नारायणी नदी किनारमा यसरी हुँदैछ एमालेको दशौँ राष्ट्रिय महाधिवेशन

 मंसिर १०, २०७८ शुक्रबार ६:५०:५१ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।

नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्दसत्र हुनेछ । महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट झण्डै पाँच लाख नेता/कार्यकर्ता सहभागी हुने नेकपा एमालेले जानकारी दिएको छ । 

महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित धेरै नेताहरु चितवन आइपुगेका छन् । बन्दसत्रमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुँदैछन् । कार्यक्रमको उद्घाटनसत्रमा हुने नारायणी नदी किनारमा मञ्चसहितका सबै संरचना तयार भएका छन् । ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ’सेल्फी प्वाइन्ट’ बनाइएको छ । चितवनका हरेक घरमा निमन्त्रणा पत्र पठाइएको छ । 

एमालेले महाधिवेशनमा प्यानल बनाए कारबाही गर्ने बताउदै पर्चा–पम्प्लेटमा पनि बन्देज लगाएको छ । मतदानका लागि एक सय वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने भएको छ । सुरक्षाका लागि प्रशासनले १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्दैछ । नारायणगढ बजार क्षेत्रमा मालवाहक गाडी आवतजावतमा रोक लगाइए पनि अत्यावश्यक गाडी चल्न पाउने व्यवस्था गरिएको छ । 

७ ठाउँबाट जुलुस निकालिने

महाधिवेशनको उद्घाटन अगाडि चितवन जिल्लाका सात ठाउँबाट जुलुस निकालिने भएको छ । विभिन्न ठाउँबाट आएकाहरुलाई भरतपुरका सात ठाउँबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको हो ।

एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार पूर्वबाट आउने सहभागीहरु भरतपुरको केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी हुनेछन् । पूर्वबाट आउने गाडीलाई केन्द्रीय बसपार्कमै पार्किङ गर्ने व्यवस्था गरिएको छ । 

पश्चिम नेपालबाट आउनेहरुलाई पुल्चोकबाट जुलुससहित सभामा सहभागी गराइने भएको छ । पश्चिमबाट आउने गाडीलाई गैँडाकोटतर्फको नारायणी नदी किनारमा पार्किङको व्यवस्था गरिएको छ ।
मुग्लिनको बाटो हुँदै आउने सहभागीहरुलाई आँटपारीबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको छ । त्यस ठाउँमा रोकिएका गाडीलाई आँटपारीमा रहेको नेपाल ट्रष्टको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिने भएको छ ।

चितवनको माडी, जगतपुर, गीतानगरतर्फबाट आउनेहरुलाई हाकिमचोकबाट जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । ती ठाउँबाट आउने गाडीलाई पनि भरतपुर बसपार्कमा पार्किङको व्यवस्था गरिने छ । भरतपुरको पश्चिमी क्षेत्र चनौली, मेघौली लगायतका क्षेत्रबाट आउने सहभागीहरुलाई चौबीसकोठीबाट जुलुसमा सहभागी गराइने व्यवस्था गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १६, १७, १८ लगायत पश्चिम चितवनबाट आउने सहभागीहरु बेलचोकबाट जुलुसमा सहभागी हुनेछन् । त्यहाँ आउने गाडीलाई त्यही क्षेत्रमा पार्किङको व्यवस्था गरिएको रावलले जानकारी दिनुभयो । कालीका नगरपालिका र भरतपुर ११ तर्फबाट आउने सहभागीहरु विशालचोकबाट वीरेन्द्र क्याम्पस रोड हुँदै जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । 

अत्यावश्यक गाडी नरोकिने

महाधिवेशनको उद्घाटनको क्रममा चितवनमा यात्रुलाई सहज हुने गरी ट्राफिक व्यवस्थापन मिलाइएको स्थानीय प्रशासनले जनाएको छ । पूर्व – पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा मालवाहक गाडी सञ्चालनमा रोक लगाइनेछ । 

नारायणगढ र भरतपुरका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक गाडी नरोकिने र अरु गाडीका लागि वैकल्पिक बाटोको व्यवस्थापन मिलाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । पूर्व पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट ओहोरदोहोर गर्ने बसलाई वैकल्पिक बाटोको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

पूर्वबाट चितवन हुँदै गुड्ने गाडीलाई बाइपास रोड खुला हुनेछ । पूर्वबाट काठमाण्डौ ओहोरदोहोर गर्ने गाडी भरतपुरको जिल्ला प्रशासन कार्यालय चोक, बाइपास–आँपटारी हुँदै चल्न पाउनेछन् । पूर्वबाट पश्चिम चल्ने  गाडीलाई प्रशासन कार्यालय चोकबाट दक्षिण बाटो हुँदै नारायणी पूलसम्मको वैकल्पिक बाटो तय गरिएको छ ।

पश्चिमबाट छुट्ने गाडी नवलपरासीतिर नारायणी पुलको नजिकबाट शिवघाट जाने बाटो हुँदै पूर्वतर्फ र काठमाण्डौ चल्न मिल्ने चितवन प्रशासनले जनाएको छ । त्यसैगरी पूर्वबाट पश्चिम चल्ने गाडी आँपटारी–बाइपास हुँदै जिल्ला प्रशासन कार्यालय चोकबाट घुमेर नारायणी पुलतर्फ जानु पर्नेछ ।

पूर्व–पश्चिम चल्ने यात्रुवाहक गाडी नारायणीको पुल हुँदै चल्न पाउने तर नारायणघाटको मुख्य बजारमा प्रवेश गर्न नपाउने प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभएको छ । उहाँका अनुसार नारायणीको पुलमा अरु भीडभाड गर्न रोकिनेछ । त्यस्तै बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्र अत्यावश्यक बाहेकका गाडी प्रवेशमा रोक लगाइएको छ ।

शुक्रवार बिहान १० बजेदेखि बेलुकासम्म ती क्षेत्रमा गाडी छिर्न पाउने छैनन् । तर अत्यावश्यक एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, मृत्युसंस्कार लगायतका गाडी चल्नेछन् । यात्रा गर्नेलाई सकेसम्म सहज हुने गरी व्यवस्थापन मिलाएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।

१५ सय सुरक्षाकर्मी परिचालन

महाधिवेशनको सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइने भएको छ । एक एआईजी र दुई डीआईजीको कमाण्डमा महाधिवेशनको सुरक्षाको व्यवस्था मिलाइएको छ । एआईजी सहकुल थापा, डीआईजी प्रकाशजङ्ग कार्की र दिवेश लोहनीको कमाण्डमा महाधिवेशनको सुरक्षाका लागि खटिनुभएको छ । 

चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी झण्डै एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुनेछन् । महाधिवेशनको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका आठ सय, सशस्त्र प्रहरीको ४५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना सुरक्षाकर्मी परिचालन हुने छन् । त्यस्तै चितवनसँग सिमाना जोडिएको नवलपुरको गैँडाकोटबाट नेपाल प्रहरीका सयभन्दा  बढी सुरक्षाकर्मी खटिने छन् ।

महाधिवेशन उद्घाटन हुने ठाउँ र बन्दसत्रको सुरक्षा मजबुत बनाउन लागि सुरक्षाकर्मी परिचालन गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति संयोजक अस्मान तामाङले जानकारी दिनुभएको छ । महाधिवेशन स्थलमा आवतजावतलाई सहज बनाउनका लागि आसपासका १३ ठाउँमा गाडी पार्किङस्थल तयार गरिएको छ । 

भीआईपी बस्ने ठाउँ र महाधिवेशन स्थललाई विशेष निगरानीमा राखिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओम अधिकारीले जानकारी दिनुभयो । महाधिवेशन स्थलमा सादा पोसाकका र राष्ट्रिय अनुसन्धानका प्रहरीहरु परिचालन हुनेछन् ।

चितवनका प्रत्येक घरमा निमन्त्रणा पत्र

एमाले चितवनले महाधिवेशनको प्रचारप्रसार गर्न जिल्लाका हरेक घरमा निमन्त्रणा पत्र पठाइएको छ । जिल्लामा रहेका ९८ वटै वडामार्फत निमन्त्रणा पत्र पठाइएको १० औँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीले जानकारी दिनुभयो । उद्घाटन सत्रमा जिल्ला भित्रबाट उल्लेख्य सहभागी गराउन हरेक घरमा निमन्त्रणा पत्र नै पठाइएको उहाँले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा एमाले कार्यकर्ता मात्रै नभएर शुभेच्छुक, शुभचिन्तकलगायत आम नागरिकलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको बताएको छ ।  चितवनबाट मात्रै उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनसहभागिता गराउने तयारी गरिएको सुवेदीले जानकारी दिनुभयो ।     

भव्य मञ्च, ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा 'सेल्फी प्वाइन्ट'

महाधिवेशनको उद्घाटनका लागि भव्य मञ्च बनेको छ । एक सय जना अतिथि रहने गरी आकर्षक मञ्च निर्माण गरिएको छ । १६ फिट अग्लो मञ्चमा चार खण्ड रहेका छन् । माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्डमा केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहने छ । 

७२ कलाकारले एकै पटक प्रस्तुति दिन सक्ने गरी मञ्च निर्माण गरिएको छ । मञ्च आठ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो बनेको एमालेका केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताउनुभयो । नारायणी नदीको पुलबाट र गैँडाकोट तर्फको नदी किनारबाट समेत हेर्न मिल्ने गरी मञ्च बनाइएको उहाँले बताउनुभयो । 

महाधिवेशनका लागि चितवनका ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ’सेल्फी प्वाइन्ट’ बनाइएको छ । जिल्ला प्रवेश गर्ने नाकादेखि बन्द सत्र हुने सौरहासम्म स्वागत गेट बनाइएको छ भने उद्घाटन स्थल वरपर 'सेल्फी प्वाइन्ट' बनाइएको छ । 

महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि 'सेल्फी प्वाइन्ट' बनाइएको हो । कार्यक्रममा आउने सहभागीले सजिलै आफ्नो तस्बिर आफैँले लिन सक्ने गरी ’सेल्फी प्वाइन्ट’ बनाइएको हो । नेता मदन भण्डारी, लेनिनका तस्बिर पनि ’सेल्फी प्वाइन्ट’ मा राख्ने व्यवस्था गरिएको एमाले केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिनुभयो । 

चितवनतर्फ २१ र नारायणी पारि गैँडाकोटतर्फ चार 'सेल्फी प्वाइन्ट' रहेको उहाँले बताउनुभयो । मुख्य मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा आकृति निर्माण रहने जानकारी दिँदै उहाँले त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने बताउनुभएको छ । 

महाधिवेशन उद्घाटन स्थल वरपर २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्बिर राखिनेछ । गैँडाकोट क्षेत्रमा पर्ने नारायणी नदी किनारमा ठूलो आकारको बोर्ड राखिएको छ । जनताको बहुदलीय जनवाद (जबज) जिन्दावाद लेखिएको बोर्डलाई नारायणी वारि कार्यक्रम हुने स्थलबाट सेल्फी लिन सकिने बनाइएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया