नवलपुरमा बन्द पूर्व-पश्चिम राजमार्ग अझै सञ्चालनमा आउन सकेन

 पुस १५, २०७८ बिहिबार ११:३२:५२ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको कावासोतीमा हिजाे बिहानदेखि बन्द राजमार्ग अझै सञ्चालमा आउन सकेको छैन।

वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा बुधवार बिहानदेखि बन्द भएको पूर्व-पश्चिम राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा कावासोतीको खरकट्टा जङ्गलमा बनाइएको नयाँ डाइभर्सन वर्षाका कारण  भत्किएपछि राजमार्ग बन्द भएको हो । बन्द भएको राजमार्ग ३०  घण्टा बितिसक्दा समेत मर्मत हुन सकेको छैन।

हिलोका कारण गाडी फसेपछि झनै समस्या भएको छ । बन्द सडक खुलाउन डाइभर्सन मर्मतको काम भइरहे पनि वर्षाले माटो भिजेर हिलो भएकाे हुँदा निकै समस्या भइरहेको जिल्ला प्रहरी नवलपरासीका प्रहरी निरीक्षक सागर पन्तले बताउनुभयो ।

नवलपुर क्षेत्रमा आज बिहानबाट वर्षा रोकिएकाले अब मर्मत गरेर छिट्टै सञ्चालनमा ल्याइने उहाँको भनाइ छ । फेरि वर्षा भएमा भने गाडी सञ्चालनमा आउन अझै समय लाग्ने उहाँले बताउनुभयो ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ – बुटवल सडक खण्डमा सडक विस्तारको काम चलिरहेकाले वर्षा हुँदा यहाँ सडक बन्द हुने गरेकाे छ। धेरै ठाउँमा डाइभर्सन निर्माण हुँदा वर्षा हुनासाथ डाइभर्सन भत्किने, बिग्रने गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।

कावासोतीमा सडक बन्द भएपछि साना गाडी तथा बसहरु कावासोतीदेखि दक्षिणतर्फ पिठौली हुँदै र उत्तरतर्फ रिठ्ठेपानी हुँदै आवतजावत गरिरहेका छन् । ठूला तथा मालवाहक गाडी सडकमै रोकिएका छन्। अहिले पनि कावासोती र प्रगतिनगर क्षेत्रमा गाडीको लामो लाइन लागेको छ ।

राजमार्ग विस्तारको क्रममा बनाइएका डाइभर्सनका कारणले वर्षाको समयमा कयौँ दिनसम्म नवलपुरमा रहेकाे पूर्व-पश्चिम राजमार्ग बन्द भएको थियो ।

विभिन्न ठाउँमा बनाइएका डाइभर्सनमा सामान्य पानी पर्ने बित्तिकै क्षति पुग्ने, हिलो हुने र गाडी वारपार हुन नसक्दा मुख्य राजमार्ग नै घण्टौँ बन्द हुने गरेको छ ।

कम जनशक्ति परिचालन भएका कारण कल्भर्ट तथा पुल निर्माणकाे काम समयमा सम्पन्न हुन नसकेकाे स्थानीयकाे गुनासाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया