जाडोमा त्रिपालमुनि रात काट्दै हुप्सेकोटका पहिरो पीडित

 पुस २१, २०७८ बुधबार १२:५८:१२ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – बर्दघाट सुस्तापूर्व, नवलपुरको हुप्सेकोट गाउँपालिका–५ का पहिरो पीडित यो जाडोमा त्रिपाल मुनि बसेर रात काट्न बाध्य भएका छन् । गएको साउनमा बाखखोर गाउँ पहिरोको जोखिममा परेपछि प्रहरीले उद्धार गरि हुप्सेकोट बेलुवाको विद्यालयमा राखिएको थियो । 

करिब तीन महिना विद्यालयमा बसेपछि पीडित १८ घर परिवारको अहिले भने बिचल्ली भएको छ । विद्यालयमा पढाइ सुरु भएपछि बेलुवाको खोला छेउको बसपार्क निर्माण स्थलमा त्रिपालमा बसेको पनि तीन महिना पुग्न थालेको छ । 

साउन महिनाको पहिलो दिन पहिरोले बसेको गाउँ नै चिरा पर्न थालेपछि प्रहरीले उनीहरूको उद्धार गरेको थियो । पहिरोबाट विस्थापित तीन परिवार नजिकैको विद्यालयमा छन् भने दुई परिवार भने वडा नम्बर १ कार्यालय परिसरमा रहेका छन् । १३ घर परिवारका लागि टहरो बनाइएको छ । 

पहिरो पीडित परिवारको पीडा खपीनसक्नु रहेको छ । पुसको चिसो सिरेटो र  शीतलहर पीडित परिवारले त्रिपालमुनि बसेर झेलिरहेका छन् । १८ घर परिवारका १ सय २८ जना लामो समयसम्म बसोबासको उचित व्यवस्थापन नहुँदा समस्यामा परेका छन् ।

 

६ रोपनी जग्गा र घर भएका तमबहादुर रानाको सबै जग्गा जमिन पहिराेकाे जाेखिममा परेपछि अहिले त्रिपालमा बास हुन पुगेको छ ।  उहाँको परिवारका ८ जना सदस्य अहिले सानो त्रिपाल भित्र  अटाउन बाध्य छन् । तमबहादुरका सामु त्रिपाल भन्दा अर्को विकल्प छैन् । तर चिसो मौसममा त्रिपालमा रात काट्न भने धेरै नै समस्या रहेको उहाँकाे दु:खेसाे छ । 

‘घर फर्किऔँ भत्किएको छ, जोत्ने जमिनमा धजा फाटेको छ, यहाँ रात काट्न पनि गाह्रो छ’ तम बहादुरले आँखामा आँसु लुकाउँदै भन्नुभयो, ‘राति सुत्दा आँखा ,अनुहारमा शीत चुहिन्छ, तर बाध्यता यस्तो छ, हामीसँग विकल्प छैन।'

तम बहादुर जस्तै मीनबहादुर साेमैकाे समस्या पनि उस्तै छ ।  बालबच्चा सहित एउटै त्रिपालमा रात काट्नुपर्ने अवस्था रहेको सोमैले बताउनुभयो । चिसोका कारण साना बालबालिका बिरामी पर्लान कि भन्ने चिन्ता लागिरहन्छ उहाँलाई । 

‘चिसो छ, बालबच्चा छन्, बिरामी पर्लान् कि भन्ने पीर छ । एउटै त्रिपाल भित्र बस्नुपरेको छ’, मलिन अनुहार लाएर सोमैले भन्नुभयो ‘कहिले टेण्टको बासबाट मुक्ति पाइएला खै ?’

पहिरोबाट विस्थापितहरु आफ्ना सबै जायजेथा छोडेर हिँड्नुपर्दा दैनिक छाक टार्ने अर्को समस्या परेको छ । उनीहरु विभिन्न समयमा प्राप्त राहतका भरमा चुलो बालिरहेका छन् ।

‘काम गरौँ खेत छैन्, गाउँ छाडेपछि गाई, बाख्रा यसै बेचेर हिड्यौँ, यहाँ अरु काम पाइँदैन, दैनिक गुजारा चलाउन समेत मुस्किल भएको छ’, प्रेमबहादुर बाह्रघरेले भन्नुभयो, ‘अहिले यहाँ एउटा कुखुरा पाल्ने ठाउँ छैन, के गरी गुजारा चलाउनु चिन्ता छ ।'

उमेरले ३२ पुग्नुभएको उहाँले गाउँमा केही गर्छु भनेर बाख्रा पालन सुरु गर्नुभएको  थियो । पहिरोले गाउँ नै छोड्नु परेपछि पालेका करिब ५० वटा बाख्रा सस्तोमा बेचर हिँडेको उहाँले बताउनुभयो । पहिरो पीडित परिवारलाई जुकेपानीको शिवालय सामुदायिक वनसंग जोडिएको सार्वजनिक जग्गामा टिनको अस्थायी टहरा निर्माण गरेर व्यवस्थापन गर्ने काम सुरु गरिएको छ । 

पहिरो पीडितहरुको व्यवस्थापनका लागि टहरो निर्माणको काम चलिरहेको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले बताउनुभयो । जाडो मौसम सुरु हुनुपूर्व नै सार्ने भनिएको भए पनि विविध कारणले ढिला भएको र अब चाँडै त्रिपालबाट टहरोमा सारिने उहाँले बताउनुभयो । यस्तै गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले गाउँपालिका पहिरोबाट विस्थापितको व्यवस्थापनमा सक्दो लागेको भए पनि गाउँपालिकाले के गर्ने र माथिल्लो सरकारले के गर्ने भन्ने स्पष्ट नभएको बताउनुभयो ।

‘पहिलाे कुरा त विपदमा परेर विस्थापित हुनेको हेर्ने निकाय कुन रहेछ प्रष्ट हुनुपर्यो, हामीले मात्रै बल गरेका छाैँ, गाउँपालिकाले हेरेन रे, यो भन्दा हेर्ने ठाउँ छैन्’ अध्यक्ष पाण्डेले भन्नुभयाे, ‘गाउँपालिकाका योजना डाइभर्ट गरेर, विपद् कोषमा ल्याएर व्यवस्थापन गरिरहेका छौँ ।’

गाउँपालिका र केन्द्र सरकार मध्ये कसले विस्थापितको स्थायी व्यवस्थापन गर्ने भन्ने अन्यौलमा ६ महिना बितेको छ । तर, पनि पुसको जाडो मौसममा त्रिपाल भित्र शीत र चिसो सिरेटोसँगै लुकामारी गर्दै रात काटेका पीडितहरुलाई फागुन चैतको हावाहुरी अगाडि टिनको टहरोमा सरिन्छ कि भन्ने आश भने बाँकी नै छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया