खोला किनारको २० मिटर मापदण्डको फैसलामा सर्वोच्चले पुनरावलोकन...
मंसिर ७, २०८१ शुक्रबार
साउन सुरु भएदेखि हरेक शनिबार छोराबुहारीलाई तिज लागेको छ । कहिले यसकोमा, कहिले उसकोमा गर्दै यसपालि छोराबुहारीकै घरमा दर खाने र नाच्ने पालो आयो । बिहानैदेखि घरमा चहलपहल छ । थरिथरीका खानेकुरा पाक्दैछन् । गाउँबाट ओखती गर्न आएकी आमा माथि छतमा बसेर रमिता हेरिरहेकी छन् ।
‘हाम्रो पालामा त एकदिन पो तिज आउँथ्यो । यहाँ त हरेक हप्ताजस्तो तिज आउँदो रैछ’ आमै गालामा हात राखेर पुराना दिन सम्झिन थालिन् । घरमा चपहलपहल बढ्दै गयो । छोराका साथी, बुहारीका साथी, नातिनातिनाका साथी, थरिथरीका मान्छे घरमा आए । स्पिकरमा गीत घन्किन थाल्यो ।
‘पोइल जान पाम, शिव पोइल जान पाम
पोइ पाइयोस् भनेर जप्छु तिम्रो नाम
अहिलेकै सालमा पोइल जान पाम........’
हातमा रहेको खानेकुराको प्लेट भूइँमा राखेर बुहारी र उनका साथीहरु कम्मर मर्काउन थाले । छोरा र उसका साथीहरु थपडी बजाउन थाले । स्पिकरमा बजेको गीतको तालमा नाच्दै बुहारी भन्छिन्, ‘पोइल जान पाम, शिव पोइल जान पाम...।’ पोइल जान पाम भन्दै कम्मर मर्काउने बुहारीलाई हेरेर छोरो थपडी बजाउँछ । सिटी फुक्छ । ल ल पोइल जा भन्ने पारामा सँगै नाच्छ ।
हे भगवान ! यो के सुन्न र देख्न परेको भन्दै आमै छतबाट उठेर पल्लोपट्टि लागिन् । पल्लोघरको छतमा पनि उसैगरी नाचगान भैरहेको छ । पल्लो घरको स्पिकरमा बज्दैछ :
‘बिहे मेरो भाछैन भन्नेलाई
भेट्न पाए ती बुढी कन्यालाई
के हो तिनको नाम
पोइल जान पाम शिव भन्नेलाई मैले ल्याउन पाम...’
यता बुहारी पोइल जान पाम भन्दै नाच्छे । उता छिमेकी पोइल जान पाम भन्नेलाई ल्याउन पाम् भन्दै उफ्रिन्छ । हैन यो शहरमा मान्छे बौलाएका हुन् कि म बुढी चाहिँ बदलिन नसकेको हुँ भन्ने सोच्दै आमै तल कोठामा झरिन् । तल छोराबुहारी र उनीहरुका साथीसँगै नाचगान र खानपिन गर्दैछन् । छोराबुहारीले कर गरे पनि आमालाई ताल न सुरमा उफ्रेको र रक्सी मासु समेत खाएपिएको हेर्न मन लागेन । कोठाभित्र गएर कुर्सीमा थचक्क बसिन् । टिभीमा पनि तिजकै गीत बजिरहेको रहेछ :
‘हाइ मेरो फरिया
झन् माथि सार्यो झन् तल झर्छ
हाइ मेरो फरिया’
गीत सुनेर आमै फेरि छक्क परिन् । हैन फरिया माथि सार्दा तल कसरी झर्छ ? आमैले आफैंले लगाएको फरिया तलदेखि माथिसम्म हेरिन् । गोलीगाँठो भन्दा थोरै माथिसम्म सारिन् । माथि सार्दा तल झर्दैन त ! अरुले सार्दा पनि यसो हुन नपर्ने ? माथि सार्दा माथि नै हुन्छ, तल सार्दा पो तल झर्छ । आजकलमा मोरीहरु फरिया लाउन जान्दैनन्, अनेक भन्छन् नै भन्दै आमै चुप लागिन् । टिभीमा थरिथरिका गीत बजेको आमैले हेरिरहिन् :
‘खै किन भुक्यो गाउँकै कुकुर
बरिलै भिनाजु पल्केर
छन त त्यति मै राम्री छैन
बरिलै जवानी झल्केर...’
‘तिज आए नि पिरलो नआए नि पिरलो
चोरी खान पल्केको यो ढाडे बिरालो
यो गर्दा नि पिरलो उ गर्दा नि पिरलो
चोरी खान पल्केको यो ढाडे बिरालो...’
हैन यस्तो पनि तिजको गीत हुन्छ ? यो तिजको गीत कि रत्यौली ? रत्यौलीमा पनि यस्तो भन्न लाज हुन्थ्यो । शहरका मान्छे बिग्रिएछन् भन्दै आमै जुरुक्क उठेर फेरि छतमै उक्लिन् । तल खानपिन र नाचगान अझै सकिएको छैन ।
‘भूइँको धुलो उफ्रिएर चिल्लै बनायो
मेरी मायाले नाचेर दुनियाँलाई जिल्लै बनायो
......
लौरी हरायो मेरो माइती जाँदा टेकने लौरी हरायो
छाता हरायो मेरो पानी आउँदा छेकने छाता हरायो
.......
सिंगापुरे लाएर सारी
नाच माया सबैको मेख मारी
......
केटाले पनि गीत गाएका छन् । सँगै नाचेका छन् । गीतमा खाएको, लाएको र मन पराएको मात्र कुरा छ । सारी, पाउजु र सुन चाँदीको लोभ देखाएको छ । केटा र केटीको माया प्रेमका कुरा मात्रै होइन, कानमा तातो तेल परेका जस्ता संवाद र शब्द मिसिएका छन् । यता र उताको स्पिकरमा बजेका गीत सुनेर कानै पाक्न खोजेपछि आमालाई पनि गीत फुर्याे :
‘कस्तो आयो जमाना नि कलियुगको खेल यो
अचेलका केटा केटी के को लिला हो
हजारको पाइन्टलाई घुँडा घुँडा काटेर
केटा पनि हिँड्न थाले जुल्फी बाटेर...’
गुनगुनाउँदै गर्दा उबेला आफूले तिजमा नाचेको आमालाई याद आयो । त्योबेला तीजमा दुःख र बेदनाका गीत हुन्थे । सासूबुहारीका सम्बन्ध र कामका कुरा हुन्थे :
‘आज मलाई सञ्चो छैन बिहानीको चिसाले
सासू उठिन् दैलो पोतिन् मेरो रिसले
दैलो पनि पोत्यौ बज्यै ढिकी पनि कुटन
मलाई साह्रै भोक ला'छ भट्ट भुटन...’
गीत सम्झेर आमा मुसुक्क हाँसिन् । अहिलेका बुहारीले न दैलो पोत्न परोस्, न ढिंकी कुट्न परोस् । कतिले त ढिकी पनि देख्या छैनन् होला । पहिले पो सासूबुहारी सँगै बस्थे । झगडा मात्र होइन, सासूलाई बुहारीको महत्व र बुहारीलाई सासूको महत्व पनि थाहा हुन्थ्यो । तर अहिले सासू गाउँमा, बुहारी शहरमा । कहिलेकाहीँ शहर आउँदा सासू पाहुना जस्तो, गाउँमा पुग्दा बुहारी पाहुना जस्तो ।
यतिसम्म त ठिकै छ । तर तिजको दुई महिना अघिदेखि दर खाने र नाच्ने चलन कसले ल्यायो ? पोइल जाने, माया लाउने, फरिया सार्ने, भिनाजुलाई पल्काउने...यस्तो पनि तिजको गीत हुन्छ ? तिज आएको कि रत्यौली देखाएको ? दर आएको कि डर खुवाएको ? आमैले छुट्याउन सकिनन् । खाटमा डङ्ग्रङ्ङ पल्टिन् । मनमा अर्को गीत फुर्याे :
पहिलाको तिजमा दूध र घिउ थालमा
मोही पनि छैन है हाम्रा पालामा
ओ लिला हेर न कस्तो आयो नयाँ जमाना..............।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।