मर्स्याङ्दी करिडोरमा निर्माणाधीन प्रसारण लाइनका प्रभावितकाे माग सम्बाेधन हुन्छ : मन्त्री भुसाल

 मंसिर १३, २०७८ सोमबार २०:४७:५० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङमा रहेकाे मर्स्याङ्दी करिडोरमा निर्माणाधीन २ सय २० केभी प्रसारण लाइनका प्रभावितहरूले शतप्रतिशत मुआब्जा तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

आज सोमवार लमजुङ आउनुभएकी ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाउँदै प्रभावितहरूले विद्युत् प्रसारण लाइनको टावर राख्ने जग्गा र तारमुनि पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति प्रभावितहरूकै सहभागितामा एकै समयमा निर्धारण गरी चलनचल्तीको मूल्यमा शतप्रतिशत उपलब्ध गराउन माग गरेका हुन् ।

ज्ञापनपत्रमा प्रभावित समुदायको सम्पत्ति, जीविकोपार्जन, वातावरण, संस्कार–संस्कृतिमा पार्ने असरको क्षतिपूर्ति प्रभावित समुदायको अर्थपूर्ण सहभागितामा निर्धारण गरी उपलब्ध गराउनुपर्ने, वातावरणीय प्रभाव न्यूनीकरणका कार्यक्रम प्रभावितकै सहभागितामा कार्यान्वयन गर्नुपर्ने, प्रसारण लाइनको आधिकारिक मार्गको चौडाइ कम्तीमा ६० मिटर बनाइनुपर्ने, मर्स्याङ्दी खाेला र अन्य खोलाबाट उत्पादन हुने विद्युतलाई एउटै प्रसारण लाइनबाट लैजाने व्यवस्था मिलाइनुपर्ने उल्लेख छ ।

यस्तै, प्रसारण लाइनका टावरलाई उत्पादनशील, भूमि, सांस्कृतिक क्षेत्रलगायत गाउँ बस्तीलाई असर नपर्ने गरी निर्माण गरिनुपर्ने पनि माग ज्ञापनपत्रमा उल्लेख छ ।

प्रभावित समुदायका अध्यक्ष खेमजंग गुरुङकाले परियोजनाले प्रभावित नागरिककाे अधिकारलाई सम्बोधन गर्नुपर्छ भन्दै गएकाे चार वर्षदेखि कानुनसम्मत माग उठाइरहेको बताउनुभयाे । 

ज्ञापन पत्र बुझ्दै मन्त्री भुसालले प्रभावितहरूका समस्या सकारात्मक ढङ्गले हल गर्नका लागि प्रयास हुने आश्वासन दिनुभएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया