नवलपुरमा बाघको आक्रमणबाट एक जना  घाइते

 पुस २४, २०७८ शनिबार २०:४४:० | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दुमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।

आज दिउँसो मध्यबिन्दु नगरपालिका–१५ ढोकाडी निवासी  ६० वर्षीय  टेकबहादुर कुमाललाई बाघले आक्रमण गर्दा घाइते हुनुभएको हो । भुलपानी चौरमा गाई चराउन गएको क्रममा उहाँलाई बाघले आक्रमण गरेको थियो। 

बाघको आक्रमणबाट कुमालको टाउकोमा गम्भीर चोट लागेको छ । उहाँको अवस्था चिन्ताजनक रहेको छ । बाघको आक्रमणबाट घाइते हुनुभएका कुमाललाई स्थानीयले उद्धार गरी  मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि ल्याएका थिए । मध्यबिन्दुमा सामान्य   उपचार पछि भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सागर पन्तले बताउनुभयो। 

नवलपुरको दुम्कीबास, अरुणखोला, मध्यबिन्दु क्षेत्रमा बाघका कारण स्थानीय त्रसित भएका छन् । यस क्षेत्रमा बाघको आक्रमणबाट एक महिनाको अन्तरालमा दुई जनाको ज्यान गएकाे थियाे। 

बाघले लगातार मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय थप चिन्तित बनेका छन् । उनीहरूले बाघ मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा ठोस पहल नभएको भन्दै गुनासो गरेका छन् ।

यस क्षेत्रमा बाघले मानिसलाई लगातार आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय नवलपुरले समेत एक सूचना सार्वजनिक गर्दै वन क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरेको छ । गाईबस्तु चराउन, घाँस काट्न, निउरो ,च्याउ टिप्न वन क्षेत्रमा नजाने कार्यालयले अनुरोध गरेको छ । बाघ नियन्त्रणको लागि प्रक्रिया अगाडि बढिरहेको र अझै जोखिम रहेकाले वन क्षेत्रमा जादा सावधानी अपनाउ डिभिजन वन कार्यालयले  आग्रह गरेको छ ।

मान्छेलाई आक्रमण गर्ने बाघको पहिचानका लागि यस क्षेत्रमा क्यामेरा राखिएका डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले बताउनुभयो । बाघ पहिचान भए पश्चात नियन्त्रणका लागि थप काम हुने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया