एमाले महाधिवेशन : राति ९ बजेदेखि मतदान हुने

 मंसिर १३, २०७८ सोमबार १९:१३:३५ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनमा भइरहेकाे दशौँ राष्ट्रिय महाधिवेशनमा नेकपा (एमाले) को नयाँ नेतृत्वका लागि आज साेमवार राति ९ बजेदेखि मतदान हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान राति ९ बजेदेखि १४ गते बिहान १ बजेसम्म गरिने भएको हो । 

त्यस्तै मतदान सम्पन्न भएपछि १४ गते नै मतगणना गरिने, त्यही दिन निर्वाचन परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यक्रम गर्ने निर्वाचन आयोगले निकालेकाे सूचनामा उल्लेख गरिएको छ । 

महाधिवेशनमा केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक चरणको उम्मेदवारको सूचीअनुसार केही समूहमा निर्विरोध र धेरैजसो समूहमा निर्वाचन हुने देखिएको हो । पदाधिकारी अन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन हुने देखिन्छ । एक जना अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । ६ जना उपाध्यक्षका लागि सात जना र सात जना सचिवका लागि नौ जनाको उम्मेदवारी परेको परेको छ ।

खुला ८४ जना केन्द्रीय सदस्यमा ८५ जनाको उम्मेदवारी परेको छ । खुला (महिला) तर्फ पनि ५३ जनाका लागि ५४ जनाको उम्मेदवारी परेकोमा एक जनाले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध भएकाे छ ।सुदुरपश्चिमकी अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध भएको हो । 

प्रदेश १ को खुला सदस्यका लागि ६ सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, वाग्मती प्रदेशमा ६ सदस्यका लागि आठ जना, कर्णाली प्रदेशमा ६ सदस्यका लागि सात जना र सुदूरपश्चिम प्रदेशमा ६ सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ । सुदूरपश्चिममा तीन सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

आदिवासी जनजातिको खुलातर्फ १७ सदस्यका लागि १९ र महिलातर्फ आठ सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ । मधेशीको खुलातर्फ १३ सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ । दलितको खुलातर्फ आठ पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । थारुको खुलातर्फ पाँच सदस्यका लागि ६ जनाको र महिलातर्फ दुई सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको छ । मुस्लिम खुलामा चार जनाका लागि ६ जनाको उम्मेदवारी परेको छ । पिछडिएको क्षेत्रअन्तर्गत खुलातर्फ तीन सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया