परदेशबाट श्रीमानको अन्तिम फोन : ‘बाँचे भेटौँला, नत्र जिन्दगी यस्तै रहेछ सोच्नु है !’

 पुस १६, २०७८ शुक्रबार १६:२:२८
unn.prixa.net

मनिषा कार्की

बिहान उपचारका लागि अस्पताल भर्ना भएँ भनेर फोन गरेका श्रीमानको २४ घण्टा नबित्दै ज्यान गएको खबर सुन्दा बुटवलकी पार्वती पौडेल छाँगाबाट खसेझैँ हुनुभयो ।

रोजगारीको लागि किर्गिस्तानमा रहनुभएका पार्वतीका श्रीमान् खेमप्रसाद पौडेललाई दुईतीन दिनदेखि सामान्य ज्वरो र हल्का रुघाखोकी लागेको थियो । अचानक ज्वरो बढ्यो । रगत वान्ता गर्नुभयो । त्यसपछि उहाँ कार्यरत कम्पनीले नै उपचारको लागि अस्पताल भर्ना गर्यो ।

२०७७ को बैशाख १० गतेको बिहान । अस्पताल भर्ना हुँदै गर्दा खेमप्रसादले पार्वतीलाई फोन गर्दै भन्नुभयो, ‘मलाई उपचारको लागि ठूलो अस्पतालमा लगिएको छ हेर् केटी, निको हुन्छ कि हुँदैन थाहा छैन, बाँचे भेटौँला, नत्र जिन्दगी यस्तै रहेछ सोच्नु ।’

सामान्य ज्वरो भएकाले चाँडै निको भएर डिस्चार्ज भइहाल्नुहुन्छ भन्ने लागेको थियो पार्वतीलाई । त्यसैमाथि भर्नाको लागि ठूलो अस्पतालमा लगिएको भनेपछि श्रीमानलाई निको हुने आशा बढेको थियो । तर अचानक मृत्युको खबर सुन्दा उहाँको होस हवास नै उड्यो ।

कोरोना महामारीले विश्व आक्रान्त थियो । सामान्य यात्रुलाई पनि हवाइ उडान बन्द भएको बेला श्रम स्वीकृति नै नलिएर वैदेशिक रोजगारीमा गएका आफ्ना श्रीमानको शव नेपाल झिकाउन सक्नुभएन पार्वतीले । अन्तिम पटक श्रीमानको अनुहार हेर्नै नपाइ उहाँको किर्गिस्तानमै सद्गत भयो । कुन रोगका कारण श्रीमानको ज्यान गयो भन्ने पनि यकिन भएन पार्वतीलाई । अस्पतालको कुनै रिपोर्ट पाउनुभएन । तर फोनमा कुरा हुँदा श्रीमानले कोरोनाको लक्षण देखिएको बताउने गरेकाले कोरोनाले नै ज्यान गयो भन्ने लाग्छ उहाँलाई । 

‘अब विदेश नजानु भन्दा पनि मान्नु भएन’

वैदेशिक रोजगारीको सिलसिलामा दश वर्ष पहिले यूएईको दुबई जानुभएको थियो खेमप्रसाद । केही वर्ष दुबईमा बिताएपछि कतार जानुभयो । कतारमा पनि काम गर्नुभयो केही वर्ष । कतारबाट फेरि उहाँ किर्गिस्तान पुग्नुभयो । पार्वतीलाई आफ्नो श्रीमान् कहिले, कुन देश गएका हुन् भन्ने मिती याद छैन । तर किर्गिस्तानमा केही वर्ष काम गरेर चार वर्ष पहिले खेमप्रसाद घर फर्किनुभएको थियो । दुःखजेलो गरेर गाउँमै केही गर्ने सोच थियो । दुई सन्तानका अभिभावक बिनिसकेका खेमप्रसाद र पार्वतीको होटेल व्यवसाय गर्ने योजना थियो । 

तर एक दिन अचानक खेमप्रसादले विदेश जाने कुरा गर्नुभयो । फेरि विदेश नजाने भनेर बस्नुभएका खेमप्रसादले पार्वतीसँग भन्नुभयो, ‘छोराछोरीको भविष्यको लागि भए पनि एक पटक फेरि विदेश जान्छु ।’

पार्वतीलाई फेरि श्रीमानले विदेश जाने कुरा गरेको चित्त त बुझेको थिएन । उहाँले सम्झाउन सम्म सम्झाउनुभयो । तर श्रीमानको जिद्दीको अगाडि उहाँको केही लागेन । पार्वतीका अनुसार खेमप्रसाद निकै सोझो हुनुहुन्थ्यो । त्यही भएर विदेश जाँदा म्यानपावर तथा एजेण्टलाई भेट्न पनि पार्वती साथमा जानुहुन्थ्यो । खेमप्रसादले फेरि विदेश जाने पक्का गरेपछि पार्वतीले नै काठमाण्डौमा रहेको एक एजेण्टको हातमा तीन लाख रुपैयाँ थमाएर किर्गिस्तान पठाउनुभएको थियो उहाँलाई ।   

श्रीमानको मृत्युबारे शंका

पार्वतीका अनुसार किर्गिस्तानमै खेमप्रसादको एक जना सावित्रा केसी नाम गरेकी नेपाली केटी साथी थिइन् । उनीसँग पार्वतीको पनि कुरा हुने गथ्र्यो । तिनै सावित्राले नेपालमा रहेका खेमप्रसादलाई भनेकी थिइन्, ‘घरमा बसेर के गर्छौ, यहाँ राम्रो काम छ, छोराछोरीको भविष्यको लागि भए पनि दुईचार वर्ष यहाँ आएर काम गर ।’ 

त्यतिबेलासम्म खेमप्रसादले पार्वतीसँग भनेका थिए ‘सावित्रा सँगै काम गर्ने चिनजानको दिदी हो, शंका नगर ।’ 

खेमप्रसाद किर्गिस्तान पुगेपछि पनि सावित्रासँग कुरा हुन्थ्यो पार्वतीको । एक दिन सावित्राले पार्वतीलाई फोन गरेर ‘ खेमप्रसाद मेरो बुढो हो’ समेत भनेकी थिइन् ।  

‘मलाई फोन गरेर त्यो मेरो बुढो हो, तँ अब तेरो बुढोको आश नगर भन्थी, त्यसो भन्दा म फेन्ट पनि भएँ’, पार्वती भन्नुहुन्छ, ‘यो कुरा मैले मेरो श्रीमानलाई पनि भनेँ, उहाँलाई सम्झाएको थिएँ ।’
त्यसपछि झन् पार्वतीको मनमा शंकाको पहाड चुलिएको थियो । फेरि खेमप्रसादको ज्यान गएकै दिन बिहान तिनै सावित्रीले पार्वतीलाई फोन गरेर भनेकी थिइन्, ‘भिसा सकियो होला नि तिम्रो बुढाको, अब त घर फर्कियो होला नि ।’ 

यी कुराले पार्वतीलाई शंका लाग्छ । कतै आफ्नो श्रीमानको हत्या त भएको होइन भन्ने पनि लाग्छ । उहाँ भन्नुहुन्छ, ‘कहिलेकाहीँ त मलाई कतै त्यही केटीले मेरो श्रीमानलाई मारेकी त होइन भन्ने शंका लाग्छ ।’

श्रम स्वीकृति नगरी जाँदा न शव आयो, न राहत

वैदेशिक रोजगारीमा रहेका श्रमिकको करार अवधिभित्र ज्यान गएमा वैदेशिक रोजगार बोर्डमार्फत क्षतिपूर्तिस्वरुप सात लाख रुपैयाँ राहत रकम र बिमावापतको १० देखि १४ लाख रुपैयाँसम्म पाइन्छ । 

यस्तै महामारी होस् या अरु समयमा बोर्डले नै विदेशमा ज्यान गुमाएका श्रमिकको शव नेपाल झिकाएर घरसम्म पुर्याइदिन्छ । तर यो सुविधा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर गएका श्रमिकले मात्र पाउँछन् । 

पार्वतीलाई पनि आफ्ना श्रीमानको ज्यान त गइसक्यो केही राहत पाइन्छ कि भन्ने आशा थियो । उहाँले यो कुरा गाउँमा सुन्नुभएको थियो । त्यही आशा बोकेर उहाँ आफूसँग भएका श्रीमानका कागजपत्र बोकेर सुरक्षित आप्रवासन परियोजना सामी सूचना केन्द्रमा पुग्नुभयो । त्यहाँ पुगेर बुझ्दा बल्ल उहाँलाई थाहा भयो, खेमप्रसाद त वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिएरै जानुभएको रहेछ ।  

त्यसपछि, आफ्नो श्रीमानको कमाइमा आश्रित पार्वती कसरी घरखर्च चलाउने भनेर झन् चिन्तित हुनुभयो । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जानुभएको भए क्षतिपूर्ति पाइन्थ्यो कि भनेर उहाँको मनमा खट्कीरहन्छ ।

मनोपरामर्शले बढाएको साहस

श्रीमानले विदेशबाट कमाएर पठाएको पैसाले यता घरखर्च चलाउन, छोराछोरी पढाउन, आवश्यकता अनुसार खर्च गर्न सजिलै पुगेको थियो पार्वतीलाई । परिवारमा खुसी थियो । घरमा उज्यालो थियो । तर श्रीमानको मृत्युको खबरले पार्वतीको जीवनमा अँध्यारो छाइदियो । 

आफ्नो श्रीमानको निधनपछि बाँच्ने आशा नै मार्नुभएकी पार्वतीको भेट सामी परियोजनाको मनोसामाजिक परामर्शकर्तासँग भयो । मनोपरामर्शकर्ताको निरन्तरको परामर्शपछि अहिले पार्वती तंग्रिनु भएको छ । आप्रवासन परियोजनाको पहलमा उहाँका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

पार्वती अहिले बुटवल बजारमा किराना तथा फलफूलको पसल चलाउनुहुन्छ । केही माइतीको सहयोग  र केही विभिन्न संस्थाको सहयोग गरेर उहाँले ३ लाख रुपैयाँको लगानीमा व्यापार थाल्नुभएको हो । अहिले उहाँ आफ्ना छोरछोरीको हेरचाह र व्यवसायमै व्यस्त हुनुहुन्छ । यसरी उहाँले जीवनको नयाँ अध्यायको सुरुवात गर्नुभएको छ । उहाँ वैदेशिक रोजगारीमा जानेहरुलाई श्रम लिएरै जान सल्लाह पनि दिनुहुन्छ ।

(मनिषा कार्की सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत रुपन्देहीमा मनोपरामर्शकर्ताको रूपमा कार्यरत हुनुहुन्छ । यो परियोजना नेपाल सरकार र स्वीस सरकारबीचको दुईपक्षीय परियोजना हो ।)

अन्तिम अपडेट: बैशाख २९, २०७९

तपाईको प्रतिक्रिया