गुफाडाँडा जलवायु सम्मेलन : सार्वजनिक छैन खर्च विवरण, अपारदर्शिताको पराकाष्ठा

 पुस १५, २०७८ बिहिबार १७:३०:२५ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – आउँदो पुस १८ गते सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ गुफाडाँडामा तेस्रो जलवायु दिवस मनाइँदै छ । वि.सं. २०७५ सालमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा भएको जलवायु सम्मेलनको निरन्तरता स्वरूप जलवायु दिवस मनाइँदै आएको हो ।

जिल्ला समन्वय समितिले पहिलो जलवायु सम्मेलनको आर्थिक हिसाब अझै सार्वजनिक गरेको छैन । त्यतिबेला पहिलो पटक जलवायु सम्मेलन हुन लागेकाले जिल्लामा क्रियाशील धेरैजसो गैरसरकारी सङ्घ–संस्थाले खुलेर आर्थिक सहयोग गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको त्यो सम्मेलनमा देशभरका जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखको उपस्थिति रहेको थियो । उनीहरूले पनि प्रति–जिल्ला १० हजार रुपैयाँका दरले शुल्क बुझाएका थिए ।

जिल्लामा सञ्चालित क्रसर उद्योगले समेत त्यो सम्मेलनमा ठूलै रकम सहयोग गरेका थिए । त्यसबाहेक जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकको आफ्नो स्रोत सहित जिल्लाका धेरैजसो पालिकाले समेत त्यो सम्मेलनका लागि आर्थिक सहयोग गरेका थिए । त्यो सम्मेलनपछि पनि विभिन्न स्रोतबाट रकम सङ्कलन गरी दुई पटक जलवायु दिवस मनाइसकेको छ । तेस्रो जलवायु दिवसको समेत तयारी अन्तिम चरणमा पुगिसकेको छ ।

बेहिसाब जलवायु दिवस

यद्यपि आजसम्म जिसस सिन्धुपाल्चोकले त्यो सम्मेलनसहित दुई वटा जलवायु दिवसमा भएको आम्दानी खर्चको विवरण सार्वजनिक गरेको छैन । तीन वर्षपछि जिससले राखेको पत्रकार सम्मेलनमा त्यसबारे कुरा उठाउँदा आफूहरूले पहिले नै विवरण सार्वजनिक गरेको भन्दै जिसस प्रमुख कृष्णगोपाल तामाङ पन्छिनुभयो । तामाङले भन्नुभयो, ‘हामीले जलवायु सम्मेलन सकिएको १५ दिनमा अरुण नेपाललाई प्रमुख अतिथि बनाएर खर्च विवरण पेस गरिसकेका छौँ ।’ तर पत्रकारहरूले त्यो बैठकको माइन्युटसहित खर्च विवरण माग गर्दा उहाँले उपलब्ध गराउन सक्नुभएन । 

बेरुजु बाँकी छ : सकुन्तला माझी

त्यो जलवायु सम्मेलनको आर्थिक विभागको प्रमुख हुनुहुन्थ्यो जिसस सदस्य सकुन्तला माझी । पत्रकार सम्मेलनमा जिसस प्रमुखसहित उपप्रमुख बालकुमारी सापकोटा र माझीसमेत रहनुभएको थियो । प्रमुख तामाङले आफूहरूले कुनै रकम नलिइकन दातामार्फत नै खर्च गराएको बताउनुभयो । खर्च जसले गरे पनि हिसाब त आयोजकसँग हुनुपर्छ नि भनेर पत्रकारहले प्रश्न गर्दा उहाँले जवाफ दिन सक्नुभएन ।

सञ्चार क्षेत्रको बारेमा भएको खर्चको विषयमा भएको समीक्षामा भने उनीहरूबीच फरक–फरक तथ्य रहेको पाइयो । प्रमुख तामाङले चार लाख रुपैयाँ खर्च गरिएको बताउनुभयो । तामाङको भनाइलाई काट्दै उपप्रमुख सापकोटाले भने ६ लाख रुपैयाँ खर्च भएको बताउनुभयो । त्यो कुरालाई पनि काट्दै आर्थिक विभाग प्रमुख माझीले नौ लाख रुपैयाँ खर्च भएको बताउनुभयो । ‘हामीले युवराज पुरीमार्फत जिल्लाका पत्रकारका लागि पाँच लाख र काठमाण्डौबाट आउने पत्रकारका लागि माधव नेपालमार्फत चार लाख रुपैयाँ खर्च गरेका छौँ’, माझीले भन्नुभयो, ‘त्यो रकम अझै बेरुजु रहेको छ ।’

त्यो रकमबाट तीन लाख रुपैयाँ जिल्लाका सञ्चार गृहहरूलाई विज्ञापनबापत खर्च भएको तत्कालीन प्रचार विभाग प्रमुख युवराज पुरीले बताउनुभयो । ‘सीआईएनमा प्रत्यक्ष प्रसारण गरेको दुई लाख रुपैयाँको भने बिल नआएको भएर बेरुजु बसेको हो’, पुरीले भन्नुभयो । यसबाहेक अन्य खर्चको समेत आयोजकसँग प्रष्ट हिसाब छैन ।

अहिले पनि फजुल कार्यक्रम

जलवायु र गुफाडाँडाको नाम भजाउन पल्किएको जिसस सिन्धुपाल्चोकले यस वर्ष पनि पुस १८ र १९ गते जलवायु दिवस मनाउँदै छ । त्यो कार्यक्रममा काठमाण्डौबाट साइकल यात्रा, विद्यावारिधि गर्ने सिन्धुपाल्चोकवासीलाई सम्मान र गुफाडाँडाबाट रेस्लिङ कार्यक्रमसमेत राखिएको छ । रेस्लिङ कार्यक्रमले जलवायुको प्रभावको विषयमा खासै अर्थ नराख्ने भएकाले त्यसको सट्टामा साहित्यिक कार्यक्रम वा त्यस्तै सिर्जनात्मक कार्यक्रम राख्दा उपयुक्त हुने सुझाव दिँदा प्रमुख तामाङ अरूको कुरा सुन्न तयार नभएको पाइयो ।  

त्यस दिन मुख्य कार्यक्रममा केक समेत काट्ने तामाङको योजना छ । तात्त्विक अर्थ दिने कार्यक्रमहरू नराखी आफ्नो विशेष स्वार्थ पूरा गर्ने उद्देश्यले फजुल कार्यक्रम गरेर तेस्रो जलवायु दिवस मनाइन लागेको प्रष्ट हुन्छ । 

जिससको पाँच लाख बजेटमा खेलकुद क्षेत्रको पाँच लाख गरी १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । दोस्रो दिन मेलम्चीमा हुने सम्मानित व्यक्ति र जिल्लाका सबै पालिका प्रमुखको बीचमा जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणको बारेमा हुने अन्तक्र्रिया कार्यक्रमको खर्च मेलम्ची नगरपालिकाले बेहोर्ने तामाङले बताउनुभयो । विनियोजित बजेटबाहेक गैरसरकारी संस्था, क्रसर उद्योगहरूले गर्ने सहयोगको भने उहाँले उल्लेख नै गर्न चाहनुभएन । यस्तो धेरै रकम हिनामिना हुने सम्भावना रहेको छ ।

म त ज्याद्रो छु : प्रमुख तामाङ

सञ्चारकर्मीले दिएको सुझावको कुनै वास्ता नगरि प्रमुख तामाङ आफ्नौ तालमा रहनुभयोे । आर्थिक पारदर्शिताका कुरा, कार्यक्रमका उपादेयताका कुरा, अनावश्यक कार्यक्रम हटाइ सिर्जनात्मक कार्यक्रमको प्रस्तावमा कुनै वास्ता नगरि बरु आफू ज्यादै ज्याद्रो मान्छे भएकाले कसैको कुरा नसुनी एकलौटी ढङ्गले अगाडि बढ्ने उहाँले बताउनुभयो । ‘म ज्यादै ज्याद्रो मान्छे छु’, तामाङले भन्नुभयो, ‘तपाईँहरू जेसुकै भन्नुस्, म मैले चाहेका काम मात्रै गर्छु ।’ 

अन्तिम अपडेट: बैशाख ७, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया