‘प्रचण्डपछिको नेता अहिलेसम्म पार्टीभित्र देखिएकै छैन’

 पुस १२, २०७८ सोमबार १३:२७:१९ | वैद्यनाथ पाैडेल
unn.prixa.net

फाइल तस्बिर,रासस

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन हिजोदेखि काठमाण्डौमा सुरु भएको छ । देशका ठूला तथा चर्चामा रहेका नेकपा एमाले, नेपाली कांग्रेस तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनपछि माओवादीको महाधिवेशन सुरु भएको हो । 

माओवादी पार्टीले राष्ट्रिय सम्मेलनको रुपमा २५ समूह बनाएर राजनीतिक प्रतिवेदन, साङ्गठानिक प्रतिवेदन तथा विधान प्रतिवेदनमाथि छलफल गर्ने भनेर प्रचार गरिरहँदा महाधिवेशन गर्ने निर्णय भएको हो । 

महाधिवेशनबाट पार्टीको आउँदाे योजना, रणनीति तथा कार्यदिशाका साथै नेतृत्व चयन समेत गर्ने हुँदा महाधिवेशनलाई निकै महत्त्वका साथ हेर्ने गरिन्छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले हालैको महाधिवेशनबाट आफ्नो पार्टीको नेतृत्व परिवर्तन गरी नयाँ नेतृत्व चयन गरेको छ । कांग्रेसको १४औँ महाधिवेशनमा यसअघि कुनै पदमा नरहेका शेखर कोइरालाले पार्टी सभापति रहेका देउवालाई ४० प्रतिशत मत ल्याएर कडा चुनौती दिनुभएको छ । 

यसले माओवादी पार्टीमा समेत विगत ३० वर्षदेखि नेतृत्वमा रहिरहनु भएका प्रचण्डमाथि पनि नेतृत्व हस्तान्तरणको दबाब पर्न गएको देखिन्छ । तर माओवादीमा अझै प्रचण्डको विकल्प नभएको महाधिवेशन प्रतिनिधिहरु बताउँछन् ।

कुलचन्द्र राजवंशी, झापा

पहिले भूमिगत कालमा धेरै महाधिवेशन भएको थियो । पार्टी संसदीय व्यवस्थामा आएदेखि महाधिवेशन भएको थिएन । त्यसकारण यो अधिवेशन गर्न लागिएको हो । 

राष्ट्रिय सम्मेलन भने पनि राष्ट्रको प्रतिनिधि भेला भएका छन् । तलबाट आउने प्रतिनिधिहरु नै भेला हुने हुन् । राष्ट्रिय सम्मेलन र महाधिवेशन एउटै शब्द हो । महा भनेका कारण अलि भयङ्कर भनेको होला नत्र अरु त उस्तै नै हो । 

यतिखेर पार्टी सङ्कटमा परेको छ । पार्टी सङ्कटमा परेका कारण प्रचण्डले नै पार्टीको अध्यक्षता गर्नुपर्छ । उहाँ नै प्रमुख हुनुपर्छ । आम कार्यकर्तामा दुई–चार जना होलान् तर, प्रत्येकको मनमा प्रचण्ड नै अध्यक्ष हुनुपर्छ भन्ने भावना सबैको मनमा छ । अहिलेको अवस्थामा यो सङ्कटमा कताकता पार्टी कमजोर भएको अवस्थामा प्रचण्ड नै चाहिन्छ । 

सुदर्शन सत्याल, काभ्रे

स्थायी कमिटीबाट निर्णय भए अनुसार यसलाई महाधिवेशन भनेर नियम सङ्गत जानुपर्ने भएर यसलाई महाधिवेशन भनिएको हो । नियम सङ्गत जानुपर्ने तथा कानुनी प्रतिबन्धमा बाँधिएका कारण यसलाई आठौँ महाधिवेशन भनियो । 

विचारको हिसाबले पनि सबै हिसाबले पनि अरुमा पनि नयाँ नेतृत्व भयो यसमा पनि नयाँ नेतृत्व आओस् भन्नु स्वाभाविक हो । तर, प्रचण्ड पछिको नेता अहिलेसम्म पार्टीभित्र देखिएकै छैन ।

आन्दोलन तथा अन्य कुराले गर्दा पार्टीभित्र प्रचण्ड बाहेक नेतृत्व गर्ने अरु देखिएको छैन । अधिवेशन भनिएको छ । अर्को व्यक्ति उठ्न चाहिँदा पनि खुलै छ। 

फत्तेमान परियार, काठमाण्डौ 

अहिले राष्ट्रिय सम्मेलन र महाधिवेशन एकै पटक गर्ने अनुकूल समय छैन । चुनावको समय पनि आएको छ । सम्मेलन गर्ने र राष्ट्रिय महाधिवेशन गर्दा दुई वटा कार्यक्रम गर्दा चुनावलाई असर गर्ने र आफ्ना कार्यक्रमहरु सङ्गठित र जनताको बीचमा जान सकिँदैन भन्ने पार्टीको ठम्याइ भएको हुनाले यसलाई राष्ट्रिय महाधिवेशनको रुपमा लिइएको हो । 

राजनीतिक दल तथा देशभरका शुभेच्छुकमा एक प्रकारको कौतुहल जाग्नु चाहिँ स्वाभाविक हो । तर, यसको अर्थ यो होइन राष्ट्रिय सम्मेलन गर्दा क्रान्तिकारी पार्टीहरुबीच पार्टी एकता गर्नेसम्मका कुराहरु नजिक आएको छ । त्यसले गर्दा कार्यक्रमहरु असाध्यै केन्द्रीकृत रुपमा घनीभूत हुने र पार्टी महाधिवेशन र राष्ट्रिय सम्मेलन जस्ता फजुल खर्चतिर जाने हुँदा समयको पावन्दीलाई मध्यनजर गरेर यो कार्यक्रम तय गरिएको हो । 

विश्वेश्वर प्रसाद कोइरालाले समाजवादको रुपमा जुन प्रगतिशील विचार राख्नुभयो त्यसले आम मजदुर किसानको हितमा सन्तुष्टि प्रदान गर्न सकेन । 

मदन भण्डारीले जनताको बहुदलीय जनवादको रुपमा जुन सैद्धान्तिक विजारोपण गर्नुभयो त्यसले पनि एमालेले तत्कालीन अवस्थामा बहुदलीय जनवादका नाममा नेपाली जनताले मजदुर किसानहरुले कम्युनिस्ट पार्टीको मार्क्सवादी दर्शन अन्तर्गत सर्वहारा वर्गको राज्यसत्ता प्राप्तिको अभिलाषा पूरा हुन सकेन । त्यो एमालेले पूरा गर्न सकेन । त्यसकारण जनताको आमूल परिवर्तनको चाहना प्रचण्ड विना अब रहन सक्ने छैन ।

कलावती भाँड, डडेलधुरा 

महाधिवेशन नै गर्नुपर्ने देखिएकाले हामीले आठौँ महाधिवेशन गर्न सुरु गरेका हाैँ । राष्ट्रिय सम्मेलनको कुरा गर्दा पछि महाधिवेशन गर्नुपर्ने भएकाले पनि आठौँ महाधिवेशनको तयारी गरेको हो । 

नेतृत्व परिवर्तन हुन्छ जस्तो लाग्दैन । प्रचण्डजीकै नेतृत्व हुन्छ होला र हुनु पनि पर्छ । किनकि केही न केही परिवर्तनको लागि उहाँको अझै आवश्यकता भएको हुँदा उहाँ नै अध्यक्ष हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया