न्यायको लडाइँमा अमुक साक्षी मण्डला

 पुस १०, २०७८ शनिबार १३:२५:५३ | वैद्यनाथ पाैडेल
unn.prixa.net

इतिहासका लागि उमेरले खास महत्त्व राख्दछ । परिपक्वता इतिहासको बलियो पक्ष हो । त्यस अर्थमा दुई/तीन दशक भनेको इतिहासमा उल्लेख्य कालखण्ड होइन । तर, यति थोरै अवधिमा माइतीघर मण्डलाले न्यायका लागि भएको जुन लडाइँ देखेको छ, नचाहेरै जुन अमुक साक्षी बस्नुपरिरहेको छ त्यस अर्थमा भने यो इतिहास हो अनि लामो कालखण्ड पनि । मण्डलाले न्यायका लागि भनेर आफ्नो छाति उदाङ्गो पारेको धेरै भएको छैन । निर्माणको दुई दशकमा मुश्किलले एक दशक भयो मण्डलाले आफ्नो छातीमा बुट बज्रने ‘बाध्यात्मक’ स्वतन्त्रता दिएको । 

मण्डलाले अहिलेको आकार ग्रहण गरेको २०५७ सालमा हो । मण्डलालाई यो स्वरुप काठमाण्डौ महानगरका तत्कालीन मेयर केशव स्थापितले दिनुभएको हो । साथै रिञ्चिन योञ्जनको नाम पनि यसमा जोडिन आउँछ । नेपालले ११ औँ सार्क शिखर सम्मेलन आयोजना गर्ने भएपछि काठमाण्डौलाई आकर्षक देखाउन केवल १७ दिनमा बनाइएको हो मण्डला । 

अहिले लाठी, बुट, जुत्ता, चप्पल, अश्रुग्याँस, पानीका फोहोरा, इँटा, झण्डा, ब्यानर र प्लेकार्ड बोक्ने मण्डलाले उबेला भने दुई, चार घरका भारी बोक्थ्यो । 

घरभरी अफिस । ट्राभल एजेन्सी, महसञ्चार लगायतका अन्य अफिस थिए । कतिले ट्राभल एजेन्सीमा आएर पासपोर्ट पछारे, जुत्ता टक्टक्याए । 

विदेश गए । कमाए । काठमाण्डौमा घर ठड्याए । अनि फेरि जिस्क्याउन यही मण्डलाको छातिमा आएर टेकेका छन् । तिनले नसम्झिए पनि मण्डला विस्मृतिमा गइसकेको छैन । 

महसञ्चारको त कुरै छोडौँ। मह अहिलेजस्तो नागरिकको नजरमा त्यति धेरै स्वादिलो भैसकेका थिएनन् त्यसबेलासम्म । अनि नरेन्द्र कंसारकारदेखि अन्य कलाकार पनि महमा चास्नी थप्न आउँथे त्यसबेला । 

दृष्य र ध्वनी थुप्रै थपिए यहाँ महका सृजनामा । भुइँतलाको साँघुरो कोठामा थियो अफिस । 

ती घरमा त्यसबेला को–को आए, गए । उबेलाका अफिसका हाकिम, कर्मचारी, सफाइकर्मी, चिया–खाजाका लागि मात्रै अफिसमा साथी भेट्न आउने आगन्तुक । 

त्यति मात्रै होइन बाटोमा हिंड्दा काठमाण्डौको मुटुमा वरिपरि बाटो, रुख सहितका हरियाली आहा कति राम्रो ठाउँ भनेर मुख मिट्ठयाउने र कसरी हत्याउन सकिन्छ भनेर र्याल चुहाउने एक एकको हिसाब छ मण्डलाको बहीमा । 

तिनै महानुभाव आज फलानोलाई अन्याय भो, ढिस्कानोलाई अन्याय भो भनेर न्यायको आवाज उचाल्न फेरि मण्डलाकै छाति टेक्दा भने मण्डलालाई कम्ता पारो तातेको छैन । 

तर, पनि विवश छ मण्डला उसको विराट छातिमा उसलाई समेट्नु परेको छ । तिनलाई पुलिसका लाठी, बुट र पानीका फोहोरा लाग्दा उसकै काखमा सजाएर उपचार गर्न वाध्य छ मण्डला । 

वरिपरि बाटोको बीचमा ढसमस्स बस्दा उसको काखमा त्यसबेला पनि ट्रलीबसदेखि साझाबस अनि मिनीबस, साना कार, होण्डा १२५ सिसिका बाइक घर छेड्दै आइपुग्थे । नचाहेर पनि तिनलाई कयौँ दिन राखेकै हो । माया गरेर काखमा सुताएकै हो मण्डलाले । 

जब मिस्त्रीको हातमा पर्थे ती, अनि सुइँकुच्चा ठोकेर भाग्थे । घरबेटी ती सबको हिसाब खोज्दै पुलिस चौकी र तिनलाई समाउन बग्गीखाना ट्राफिक प्रहरीकोमा जान्थे । यो सबको पनि एक–एक साक्षी हो मण्डला । 

दिन–रात उसको परिक्रमा गरिरहने ट्रलीबस र साझाबस, त्यसका एक–एक यात्रु, विद्यार्थी, नेता, कर्मचारीदेखि बसमा बाँधिने प्रेम र रोमान्सका एक–एक जोडीलाई पनि बिर्सेको छैन मण्डलाले । ती जोडी भुरा डोर्याएर त्यतैबाट लखरलखर गरेको पनि याद छ उसलाई । 

उहिलेका ती भुराका पनि भुरा हाम्रो ‘मम–ड्याड’ यतैबाट ट्रलीबसमा जाँदा ‘लभ परेको रे’ भनेर त्यतैबाट लठारिंदा ऊ पनि कम्ता रोमाञ्चित हुँदैन । ती सबले बिर्से पनि एक एक प्रेम कहानीको साक्षी हो मण्डला । 

धन्न त्यसबेला सडक बालक, नगरवधु, विचौलिया, फुटपाथ पसलको यति विघ्न बिगबिगि थिएन । नत्र हरेकको के–के कुराको मात्र साक्षी हुनुपर्दैनथ्यो यसले । यस कुरामा भने ऊ आफूलाई भाग्यमानी ठान्छ । 

यसरी साक्षी हुनुमा भने सर्वोच्च अदालतको प्रभाव आफूमा परेको ठान्छ ऊ । उसकै आँखा अगाडि हार्नेले मुद्दा जिते । जित्नेले हारे । तिनका एक–एक क्रन्दनको साक्षी पनि हो ऊ । 

कयौँका घरबार उजाडिए अनि कसैको उजाडिँदा कसैको थिति बसे । यो सबै कुराको पनि भोक्ता हो ऊ । उसकै अगल–बगलमा कयौँ सेटिङ भए । 

सर्वोच्च अदालतको करिब पचास मिटरको दूरीले उसले नचाहेरै पनि हरेक मुद्दाको साक्षी र भोक्ता बन्नु परेको छ । महाकाली सम्झौता होइन सन्धी हो भन्ने मुद्दादेखि विश्वनाथ उपाध्याय श्रीमानले फैसला गरेको मध्यावधि तथा संसद पुनर्स्थापनाकाे मुद्दा देखेको छ मण्डलाले । 

खिलराज श्रीमानको दुवै लाभकारी पद, शुशीला कार्की श्रीमानको महाभियोगदेखि दीपकराज जोशी श्रीमानको आँखाको आँसु हुँदै चोलेन्द्र श्रीमानको शान,  निरीहपन सबै सबैको एकमात्र साक्षी हो मण्डला । 

सर्वोच्चले म्यारिज जुवा होइन भनेपछि न्यायाधीश र वकिल एउटै खालमा म्यारिज भिडेको पनि देखेको छ मण्डलाले अनि त्यहीं भएको सेटिङ र वकिलको काला कोट भित्र लुकेको कालो कर्तुत सबै देखेको छ उसले।

मण्डला बनाउन राजेन्द्र पराजुलीको तीन तले घर डोजरले हानेको पनि नदेखेको कहाँ हो र उसले । पराजुली लगायत अन्यको त्यो पीडा र आनाको ४६ लाख मुआब्जा लिए नि ! भनेको कथन ऊ मण्डला नबनेदेखि नै उसलाई थाहा छ । 

नेपाल भाषाको फिब्वः ख्यः अर्थात बालुवाको साना–साना ढिस्कोसहितको चउरलाइ बीएस थापाको माइतीघर फिल्मको कार्यालय तथा पोष्टर, पम्प्लेट र पेन्टिङ्गले  बनाएको माइतीघरदेखि स्थापितले स्थापना गरेको मण्डलासम्मको साक्षी हो अहिलेको मण्डला । 

माइतीघरबाट पराइघरतर्फको यात्रामा जुन सद्भाव माया, प्रेम, रोमान्स, विलौना, रोदन, क्रन्दन, लोभ, लालच, घृणा, स्वार्थ, उचनिच देखिन्छ त्यो सबै, सबै भेटिन्छ माइतीघर मण्डलामा । 

लण्डन हाइड पार्कको उत्तरपूर्वी कुनोको नक्कल नगरे पनि करिब करिब उही शैली छ मण्डलाको । जहाँ मानिसहरू भेला भएर सरकार, व्यवस्था र अवस्थाका बारे विरोध, आलोचना तथा प्रतिरोधका लागि लम्किन्छन्, बम्किन्छन् र यहीँबाट चम्किन्छन् अनि चम्केपछि गम्किन्छन् पनि । 

सरकारको कार्यकारी प्रमुखको प्रशासकीय अड्डा अनि अन्य सरकारी मन्त्रालय तथा कार्यालय पनि नजिकै रहेको हुँदा पनि आफ्नो आवाज हावाले पनि छिट्टै सिंहदरबार पुर्याउँछ भन्ने आशाको त्यान्द्रोले पनि चम्किएको हुनुपर्छ मण्डला । 

मण्डलाले आकार ग्रहण गर्नुअघि २०४६ सालपछि ठूला, साना सबै आमसभा तथा विरोधसभाको साक्षी हुनेगथ्र्यो खुलामञ्च, रत्नपार्क अनि शान्तिबाटिका । 

तर, अहिलेसम्म संरचना पनि नबनेको २२ तले भ्युटावरले खुलामञ्च खायो । रत्नपार्कले प्रवेशमा पैसा मागेर अत्तो थाप्यो । अनि शान्तिबाटिका प्रवेशमा रत्नपार्कको प्रहरीले लौरो देखाएपछि वाध्य भएर विरोधीको घर बनेको हो माइतीघर मण्डला । त्यसपछि विरोध र विरोधीको प्रतिकृति नै बन्यो मण्डला । 

आकार लिएपछि पनि साक्षी भावमा प्रकट हुन मण्डलालाई केही समय लाग्यो । माओवादी विद्रोहले उसलाई यो भूमिकामा प्रकट हुन दिएन । मान्छेहरु साँझ नपर्दै घरभित्र छिर्न रुचाउँथे त्यसबेला । शान्ति सम्झौतामा आएर वाईसीएलको आतङ्क मत्थर भएपछि विद्रोहमा मारिएका १७ हजारको सम्झनामा दीप प्रज्वलनबाट बल्ल तङ्ग्रिन थालेको हो मण्डला । 

मण्डलालाई उजिल्याउन भनेर महानगरले ७५ लाख रुपैयाँ खर्चेर एलईडी कलर पाइप लाइट पनि जडान गर्याे । तर पनि मण्डला भने उसकाे वक्षस्थलसम्म आउने पीडाकाे आवाजले उसकाे मन भने अँधेराे नै छ ।

गोविन्द केसीदेखि निर्मला पन्त, उखु किसानदेखि विभिन्न मिशन, कमल थापादेखि रेखा थापा अनि राजावादीदेखि गाँजावादी, गुठीयारदेखि खोकनावासीसम्मको अटुट प्रेम देखिन्छ मण्डलामाथि । २०७२ सालको भूकम्पले धरहरा ढलेपछि त्यसको सानो प्रतिकृतिले पनि मण्डलामै शरण पायो । 

२०७३ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रकवि माधव घिमिरेले मण्डलाको छातिमा गाडिएको १ सय फिट अग्लो खम्बामा राष्ट्रिय झण्डा फहराउनु भयो । शायद मण्डलाको छाति घाइते भएझैँ लागेर होला उहाँले २०७६ सालमा मण्डलामा जम्मा हुनै प्रतिबन्ध लगाउनु भयो । 

मण्डलाको छातिले केही राहत महसुस गर्नै नपाइ त्यहाँ धक्कामुक्की भयो । शायद सर्वोच्चसम्म धक्कामुक्कीको पराकम्पन पुग्यो कि हो आरामले धक्कामुक्की नगरी जानु भन्दियो सर्वोच्चले । 

अब फेरि फुक्काफाल भएकाहरुले सुरु गरे मण्डलाको छातिमा परेड । आफ्नो उपस्थिति हराउने डरले ‘हामी यहाँ छौँ’ भनेर प्रचण्ड र माधव नेपालले आफूलाई यहीँ बसाउनु भयो । छिर्न नदिनु भन्ने ‘ओलीबा’लाई पनि पछि फेरि आफ्नो तागत देखाउन मण्डला नै चाहियो । 

बाँदरझुलावासीले आएर मण्डला तीन दिन तताउन नपाउँदै लालपुर्जाको सहमति पाए । आश्वासन पाएर न्याय नपाएपछि निर्मला कुर्मी र नकुन्नी धोबीको हत्यारालाई कारबाहीको माग गर्दै रुबी खानहरुले मण्डला रुङ्गेको एक महिना भयो । 

तर, सबै झुलावासी जस्तो कहाँ भाग्यमानी हुन्छन् र ! न्यायको लामो लडाइँमा योद्धाहरु थकित, गलित होलान भनेर आफ्नो छाती हरदम उदाङ्गो पार्दै न्यानो अभिवादनका साथ उत्साहित बनाउँदै न्यायको लागि भएका अनेकौँ लडाइँको अमुक साक्षी बनिरहेको छ मण्डला । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया