बाघको आक्रमणबाट नवलपुरमा एक जनाको ज्यान गयाे

 पुस १६, २०७८ शुक्रबार १६:३७:८ | दयाराम आचार्य
unn.prixa.net

फाइल फाेटाे

नवलपरासी – नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका १२ मा आज शुक्रवार बाघको आक्रमणबाट एक महिलाको ज्यान गएकाे छ । बाघको आक्रमणबाट मध्यविन्दु १२ अरुणखोलाकाी ३९ वर्षीया बरिसा सारुको ज्यान गएकाे हाे ।  

आज बिहान नजिकैकाे वनमा साग टिप्न जानुभएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सागर पन्तले बताउनुभयो । सारुसँगै गएका अन्य स्थानीयवासीले बाघले आक्रमण गरेको जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थल अरुणखोला–दुम्कीवास सडक खण्डभन्दा झन्डै पाँच सय मिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ । 

नवलपुरमा यसअघि एक महिना अगाडि मङ्सिर दोस्रो हप्ता बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका १ काे सामुदायिक वनका वन रक्षकको ज्यान गएकाे थियाे ।  

यस वन आसपासमा बाघको आतङ्क भएको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिन अगाडि मात्रै एक सूचनामार्फत वन क्षेत्रमा नजान स्थानीयवासीलाई अनुरोध गरेको थियो । 

यस क्षेत्रमा देखिएकाे बाघ नियन्त्रण गरी निकुञ्ज क्षेत्रमा लैजान पहल गर्नुपर्ने स्थानीयवासीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया