बच्चादेखि वृद्धसम्मकाे टहलिने ठाउँ बन्याे, नारायणी नदी किनार (तस्बिरसहित)

 पुस १८, २०७८ आइतबार १०:४८:३२ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनको नारायणगढ बजार नजिकै रहेको नारायणी नदी किनारमा हरेक दिन चहलपहल बढ्ने गरेको छ ।

तनाव र थकान मेटाउन, केटाकेटी भुलाउन, पारिलो घाम ताप्न र स्वच्छ हावा लिन चाहनेहरुको उपयुक्त गन्तव्यस्थल बनेको छ, नारायणी नदी किनार । नदीमा चलाइने डुङ्गा र सेल्फी प्वाइन्टले सबैलाई आकर्षित गरेको छ ।

बजार नजिकै रहेको नदी किनारको खुला चौरमा दिउँसोको समयमा पारिलो घाम ताप्न र साँझमा टहलिनेहरुको निकै भीड लाग्छ ।

नदी किनारमा बिहानदेखि साँझसम्म नै चहलपहल देखिन्छ । बिहानपख मर्निङ वाक र योगा गर्नेहरुको बाक्लो उपस्थिति देखिन्छ  ।

दिउँसो युवा युवतीहरुको बाक्लो भीड लाग्छ । साँझपख भने हरेक उमेर समूहका व्यक्तिहरु नदी किनारमा पुग्ने गरेका हुन्छन् ।

नारायणी नदीमा सुधारिएका डुङ्गामा सयर गर्नेहरुको भीड पनि बढ्दै गएको पाइन्छ । नदीमा डुङ्गा सफारी भइरहँदा किनारमा बसेर हेर्ने भीड उत्तिकै हुन्छ ।

किनारमा मकै पोल्ने, चटपट, पानी पुरी र मम चाउमिन जस्ता फाष्टफुड बेच्नेहरुका ठेलाहरु लहरै हुन्छन् ।  नदी किनारमा सेल्फी लिनेहरु रमाइरहेका हुन्छन्।

नदी किनारमा अग्लो बुद्ध प्रतिमा छ । बस्ने सिमेन्टका बेन्चहरु निर्माण भएका छन् । लगभग डेढ किलोमिटरमा लहरै सोलार बत्ती जडान भएका कारण साँझको समयमा  नदी किनारमा उज्यालो र सुन्दरतासँगै सुरक्षा पनि थपिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया