भारतको महाराष्ट्र र झारखण्डमा विधान सभाको मतगणना चल्दै
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – नेपाली चिया गुणस्तरहीन भएको भन्दै निर्यातमा लगाइएको भारतीय अवरोध हटेको छ । तर सहज निर्यातमा भने समस्या कायमै रहेको उद्योगीहरु बताउँछन् । ‘टी बोर्ड अफ इन्डिया’बाट अनुमति लिएर मात्रै नेपाली चिया निर्यात गर्ने नियम सुरू भएकाले निर्यातमा फेरि समस्या भएको हो । बोर्डको अनुमति लिन वितरणका लागि चिया आयात गर्ने सबै निकायले गुणस्तर परीक्षणको नमुना संकलन गरी २४ घण्टाभित्र भण्डारण गर्ने ठाउँको जानकारी गराउनुपर्ने हुन्छ ।
यी सबै प्रक्रिया पूरा गर्दा धेरै समय लाग्ने भएकाले सहज निर्यातमा समस्या रहेको चिया हिमालय टी प्रोड्युसर कोअपरेटिभ लिमिटेडका अध्यक्ष तथा गोर्खा टी स्टेट फिक्कल इलामका प्रोप्राइटर उदय चापागाईँले बताउनु भयो । उहाँका अनुसार पहाडी क्षेत्रका कुल उत्पादनको १० देखि १२ लाख किलो चिया निर्यातकै प्रक्रियामा छ । झण्झटिलो प्रशासनिक प्रक्रियाका कारण यो बराबरको चिया निर्यातमा ढिलाई भएको उहाँको भनाइ छ ।
नेपाली चियालाई दार्जिलिङ ब्राण्ड बनाएर बिक्री गरेको गुनासो बढेको भारतको केन्द्रीय वाणिज्य मन्त्रालयले जनाएको छ । गुनासोका आधारमा भारतको व्यापारिक कम्पनी टाटा कन्जुमर प्रोडक्ट लिमिटेड (टीसीपीएल) को छानबिन गर्न मन्त्रालयले ‘टी बोर्ड अफ इन्डिया’लाई निर्देशन दिएको जनाएको छ । टीसीपीएल दार्जिलिङ चियाको सबैभन्दा ठूलो व्यापारिक कम्पनी हो । जसले वार्षिक करिब १० लाख किलो चिया किन्ने गरेको पाइएको छ । ‘टाटा टी’ले उपभोक्तालाई पर्याप्त जानकारी नदिई प्याकेट चियामा नेपाली चिया मिसाएर बिक्री गरी गैरकानुनी काम गरेको भन्दै गुनासो आएपछि मन्त्रालयले छानबिनका लागि बोर्डलाई निर्देशन गरेको हो । आरोप प्रमाणित भए कानुनबमोजिम ‘टाटा टी’लाई कडा कारबाही गरिने बोर्डले जनाएको छ । ‘टाटा टी’ ले आफ्नो ब्राण्डमा नेपाली चिया मिसाएको, उत्पादन गरिएकाे देश नखुलाएको, आयातकर्ताको नाम, ठेगाना र चिया प्याकेजिङको विस्तृत विवरण नखुलाएको आरोप छ ।
नेपाली चिया मिसावटबारे चिया बोर्डमा दार्जिलिङका चिया बगानले उजुरी गरेको बताइएको छ । मन्त्रालयले बोर्डलाई चिया मिसावटको विस्तृत अध्ययन गर्न, साइट भ्रमण गर्न र आयातकर्ताहरूको अभिलेख जाँच गर्न वरिष्ठ अधिकारीहरू सम्मिलित पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गर्न पनि भनेको छ । मन्त्रालयको निर्देशनपछि बोर्डले नेपालसँग सीमा जोडिने भन्सार नाकालाई परिपत्र जारी गरेको छ । यही मंसिर ११ मा बोर्डले गुणस्तरहीन चियाको आयात नियन्त्रण गर्न दुई वटा परिपत्र जारी गरेको थियो । यस अनुसार अब नेपाली चियाले निर्यातका लागि ‘टी बोर्ड अफ इण्डिया’को अनुमति लिनुपर्ने भएको छ ।
नेपाली चियाको निर्यात ५३ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा चियाको निर्यात ५३ दशमलव ५ प्रतिशतले घटेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ । यो वर्षको असोज मसान्तसम्ममा एक अर्ब एक करोड ४० लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा एक अर्ब १६ करोडले कमी हो । नेपाली चियालाई प्रतिबन्ध लगाउन भारतले आयातकर्तामाथि विभिन्न अवरोध लगाउन थालेपछि नेपाली चियाको बजार गुम्ने खतरा बढेर गएको देखिन्छ ।
नेपालबाट निर्यात हुने चियामध्ये सीटीसी चियाको ५० प्रतिशत र अर्थोडक्स चियाको ९० प्रतिशत बजार भारत हो, पूर्वीनाकाबाट निर्यात हुने कुल नेपाली उत्पादनको करिब २६ प्रतिशत हिस्सा चियाले ओगट्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक छ । बाँकी २० प्रतिशत चीन, जापान, जर्मनी, अमेरिका, अस्ट्रेलियालगायत देशमा निर्यात हुन्छ । पछिल्लो समय रसिया र खाडी मुलुकमा समेत निर्यात भइरहेको छ । तर निर्यात गर्न भारतकै बाटो प्रयोग गर्नुपर्छ । जसले गर्दा समग्र चिया क्षेत्र नै समस्यामा पर्ने जानकारहरू बताउँछन् ।
बारम्बार निर्यातमा समस्या हुन नदिनका लागि विभिन्न निकायसँग कुटनीतिक छलफल भईरहेको छ । नेपालको प्रशोधित चिया भारतमा मात्रै नभई चीनमा समेत निर्यात गर्ने वातावरण बनाउनका लागि छलफलमा रहेको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डाक्टर विष्णुप्रसाद भट्टराईले बताउनु भयो । उहाँका अनुसार यो मंसिर १२ गते मन्त्रालयलाई चीन निर्यातमा पनि सहज वातावरण बनाइदिन आग्रह गर्दै बोर्डले पत्र पठाएको छ ।
यो पहलले निर्यातकाबारेमा विस्तृत छलफल हुनेछ । भारतले अवरोध गर्दा गएको ७ गतेदेखि नेपाली चिया निर्यातमा समस्या भएको थियो । त्यसयता झापा र इलामका विभिन्न कारखानाबाट उत्पादित दुई करोड रुपैयाँ भन्दा धेरैका चिया मेची भन्सार कार्यालयमै थन्किएको थियो । थन्किएको चिया भने निर्यात भइसकेको भन्सार कार्यलयले जनाएको छ । नेपालको ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोटलगायतमा व्यावसायिक चिया खेती हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।