दुई सय ३६ केन्द्रीय कमिटी सदस्य चयन गर्दै सकियाे माओवादीकाे महाधिवेशन

 पुष १८, २०७८ आइतबार २०:३६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दुई सय ३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सकिएकाे छ । गएकाे पुस ११ गतेदेखि सुरु भएकाे माओवादी केन्द्रको आठौँ महाधिवेशन आज आइतवार सकिएकाे हाे । 

महाधिवेशनले दई सय ३६ जना केन्द्रीय सदस्य चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । खुलाबाट एक सय ११ जना र समावेशीबाट एक सय २५ जना गरी दुई सय ३६ जना केन्द्रीय सदस्यको नाम महाधिवेशनको बन्द सत्रले सर्वसम्मत रूपले पारित गरेको उहाँले बताउनुभयो । बाँकी ६३ जना केन्द्रीय सदस्य र पदाधिकारीबारे निर्णय भने भाेलि साेमवार बस्ने नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकबाट टुङ्ग्याइने उहाँले बताउनुभयो ।

त्यसैगरी महाधिवेशनले लेखा आयोग प्रमुखमा पेशल खतिवडा, अनुशासन आयोग प्रमुखमा टंक राई र निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठलाई निर्वाचित गरेको नेता महराले जानकारी दिनुभयो ।

यसैबीच नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले सबैभन्दा अग्रगामी, समावेशी र लोकतान्त्रिक तरिकाले कन्द्रीय कमिटी चयन गरेको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीप्रति कसैकाे पनि विमति नरहेको दाबीसमेत गरेका छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित रामप्रसाद सापकोटा दिपशिखाले अन्य राजनीतिक दलभन्दा पनि बढी लोकतान्त्रिक ढङ्गले केन्द्रीय कमिटी चयन गरिएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलितसहितको केन्द्रीय कमिटी बनाएर आफ्नो पार्टीको महाधिवेशन ऐतिहासिक रूपमा सफल भएको दाबीसमेत गर्नुभयो ।

महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीप्रति कसैको पनि विमति नरहेको अर्का नवनिर्वाचित केन्द्रीय सदस्य अनिल शर्माले बताउनुभयो । उहाँले सर्वसम्मत रूपमा केन्द्रीय कमिटी चयन हुनु भनेको आफूहरूका लागि गौरवको विषय भएको र यसले देशको राष्ट्रिय राजनीतिलाई नेतृत्व गरेर अघि बढाउने बताउनुभयो ।

माओवादी केन्द्रको पदाधिकारी भने केन्द्रीय समितिले चयन गर्नेछ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया