एमाले महाधिवेशन : ४४ ठाउँमा स्वागत गेट, 'सेल्फी प्वाइन्ट' मा मदनदेखि लेनिनसम्मका तस्बिर

 मंसिर ८, २०७८ बुधबार १४:२७:५४ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनमा हुन लागेको नेकपा (एमाले) को १० औँ महाधिवेशनका लागि ४४ ठाउँमा स्वागत गेट र २५ ठाउँमा 'सेल्फी प्वाइन्ट' बनाइएको छ । जिल्ला प्रवेश गर्ने नाकादेखि बन्द सत्र हुने सौरहासम्म स्वागत गेट बनाइएको छ भने उद्घाटन स्थल वरपर 'सेल्फी प्वाइन्ट' बनाइएको छ । 

एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । यो महाधिवेशन उद्घाटन सत्रमा पाँच लाख मानिसको सहभागिता रहने नेकपा (एमाले) ले जनाएको छ । उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्द सत्र सौरहामा गर्ने तय भएको छ ।

महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि 'सेल्फी प्वाइन्ट' बनाइएको हो । कार्यक्रममा आउने सहभागीले सजिलै आफ्नो तस्बिर आफैँले लिन सक्ने गरी 'सेल्फी प्वाइन्ट' बनाइएकाे हाे । नेता मदन भण्डारी, लेनिनका तस्बिर पनि 'सेल्फी प्वाइन्ट' मा राख्ने व्यवस्था गरिएको एमाले केन्द्रीय सदस्य विनाेद श्रेष्ठले जानकारी दिनुभयो । 

चितवनतर्फ २१ र नारायणी पारि गैँडाकोटतर्फ चार 'सेल्फी प्वाइन्ट' रहने उहाँले बताउनुभयाे । मुख्य मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा आकृति निर्माण रहने जानकारी दिँदै उहाँले त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने बताउनुभएको छ । ट्रेड युनियन महासङ्घको नेतृत्वमा निर्माण हुन लागेको मजदुरले उचालेको पृथ्वीले संसार बनाउने मजदुरको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिने उहाँको भनाइ छ ।

महाधिवेशन उद्घाटन स्थल वरपर २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्बिर राखिनेछ । गैँडाकोट क्षेत्रमा पर्ने नारायणी नदी किनारमा ठूलो आकारको बोर्ड राखिएको छ । जनताको बहुदलीय जनवाद (जबज) जिन्दावाद लेखिएको बोर्डलाई नारायणी वारि कार्यक्रम हुने स्थलबाट सेल्फी लिन सकिने बनाइएको छ । 

महाधिवेशनमा आउने सहभागीहरूको स्वागतका लागि चितवन प्रवेश गर्ने नाकाबाट विभिन्न ४४ ठाउँमा स्वागत द्वार बनाइएको महाधिवेशन प्रचारप्रसार सहयोग समितिका सचिव तिलक रिमालले बताउनुभयो । उद्घाटन स्थल नारायणी नदी किनारदेखि सौरहासम्म स्वागत गेट तयार भएको छ ।  चितवनका मुख्य बजार क्षेत्रमा सडकको दायाँ–बायाँ पोल पार्टीका झण्डाले सजाइएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया