नवलपरासीमा राजमार्ग विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा नेटवर्कमा समस्या

 पुस १६, २०७८ शुक्रबार ८:१२:५३ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको समस्या हुन थालेको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा नारायणगढ – बुटवल सडक विस्तारका क्रममा पटक-पटक अप्टिकल फाइबर काटिँदा नेटवर्कको समस्या भएको हो। 

हिजाे अरुणखोला क्षेत्रमा बाटो विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा दिनभरजस्ताे नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या भएको थियो । यो समस्या नवलपुरमा अहिले पटक पटक हुन थालेको छ । मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, नेट नचल्ने  गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन् । नेपाल टेलिकमको मोबाइल र ल्याण्ड फोन दुवैमा समस्या हुने गरेको छ ।

नवलपरासीको गैँडाकोट थुम्सीदेखि दाउन्नेसम्मका सेवाग्राही समस्यामा पर्दै आएका छन् । गैँडाकोट बजार क्षेत्रमा भने भरतपुरबाट सेवा प्रवाह हुने भएकाले समस्या नभएको नेपाल टेलिकम कावासोती शाखाका कार्यालय प्रमुख चन्दन कुमार झाले बताउनुभयो । 

गैँडाकोटको बजार क्षेत्र बाहेक अन्य ठाउँमा भने बाटो विस्तारको क्रममा अप्टिकल फाइबर काटिँदा समस्या भएको उहाँले बताउनुभयो । प्राविधिकहरूले तार काटिएका ठाउँमा मर्मत गरी सेवा प्रदान गर्न खटिएको भए पनि बाटो विस्तारका क्रममा पटक पटक तार काटिने गरेकाे उहाँले बताउनुभयाे। बाटो विस्तारका क्रममा अप्टिकल फाइबर भएको क्षेत्रको पहिचान गरी सावधानी नअपनाउँदा समेत समस्या भएको छ । 

धेरै ठाउँमा काटिएका तारहरू मर्मत गरी सेवा प्रदान गरिएकाले कुनै पनि समय सेवा बन्द हुन सक्ने, सेवाको गुणस्तर कम हुन सक्ने झाले बताउनुभयो । ‘पटक पटक तार काटिएको छ, जसोतसो मर्मत गरेर सेवा प्रदान गरिरहेका छौँ  । तारमा धेरै क्षति भएकाले सेवा कुनै पनि समय बन्द हुने, कम गुणस्तरको हुने, बोलेको नबुझिने हुने समस्या आउन सक्छ ।'उहाँले भन्नुभयाे ।

यसअघि बिछ्याइएका नेपाल टेलिकमका तार पुरानो बाटो नजिकै रहेको र अहिले विस्तार गर्दा ती तारहरू झण्डै बाटोको बीच भागमा पर्ने अवस्था आएकाे छ । यही अवस्थामा सेवा प्रदान गर्न समस्या भएकाे तर नयाँ अप्टिकल फाइबरसहित व्यवस्थापनका लागि केन्द्रबाट तत्काल कुनै योजना नरहेको झाले बताउनु भयाे ।

बाटो विस्तारका क्रममा तार काटिँदा  नेपाल टेलिकमका सेवाग्राहीले  लामो समयसम्म समस्या भोग्नुपरेकाे छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया