नयाँ नेतृत्वलाई एमाले प्रतिनिधिको सुझाव : नेतासँग होइन, जनतासँग रहनुस्

 मंसिर १५, २०७८ बुधबार १३:४:२ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – नेकपा एमालेको दशौँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वप्रति एमालेका नेता कार्यकर्ताले आ–आफ्नै आशा र अपेक्षा राखेका छन् । एमाले नेता कार्यकर्ताले निर्वाचित नेतृत्व सहरमुखी नभएर गाउँमुखी हुनुपर्ने बताउँदै अबको पार्टी जनजीविकाका मुद्दालाई सम्वोधन गर्न सक्ने र हुँदाखानेको वर्गले ग्रहण गर्नसक्ने बन्नुपर्ने सुझाव दिएका छन् ।

एमाले महाधिवेशनबाट निर्वाचित भएका नेतृत्वले समाजमा वर्गीय विभेद अन्त्य गर्न सक्ने खाका सहितको दिशानिर्देश गर्ने अपेक्षा रहेको एमाले कार्यकर्ता सहदेव लकान्द्रीले बताउनुभयो । सामाजिक रुपमा भएका अनेक विभेदको अन्त्यसँगै समाजका कुसंस्कार हटाउँदै समाजको तल्लो तहदेखिको नेतृत्व एमालेले लिनुपर्ने लकान्द्रीको भनाइ छ ।

यस्तै पार्टीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाअनुरूप आर्थिक समाजिक विकासको नीति तथा कार्यक्रमलाई अझै सशक्त  रुपमा अगाडि बढाउनुपर्ने चितवनकी निशा अधिकारीले बताउनुभयो । हरेक संकटहरूको सामना र समाधानका लागि नेकपा (एमाले) पुनः सुदृढ र सबल बन्ने विश्वास लिएको उहाँको भनाइ छ । 

भूगोलमा काम गर्नेलाई भूगोलको नेता बनाउनुपर्ने बताउँदै पदमा खड्का(सुर्खेत)ले पार्टी नेतृत्व शहरमुखी हुन नहुने र कार्यकर्तामाझ रहने गरि नेतृत्व स्थापित हुनुपर्ने बताउनुभयो । पार्टी नेतृत्व अनुशासित हुनुपर्ने साथै दण्ड,सजाय र पुरस्कार तथा प्रोत्साहनको व्यवस्था हुनुपर्ने बताउँदै उहाँले यो नेतृत्वबाट कार्यकर्ताको भावना जागृत हुने अपेक्षा राखेको बताउनुभयो ।

जनविश्वास बलियो बनाएर,जनतालाई ढुक्क बनाउँदै देश विकासको नेतृत्व एमालेले लिनुपर्ने खड्काले बताउनुभएको छ  । एमालेसँग स्पष्ट विचार र नीति तथा तिनको कार्यान्वयनका लागि योजना पनि स्पष्ट रहेकोले नयाँ निर्वाचित नेताले पार्टीको विचार, नीति, सिद्धान्त नागरिकलाई बुझाउन सक्नुपर्ने बताउनुभयो । 

एकताको महाधिवेशन सम्पन्न भएकोले समाजका हरेक वर्ग समुदाय यो पार्टीलाई अझै प्यारो पार्टी भन्न सक्ने सन्देश दिएको बाँके जिल्लाबाट प्रतिनिधिको रुपमा सहभागी पुर्ण केसीले बताउनुभयो । पार्टी र नेतृत्वका विरुद्ध सुरु भएको घेराबन्दी र षड्यन्त्रका विरुद्धमा पार्टीपंक्ति एकताबद्ध भएर नेपालको सबैभन्दा ठूलो र बलियो पार्टी बनाउन नयाँ नेतृत्व सशक्त रुपमा अगाडि बढ्नुपर्ने पनि उहाँको भनाइ छ । यस्तै उहाँले खारिएको सक्षम नेतृत्व निर्वाचित भएकोले अब पनि नेकपा एमाले देशकै ठूलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो । 

नयाँ नेतृत्वले पार्टीको नारा अनुसारको काम गर्नुपर्ने बताउँदै सिन्धुपाल्चोकका नेत्रप्रसाद दंगालले ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं भन्ने मूल नाराको मर्म अनुसार काम गर्ने पार्टी हुनुपर्ने बताउनुभएको छ । जनताको अभिभावक बन्नुपर्ने, हरेक समस्याको समाधानमा अग्रसर रहनुपर्ने, आम नागरिकको दैनिकीमा सहयोगी बन्नसक्ने गरी नेतृत्वले काम गर्नुपर्ने उहाँको भनाइ छ ।

पार्टी विरुद्ध भइरहेको घेराबन्दी र षड्यन्त्रका विरुद्धमा पार्टीपंक्ति एकताबद्ध भएर नेपालको सबैभन्दा ठूलो र मजबुत पार्टी बनाउनका लागि नयाँ नेतृत्व लाग्नुपर्ने बताउँदै भक्तबहादुर गुरुङ्ग युरोप)ले अबको निर्वाचनमा पनि एक नम्बरको पार्टी एमाले नै बनाउने गरि काम गर्नुपर्ने बताउनुभयो । नेपालमा रहेका जनवर्गीय संगठनको हैसियत अनुसारको भूमिका र जिम्मेवारी प्रवास शाखा कमिटीलाई पनि दिनुपर्ने उहाँको माग छ ।

जनतामा आधारित कार्यकर्ता पार्टी निर्माण गर्ने जबजको नीतिको कार्यान्वयनका सन्दर्भमा नयाँ नेतृत्वले ख्याल राख्दै  युगान्तकारी परिवर्तनसँगै समाजवादी यात्राको सफलतामा लाग्ने एमाले बनाउने अपेक्षा राखेको एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताउनुभयो । एमालेले जनजिवीकाका मुद्दालाई प्राथमिकतामा राख्नेगरि महाधिवेशनले सन्देश दिएको उहाँको भनाइ छ ।

यस्तै बाराबाट आउनुभएकी प्रतिनिधि टिना सुवेदीले अबको एमाले नेतृत्व सुदृढ एकता सक्षम नेतृत्व र जनभावना बुझ्ने हुनुपर्ने बताउनुभयो । नेताहरुले आफ्ना निजी महत्वाकांक्षाबाट मुक्त भएर राष्ट्रिय स्वार्थमा समर्पित हुँदै राष्ट्रियताको सवालमा हरेक नेपालीले गौरव गर्नसक्ने पार्टी बन्नुपर्ने सुवेदीले बताउनुभएको छ । अधुरा र अपूरा जनहितका कामलाई पूरा गर्न सक्ने एमाले बन्नुपर्ने र निर्वाचित नेतृत्व सहर केन्द्रित नभइ गाँउ केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया