जहाँ बुख्याचाले बाली जोगाउँछन्

 पुस २२, २०७८ बिहिबार १५:५९:३८ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – खेतभरि पहेँलपुर भएर तोरी फुलेको छ । बारीमा तरकारी उस्तै लहलह भएका छन् । खेतबारीमा बीच भागमा मान्छेजस्तै देखिने आकृति छन् । टाउको, हात, खुट्टा छन्, बाहिरबाट कपडा लगाएको मानव आकृति छन् । झट्ट हेर्दा मानिस नै हो कि भन्नेजस्ता देखिने बुख्याचा (बालीनाली लगाएका खेतबारीका बीचमा राखिने मानिसका आकारको तर्साउने वस्तु) चुपचाप बाली जोगाउन लहरै उभिएका छन् । यो दृश्य हो कावासोती नगरपालिका ७ साँढको । जहाँ यत्रतत्र बारीमा चुपचाप बसेका बुख्याचाले वन्यजन्तुबाट बाली जोगाउने गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वनबाट आउने वन्यजन्तुले बालीनाली खाएर सखाप पारेपछि यहाँका स्थानीयवासीले बाली जोगाउन खेतबारीमा बुख्याचा राख्ने गरेका छन् । रातिको समयमा वनबाट आउने गैँडा, मृग, हरिण, बँदेललगायतका वन्यजन्तुले बालीनाली खाएर सखाप पारेपछि बाली जोगाउनकै लागि बारीमा कपडा लगाएर मान्छेजस्तो आकृति राख्नुपरेको कावासोतीका प्रेमनाथ महतोले बताउनुभयो । ‘दिउँसो त केही हुन्न, रात परेपछि वन्यजन्तु बारी–बारी चहार्छन्, लगाएको बाली जोगाउनै मुस्किल छ, रातिमा कतिनै कुर्न सकिन्छ र ? त्यसैले यस्तो मान्छेजस्तो बनाएर राखेका छौँ’, महतोले भन्नुभयो, ‘राति वन्यजन्तुले मान्छे रहेछ भनेर आँउदैन भन्ने नै हो ।’ यसरी बारीमा बुख्याचा राख्दा बालीमा कम क्षति हुने गरेको उहाँले बताउनुभयो ।

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) नवलपुरको कावासोतीसँगै गैँडाकोट,  देवचुली, मध्यविन्दु, विनयी त्रिवेणीको मध्यवर्ती क्षेत्रसँग जोडिएका बस्तीमा वन्यजन्तुले बालीनाली खाएर क्षति पुर्‍याउने गरेको छ । बालीनाली खाएर सखाप पार्ने भएपछि बाली जोगाउनकै लागि खेतबारीमा किसानले बुख्याचा राख्ने गरेका हुन् । ‘अन्य उपाय केही छैन, खेती नगरौँ पनि भएन, तर जोगाउनै मुस्किल छ’, अर्का स्थानीयवासी देवेन्द्र गुरुङले भन्नुभयो, ‘सबैले यसरी मान्छे बनाएर राख्दा वन्यजन्तु आँउदैन भने, केही वर्षदेखि मैले पनि यसरी राख्ने गरेको छु ।’

मध्यवर्ती क्षेत्रसँग जोडिएका बासिन्दालाई वन्यजन्तुले धेरै सताउने गरेको कावासोती नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नन्दकुमार गुरौले बताउनुभयो । ‘यहाँका किसानलाई मुख्य चुनौती नै बालीनाली वन्यजन्तुसँग जोगाउनु रहेको छ’, उहाँले भन्नुभयो । मध्यवर्ती क्षेत्र नजिकका बासिन्दालाई जिउदेखि बाली जोगाउने सधैँको चिन्ता हुने गरेको वडाध्यक्ष गुरौले बताउनुभयो ।

वन्यजन्तुबाट हुने मानवीय तथा बालीनालीमा हुने क्षति रोक्न वन कार्यालय र केही पालिकाले वन सिमानामा पर्खालसहितको मेस जाली लगाउने काम गर्दै आएका छन् । कावासोती नगरपालिकाले आफ्नो नगरपालिकाभित्र वन क्षेत्रसँग जोडिने वडामा झन्डै १९ किलोमिटर लम्बाइको पर्खाल बनाउने काम गरिरहेको छ । नगरपालिकाबाट यस योजनालाई मुख्य प्राथमिकता दिएर पर्खाल बनाउने काम बर्सेनि गर्दै आएको र यस वर्ष सम्पन्न गर्ने योजना रहेको कावसोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनिया थारुले बताउनुभयो ।

विभिन्न समयमा लगाउने बाली वन्यजन्तुले खाएर सखाप पार्न थालेपछि यस क्षेत्रका कतिपय किसान भने वैकल्पिक रूपमा माछा पालन गर्नतर्फ लागेका छन् । उनीहरू वन नजिकका क्षेत्रमा अन्य बाली लगाएर जोगाउनै मुस्किल भएपछि विकल्पमा माछा पालनमा लाग्न थालेका हुन् । वन्यजन्तुले पनि नखाने र राम्राे आम्दानीसमेत हुने भएपछि वन क्षेत्रसँग जोडिएका कतिपय किसानले अन्यबाली नलगाएर माछा पालन गर्ने गरेका छन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया