एमालेका प्रतिनिधिको भोगाइमा सौराहा : ‘लोभलाग्दो व्यवस्थापन, गजबकाे आतिथ्य’

 मंसिर १८, २०७८ शनिबार १४:२१:३४ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिले चितवनको सौराहा प्रति खुसी व्यक्त गरेका छन् । सौराहाले गरेको स्वागतसँगै होटलको व्यवस्थापन र कर्मचारीले गरेको असल व्यवहार भुल्न नसकिने प्रतिनिधिहरुले बताएका छन् । 

महाधिवेशनको क्रममा चितवनको सौराहामा तिन दिन लगातार करिब ८ हजार जनाको भिड भयो । महाधिवेशन प्रतिनिधिसँगै चासो राख्ने एमालेका हजारौँ कार्यकर्ताले सौराहा भरिएको थियो । भरिभराउ सौराहामा यहाँ रहेका होटलको व्यवस्थापन र कर्मचारीको व्यवहारले एमालेका प्रतिनिधि खुसी भएका हुन् । 

होटल व्यवसायीको व्यवस्थापन शैली, कर्मचारीले गरेको व्यवहार, सौराहा वरपरका स्थानीयको मुस्कान सहितको स्वागतले प्रभावित भएको बताउँदै दोलखाको भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले सौराहाले आफूहरुलाई सकारात्मक प्रभाव पारेको बताउनुभयो । 

‘पहिलेको सौराहा र अहिलेको सौराहामा धेरै सबल पक्ष पाएँ’ उहाँले भन्नुभयो, ‘सौराहाका व्यवसायी अतिथि सत्कार व्यवस्थापनमा असाध्यै संवेदनशील भएको पाइयो ।’ सौराहाका व्यवसायीले प्रस्तुत गरेको व्यवहार र स्थानीयले देखाएको व्यवहार भुल्न नसकिने उहाँले बताउनुभयो । 

रौतहट जिल्लाबाट प्रतिनिधिको रुपमा सहभागी राजु धामीले सौराहाको ‘रेस्पोन्स’ बिर्सन नसकिने पाएको बताउनुभयो । होटल सञ्चालक र कर्मचारी मात्र होइन सौराहा आसपासका स्थानीयले पाहुनालाई गरेको व्यवहार राम्रो लागेको उहाँको भनाइ छ ।

‘सौराहाले पाहुना व्यवस्थापन राम्रो गरेर देखायो’ उहाँले भन्नुभयो, ‘वन्यजन्तुमा आधारित पर्यटन क्षेत्र भए पनि सौराहामा विदेशी मोडलका पार्क बनाउन सके अझै राम्रो हुने थियो ।’

यस्तै काभ्रेपलाञ्चोकबाट सहभागी शान्ता न्यौपानेले सौराहा छोडर घर आइपुगे पनि अझै सौराहाको झल्को आइरहेको बताउनुभयो । रात दिन जुनसुकै समयमा झर्को नमानी होटलका कर्मचारीले गरेको सहज व्यवहारले सौराहा बिर्सन नसकिने न्यौपानेले बताउनुभयो । एमालेका हजारौँ प्रतिनिधि र कार्यकर्ताको व्यवस्थापनमा गुनासो नआउने गरी काम गर्ने सौराहाका होटल व्यवासायीको सामूहिक एकतालाई प्रभाव पारेको बताउँदै उहाँले सानो क्षेत्रमा पनि त्यती ठूलो कार्यक्रमको कुशल व्यवस्थापन गरेर सौराहाले आफ्नो क्षमता देखाएको बताउनुभयो । 

कार्यक्रमको तालिका अनुसार रातिको समयमा होटलबाट आउ–जाउ गर्दा पनि कोही कसैले असजिलो नमानेको बताउँदै  भोजपुरबाट सहभागी किरण राईले आवश्यक पर्दा होटलका कर्मचारीहरुले थप सहयोग र समन्वय गरेको व्यवहारले आफूहरु प्रभावित भएको बताउनुभयो ।

‘सौराहाले जतिसुकै ठूलो कार्यक्रम पनि सहज व्यवस्थापन गर्न सक्छ भन्ने देखायो’ उहाँले भन्नुभयो, ‘सौराहाका व्यवसायीको एकता र सहकार्य अन्य क्षेत्रका पर्यटन व्यवसायीले सिक्न योग्य छ ।’
आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको सौराहामा पुग्ने सडक निर्माणमा सरोकार राख्नेको ध्यान पुग्नुपर्ने बताउँदै राईले सौराहामा गरिने यस्ता कार्यक्रमका लागि छुट्टै स्थान बनाउन सके राम्रो हुने बताउनुभयो । 

‘सौराहाको बजार क्षेत्रमा भीडभाडको कार्यक्रम गर्दा अन्य पर्यटकलाई ‘डिस्टर्ब’ हुन सक्छ’ उहाँले भन्नुभयो, ‘ठूला कार्यक्रम सञ्चालन गर्न सौराहाकै नजिक ठूलो हल आवश्यक देखियो ।’

बाँके जिल्लाबाट सहभागी प्रतिनिधि रत्न खत्रीले होटल व्यवस्थापनको विषय सिक्न सौराहा उपयुक्त रहेको बताउनुभयो । पर्यटकको आकर्षक स्वागत र उचित व्यवस्थापन गर्ने कलामा सौराहा अब्बल रहेको पाएको बताउँदै उहाँले होटल व्यवस्थापन पढ्ने विद्यार्थीहरुका लागि सिक्ने उपयुक्त थलो सौराहा रहेको आफूले महसुस गरेको बताउनुभयो । 

वातावरण संरक्षण र सरसफाइमा अझै बढी ध्यान दिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘सौराहाको वेल म्यानेज र गुड रेस्पोन्स कहिल्यै भुल्दैनौँ ।’ 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया