महाधिवेशनको हतारोमा इस्टकोट बेच्ने चटारो

 पुस १५, २०७८ बिहिबार १६:५७:५१ | वैद्यनाथ पाैडेल
unn.prixa.net

प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो राजनीतिक प्रस्ताव पेस गरेपछि नेताहरूलाई त्यसमाथि छलफल गर्ने हतारो छ । 

त्यहीँ रहनुभएका जुम्लाका नन्दराम विश्वकर्मालाई भने अर्कै हतारो छ । उहाँ नेता/कार्यकर्ता जमघट हुने ठाउँमा अल्लोको इस्टकाेट बेच्ने काम गर्नुहुन्छ । माओवादीको महाधिवेशन उद्घाटन सत्रमा पाँच वटा इस्टकाेट बेचेपछि उत्साहित विश्वकर्मा बन्द सत्रमा पनि यसैगरी बेच्न प्रज्ञा प्रतिष्ठान गेटमा पुग्नुभएको हो । तर उहाँ भित्र छिर्न पाउनुभएन । 

‘खोइ किन हो छिर्न दिएनन्’ हिजो बेचेको इस्टकोटको उत्साहमा खुसी मिसाउने उहाँको चाहना एकाध घण्टा पर धकेलियो । ‘पछि भने छिर्न दिए’, उहाँले भन्नुभयो ।

जुम्लाको सिंजा, लाहर्जा, कनकासुन्दरी गाउँपालिकादेखि जहान, बच्चा पाल्नकै लागि काठमाण्डौ आएर इस्टकोट बेच्न थाल्नुभएको हो नन्दरामले । 

अल्लोको कपडाको माग बिस्तारै बढ्न थालेपछि र अझ छिमेकी राष्ट्र भारतका नरेन्द्र मोदीको लोकप्रियतासँगै मोदी कोटको पनि चर्चा चुलिएपछि इस्टकोटले बजारमा राम्रो कमाइ गरिरहेको छ । 

नेपालीहरूको रोजाइमा परेको इस्टकोट पछि पश्चिमाहरूबाट नक्कल भएर वेस्टकोट अनि जवाहरलाल नेहरुपछि ज्वारीकोट हुँदै अहिले मोदी कोट भएको छ । 

कांग्रेसको महाधिवेशनमा राम्रै बिक्री भएपछि हौसिएको बताउँदै उहाँले भन्नुभयो, ‘कांग्रेस महाधिवेशनमा दश–बाह्र वटा बेचेको थिएँ । अहिले पनि पाँच वटा बेचेँ ।’ 

पहिले–पहिले विदेश जाने गरे पनि कोरोनाका कारण लकडाउन भएर विदेश पठाउन नसकिएकोले व्यापार त्यति हुन नसकेको विश्वकर्माले बताउनुभयो । 

कपडा जुम्लामै हाते तानमा बनाउने र त्यसपछि इस्टकोट भने बौद्धमा ल्याएर सिउने गरिएको बताउँदै नन्दराम ठट्यौली पारामा भन्नुहुन्छ, ‘जुम्लामा दुब्ला मान्छे हुन्छन् । मोटा मान्छे हुन्नन् । काठमाण्डौमा मोटा–मोटा मान्छे हुन्छन्, त्यही भएर यहाँ साइज–साइजका सिएर ल्याउनुपर्छ भनेर मोदीले भनेका छन् ।’

एउटा इस्टकोट भन्नलाई १५ सय भने पनि एक हजारसम्म बेच्ने गरेको उहाँले बताउनुभयो । ‘मिला–मिला भाइ भन्छन् अनि मिलाएपछि हजारभन्दा कममा चाहिँ बेच्ने गरेको छैन । तर त्यसमा पनि त्यति धेरै फाइदा छैन’, उहाँले इस्टकोट मिलाउँदै भन्नुभयो, ‘हजारभन्दा कममा बेचेर कसरी बालबच्चा पाल्नु ।’

यो उमेरमा अब विदेश जान पनि नसकिने बताउँदै नन्दराम भन्नुहुन्छ, ‘भर्खरका त विदेश गएर पनि कमाउँछन् । थोरैमा बेचेर हामीले कसरी ज्यान पाल्नु अनि बालबच्चा पाल्नु ।’

अहिले कपडाको भन्दा पनि ज्याला महँगो भएका कारण इस्टकोट महँगो पर्न गएको भनाइ छ उहाँको । एउटा इस्टकोट हजारमा बेच्दा तीन/चार सय फाइदा हुने पनि उहाँले बताउनुभयो । 

गर्मीमा इस्टकोट धेरै बिक्री नहुने हुँदा पछिल्लो पटक चर्चामा रहेको मार्सी चामल, स्याउ तथा ओखर खेती गर्न उहाँ जुम्ला जाने गर्नुहुन्छ । 

दुई छोरा तथा एक छोरीका साथ उहाँ बौद्धमा बस्नुहुन्छ । छोराछोरी सबै समता निकेतनमा पढ्छन् । ‘यस्तरी कमाइ खाइकन ठूलो बोर्डिङमा पढाउन सकिन्न । समतामा नपढाएर के गर्नु’, नन्दरामले गुनासो गर्नुभयो ।

उहाँका अनुसार अहिले अल्लोको कोटको कपडाको तीन हजार, ३५ सय पर्छ । र कपडाले नै उहाँको खर्च चलेको छ । ‘कोटको कपडा भन्दा इस्टकोट अलि धेरै बिक्छ’, उहाँ भन्नुहुन्छ, ‘इस्टकोटको व्यापार नभएको बेला अरू कुनै व्यापार/व्यवसाय छैन ।’ 

लकडाउनको समय भने उहाँको गाउँमै बित्यो । गाउँमा लकडाउन नभएका कारण खेतीपाती पनि धेरै भए । ‘त्यस बेला मकै धान, सिमी लगाइयो । जुम्लामा पनि सबै खेती हुन्छ’, उहाँले भन्नुभयो । 

उहाँको अहिलेसम्म धेरै व्यापार भएको भनेको एकै दिनमा ६/७ हजार रुपैयाँ हो । थोरैमा चार/पाँच सय रुपैयाँको व्यापार हुन्छ । ‘कहिलेकाहीँ भने नभएर भोकै पनि परिन्छ’, उहाँ भन्नुहुन्छ, ‘गरिबको जिन्दगी हालत थाहै छ त ।’ 

कांग्रेसको महाधिवेशनमा चार दिनमा उहाँका ३०/३५ हजारको इस्टकोट बिकेका थिए । त्यस कारण पनि उहाँले माओवादीको महाधिवेशन ताक्नुभएको थियो इस्टकोट बेच्न । ‘यहाँ पनि त्यही भएर आएको तर धेरै बिकेन । भित्रै जान पनि दिएनन् के बिक्नु’, नन्दरामकाे गुनासो थियो ।

महाधिवेशन राजनीतिक पार्टीका लागि नीति निर्माण र भावी दिनका लागि एउटा कार्यदिशा त छँदैछ तर महाधिवेशन यस्ता साना, खुद्रा व्यापारीका लागि व्यापार गर्ने एउटा अवसर पनि बनेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया