दशगजा क्षेत्रमा नेपाली झण्डा

 मंसिर २१, २०७८ मंगलबार १८:४९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम – इलामको सन्दकपुर गाउँपालिकाको दशगजा क्षेत्रमा नेपाली झण्डा फहराइएको छ । नेपाल–भारत सीमामा अतिक्रमण बढेको भन्दै जौबारीको दशगजा क्षेत्रमा भारतको विरोधमा नेपाल कम्युनिस्ट पार्टी सन्दकपुर गाउँपालिका कमिटीले झण्डा फहराएको हो ।

दिनदिनै अतिक्रमण बढ्दै गएकाले यसबाट कसरी जोगिने भन्नेबारेमा कमिटीको बैठकसमेत बसेको एमाले जिल्ला सचिव उमेश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार भारतले सन्दकपुर गाउँपालिकाका विभिन्न बस्तीमा स्थानीयवासीलाई भौतिक संरचना बनाउनबाट वञ्चित गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ का कैयाकट्टा, गैरीबास, जौबारीमा पक्की घर, शौचालय बनाउन नदिएको वडाध्यक्ष जीतबहादुर साँवाले बताउनुयो ।

इँटा र सिमेन्टबाट शौचालय बनाउँदै गर्दा पक्की संरचना बनाउन नपाउने भन्दै भारतीय प्रहरीले बनाउँदै गरेको शौचालय नै भत्काइदिएको स्थानीयवासी साङ्गे शेर्पाको गुनासो छ । यस्तै वडा नम्बर ४ को कालापोखरी र भिखेभञ्याङ्गका स्थानीयवासीले समेत भारतको अवरोधका कारण भौतिक संरचना बनाउन नपाएको गुनासाे गरेका छन् । 

यी क्षेत्रमा बसोवास गरेका झन्डै दुई सय नागरिक पक्की संरचना बनाउनबाट वञ्चित छन् । जग्गाको लालपुर्जा आफ्नै नाममा रहेको भए पनि बनाउन चाहेको भौतिक संरचना बनाउन नपाउँदा समस्या भएको उनीहरूको दुखेसो छ । समाधानका लागि पहल गरे हामीले सरकारको आदेश मान्नै पर्छ, यसमा हामी केही गर्न सक्दैनौँ भन्ने जवाफ आउने गरेको वडाध्यक्ष साँवाको भनाइ छ । समस्या समाधान गर्न केन्द्रीय तहबाटै पहल गरिनुपर्ने उहाँले बताउनुभयो ।

यसअघि पनि वडा नम्बर ४ को सन्दकपुर डाँडामा निर्माण हुँदै गरेको 'भ्यु प्वाइन्ट' को काममा भारतीय पक्षले अवरोध गरेको थियो । अवरोधपछि  ५० प्रतिशत काम पूरा भएको 'भ्यु प्वाइन्ट' को काम अहिलेसम्म स्थगित नै छ । प्रदेश सरकारको एक करोड रुपैयाँको सहयोगमा बन्न लागेकाे 'भ्यु पोइन्ट' अहिले अलपत्रै अवस्थामा छ ।

साढे ५२ किलोमिटर नेपाल–भारत सीमा क्षेत्र रहेको इलामका विभिन्न ठाउँमा सात सीमा क्षेत्र रहेका छन् । विरोध कार्यक्रममा प्रदेश पूर्वमन्त्री राम राना, एमाले जिल्ला अध्यक्ष महेश बस्नेत, पार्टीका कार्यकर्तालगायतको उपस्थिति थियो । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया