ओलीलाई सहमति जुटाउन सकस, दोस्रो दिनको बन्द सत्र अझै सुरु हुन सकेन

 मंसिर १२, २०७८ आइतबार १४:३९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्द सत्र अझै सुरु हुन सकेको छैन । पदाधिकारी र केन्द्रीय सदस्यमा सहमति जुटाउने कोसिस भइरहेका कारण आज आइतवार बिहान १० बजे नै सुरु हुनुपर्ने बन्द सत्र अझै सुरु हुन सकेको छैन ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावललाई मनाउन नसक्नुभएका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षसहित अरू पदमा पनि सहमति जुटाउन सक्नुभएको छैन । अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई दिन खोज्नुभएको छ तर सुवास नेम्वाङले पनि अडान छाड्नुभएको छैन् । केहीबेरअघि ओलीसँग भेट्नुभएका नेम्वाङले आफू नै वरिष्ठ उपाध्यक्षको दाबेदार भएको भन्दै अडान यथावत् रहेको सन्देश दिनुभएको छ ।

यस्तै उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवसहित सबैजसो पदमा आकाङ्क्षी धेरै भएपछि ओलीलाई सहमति जुटाउन समस्या भएको छ । हिजो शनिवार बेलुका बन्द सत्रमा अध्यक्ष ओलीलाई नाम सिफारिसका लागि सबै अधिकार दिने प्रस्ताव भएअनुसार आज बिहानैदेखि सहमतिको प्रयास चलिरहेको छ । तर अध्यक्षका दाबेदार भीम रावल र उपाध्यक्षका आकाङ्क्षी घनश्याम भुसालसहितका नेताले सिधै चुनावमा जानुपर्ने बताएका छन् ।

अहिलेसम्म बन्द सत्र सुरु नहुँदा निर्वाचनको कार्यतालिका पनि प्रभावित भएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार हिजो बेलुका नै उम्मेदवारकाे मनोनयन र अन्तिम नामावली प्रकाशन भइसक्नुपर्ने थियो ।

एमालेमा अबको पाँच वर्षका लागि नेतृत्व छान्न देशभरिबाट दुई हजार एक सय ७५ प्रतिनिधि चितवनको सौराहामा छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया