध्यक्ष, सचिव जस्ता पदमा महिला प्रतिस्पर्धा गर्न तयारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिलावादी सोचले होइन मानवतावादी सोचका साथ अगाडि बढ्न सके मात्रै महिला नेत्रीको जमात बढ्न सक्छ ।’ यसका लागि महिलाका मुद्दा महिलाका लागि मात्रै नभइ समग्र देशको परिवर्तन र समानताका लागि भएको भन्दै सबैलाई महिला सहभागिताका मुद्दामा साथ दिन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा अखिल नेपाल महिला सङ्घ सचिवालय सदस्य सीता पौडेल, राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय सदस्य लक्ष्मी केसी, राष्ट्रिय प्रजातान्त्रिक पार्टीका केन्द्रीय सदस्य सरस्वती केसी, अखिल नेपाल महिला सङ्घका अध्यक्ष मीना पुन लगायतले पनि महिला सहभागितालाई जोड दिएका थिए । कार्यक्रम क्रियाशील पत्रकार महिला (डब्ल्यूडब्ल्यूजे) को आयोजनामा भएको हो । 

अन्तिम अपडेट: चैत १२, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया