बदाममा दाम खोज्दै पदम

 पुस २४, २०७८ शनिबार १४:२:५५ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै – ललितपुरकाे जाउलाखेल चोकबाट करिब दश मिटर पश्चिम लागेपछि गाडामा बदाम, केराउ, चना लिएर ग्राहकको सेवामा हाजिर हुनुहुन्छ धादिङका पदम बहादुर अर्याल । उहाँले यो चोक कुरेको तीस वर्ष भयो । 

गएको तीस वर्षमा उहाँका अगाडिबाट यो चोक हुँदै कति मान्छेले चिडियाखाना हेरे, कति प्रहरीको हिरासतमा गए, कतिले छुट्नका लागि निवेदन लेखेर चौकी धाए अनि कति घर – अफिस तथा अत्यावश्यक र बरालिएर हिंडे त्यसको लेखाजोखा छैन । तर, उहाँको भने स्पष्ट हिसाब छ यहाँ बसेको वर्षको, त्यो भनेको तीन दशक । 

तर, यो तीस वर्षमा नभएको हिसाब भने उहाँको बचतको मात्र हो । ‘अहिलेसम्म कति भयो भन्ने त छैन तर, खानलाउन पुगेको छ’ अर्याल भन्नुहुन्छ, ‘जोगिएको भए हिसाब राखिन्थ्यो होला, खाइलाइमा सकिएकोले हिसाब छैन ।’ 

व्यापार नै भएन भने पनि दिनमा १५/१६ सय रुपैयाँको व्यापार हुन्छ । भएको बेलामा भने २ हजार २२ सय रुपैयाँसम्म व्यापार हुन्छ । खर्च कटाउँदा ७/८ सय रुपैयाँदेखि ५/६ सय रुपैयाँसम्म जोगिन्छ । महिनाको लगभग २२/२५ हजार रुपैयाँ कमाइ हुन्छ उहाँको । अहिले २५/३० हजार रुपैयाँ कमाउन खाडी देशमा जाने युवाका लागि यो एउटा राम्रो पाठ पनि हो । 

उहाँले बेच्न ल्याउने बदाम बोराको ७ हजार रुपैयाँ पर्छ । जुन उहाँको कोठा नजिकै धोबीघाटमा अरुले नै भुट्ने गर्छन् । एक बोरा बदाम बेच्दा उहाँलाई झण्डै ३ हजार रुपैयाँ फाइदा हुन्छ । 

बोरामा झण्डै २२/२३ पाथी बदाम हुन्छ । कहिले ३/४ दिन त कहिले ६/७ दिन पनि लाग्छ उहाँलाई एक बोरा बेच्न । शनिवार भने चिडियाखानामा धेरै मान्छे आउने हुनाले चाँडै बिक्री हुन्छ । 

उहाँको गाडामा भुटेको केराउ तथा चना पनि नभएको होइन । तर, सबैभन्दा धेरै भने बदाम नै बिक्री हुन्छ । बर्खा लागेपछि मकै तथा गर्मीमा भने फलफूल हुन्छ उहाँको गाडामा । उहाँलाई भने बदाम तथा चना, केराउ बेच्न सजिलो लाग्छ । 

‘अरुले भुटेको लिएर आयो बेच्यो’ करिब करिब मुखका आधा खाली भएका दाँत देखाएर उहाँले हाँस्दै भन्नुभयो, ‘मकै पोल्न दाउरा चाहियो, अनि फलफूल बेच्न पनि प्लेट पखाल्नु पर्यो, धुनु पर्यो, पानी चाहियो । ल्याउन, लान पनि गाडी भाडा चाहियो । काट्नु पर्यो झण्झट छ ।’ 

चना, केराउ भने लगनखेलबाट ल्याउनुहुन्छ उहाँ । लगनखेलमा चना, केराउ भुटेको नै पाइन्छ । केराउ पाथीको ५ सय रुपैयाँ पर्छ भने चना भने ६ सय रुपैयाँ । ‘चना, केराउ भने बदाम भन्दा कम जान्छ’ उहाँ भन्नुहुन्छ, ‘साह्रो भएर हो कि !’

उहाँ मकै पनि बेच्नुहुन्छ माटाको हाँडीमा भुटेर । एक थैलोको २५ रुपैयाँ पर्छ । मान्छेले बदाम खोज्न आउँदा फर्केर जानु नपरोस भनेर अनि यसो कट्याक कुटुक चिज खान मन लाग्यो भने पनि होस भनेर पनि उहाँले मकै, केराउ, चना बदाम सबै सामान राख्नु भएको हो । मकै भने उहाँ कहिले डिजेल ल्याएर स्टोभमा भुट्नुहुन्छ भने कहिले ग्यासमा । 

उहाँ खाना खाएर १२ बजेतिर गाडा लिएर हिंड्नुहुन्छ । हप्ताको सातै दिन । छुट्टी छैन उहाँको काममा । 

करिब ६ दशक उमेरका पदम बहादुर यो चोकमा बस्नु अगाडि दिल्ली जानु भएको थियो कामका लागि । दिल्लीको रोशना रोडमा उहाँले ३ सयमा काम शुरु गर्नु भएको थियो उबेला । बढेर ४ सयसम्म भयो । १५ वर्ष चौकिदारी गरेपछि उहाँ नेपाल फिर्नु भएको हो । 

भाइहरुले कति विदेश बस्नु यतै कमाइ हुन्छ भनेपछि उहाँ काठमाण्डौ आउनु भएको हो । उहाँका भाइहरु काठमाण्डौमा बदाम भुटेर बेच्थे । 

नेपाल फिरेपछि भने उहाँले यो चोक छोड्नु भएको छैन । लकडाउनको बेला नौ महिना भने उहाँले चाहेर पनि चोकको साथ दिन पाउनु भएन । त्यसो त नगर प्रहरी आउँदा पनि उहाँको साथ छुट्छ । तर छोटो समयको लागि । अनि फेरि जोडिन्छ र उही क्रम तथा गति दोहोरिन्छ । 

दश वर्ष अगाडि उहाँको गाडा नगर प्रहरीले लगेको थियो, त्यसपछि भने लगेकोे छैन । लामो समय त्यहाँ बसेको हुनाले कहिले त प्रहरीले नै पनि उहाँलाई नगर प्रहरी आउन लागेको भनेर सूचना दिन्छन् । 

त्यसबेला उहाँले ६ सय तिरेर गाडा छुटाएर ल्याउनु भएको थियो । ‘अहिले गाडा लगे भने ३ हजार लिन्छन्’ उहाँ भन्नुहुन्छ, ‘गाडाको सामानको त हिसाब–किताब नै छैन ।’

उहाँ छोरा बुहारीसँग कोठामा बस्नुहुन्छ धोबिघाटमा । एकजना नाति पनि छन् । कोठा नजिकै छ । दश मिनेटको पैदल यात्रामा पुगिन्छ । कोठा दुई वटा छन् । एउटाको भाडा १५ सय छ भने अर्कोको ४५ सय । नजोगिए पनि कोठाभाडा र खान लाउन दिएकोे छ उहाँलाई बदामले । 

बदाम किन्न आएका ग्राहकलाई तीन वटा ट्वाक देखाउँदै उहाँ भन्नुहुन्छ, सबैभन्दा सानोको ४०, अलि ठूलोको ५० अनि सबैभन्दा ठूलोको ६० रुपैयाँ ।’ 

पहिले उहाँको छोरो पनि बदाम बेच्ने काम गर्नुहुन्थ्यो । तर, लकडाउनपछि  नगरपालिकाले बस्न नदिएपछि भने अहिले दैनिक हाजिरीमा ठेकेदारको काममा जानुहुन्छ । दैनिक सुक्खा ज्याला एक हजार रुपैयाँ । खाजा, खाना छैन । काममा बिहान ६ बजे निस्कनुपर्छ । बेलुका घर आइपुग्दा पनि त्यस्तै ६/७ बज्छ । 

बुहारी पनि त्यसै बस्नुभएको छैन । सिन्के धुप बनाउने काम गर्नुहुन्छ । पहिले धुप बनाउने ठाउँ कोठा नजिकै थियो । अहिले सरेर कीर्तिपुर पुगेको छ । गाडी भाडा सहित महिनाको ८ हजार रुपैयाँ छ बुहारीको तलब । काममा भने बिहान १० बजे पुग्नुपर्छ । आठ घण्टाको ड्युटी बेलुकी ५ बजेसम्म । 

बोर्डिङमा पढ्ने नातिको बस भाडा ३ हजार रुपैयाँ तिर्नुपर्छ । टिफिन पनि आफैँले हालेर पठाउनु पर्ने पर्छ । अरु बेलामा पनि उहाँसँगै अरु बदामका गाडाहरु हुन्छन् । तर, शनिबार बिक्री राम्रो हुने कारणले भने गाडा धेरै हुन्छन् । 

उहाँ लकडाउनको बेला भने घर जानुभयो । धादिङको मैदी हो घर । खेत र बारी गरेर दुई रोपनी छ उहाँको । धान, मकै, कोदो हुन्छ खेतीमा भने । पानी नभएका कारण तरकारी लगाउन मन गरे पनि मिल्दैन । काम गर्ने मान्छे पनि छैन । 'श्रीमतीलाई बाख्रा घरधन्दा गर्दै ठीक हुन्छ', उहाँ भन्नुहुन्छ । 

लकडाउनका बेला उहाँलाई ४० हजार रुपैयाँ ऋण लागेको छ । ऋण साहूसँगै लिनु भएको हो । ब्याज पनि हेरी हेरी छ, सयकडा दुई/तीन । 

‘जति भने पनि लिन परिगो । बाँच्नलाई खान परिगो’, उहाँको दुखेसो थियो, ‘बदाम बेचेर कहिले तिर्नु ?’ 

अन्तिम अपडेट: चैत १५, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया