गाउँपालिकाकाे केन्द्रमा खानेपानी पुगेपछि बाजागाजा र नाचगानसहित खुसीयाली

 पुस २५, २०७८ आइतबार २०:८:५३ | किरण लोहनी
unn.prixa.net

गोरखा – खानेपानी सुविधा पुगेपछि गोरखाको ताकुकोट गाउँका बासिन्दाले बाजागाजा र नाचगान गर्दै खुसी मनाएका छन् । बारपाक सुलिकोट गाउँपालिकाकाे केन्द्र ताकुकोटमा घरघरमै खानेपानी सुविधा पुगेको हो । स्थानीय भुत्तेधारा खानेपानी योजनाको उद्घाटनका क्रममा गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधि र उपभोक्ताले बाजागाजा बजाउँदै नाचगान गरेर आपसमा खुसी साटेका हुन् ।

लामो समयदेखि भोग्दै आएको खानेपानीको असुविधा अन्त्य भएपछि स्थानीयवासी खुसी भएका हुन् । यसअघि त्यहाँका उपभोक्ता बस्तीभन्दा आधा घण्टा तलको मूलमा पुगेर खानेपानी ओसार्ने गर्दथे । नजिकैकाे सूर्यज्योति माध्यमिक विद्यालयका विद्यार्थीले पनि पानी ओसार्न जानुपर्ने अवस्था थियो । पानी भरेर फर्किँदा पहिलो विषयकाे पढाइ नै छुटाउनुपर्ने अवस्था अन्त्य भएकाले विद्यालय परिवार पनि खुसी भएको शिक्षक बाबुराम नेपालीले बताउनुभयो । 

२०७१ सालदेखि निर्माण सुरु भएको पञ्चवर्षीय आयोजनाको निर्माणको क्रम चलिरहेकाे छ । अहिलेसम्म दुई करोड ११ लाख रुपैयाँ खर्च गरी ७९ घरधुरीमा खानेपानी सुविधा पुर्‍याइएकाे भुत्तेधारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकी कोषाध्यक्ष विष्णुमाया श्रेष्ठले जानकारी दिनुभयो ।

आयोजनाबाट भञ्ज्याङ गाउँका ५८, पाल्खुका सत, बहाकोटका नाै घरधुरी लाभान्वित भएका छन् । यही योजनाको पानी इलाका प्रहरी कार्यालय ताकुकोट, गाउँपालिका कार्यालय र सूर्यज्योति माविले पनि उपभोग गरेका छन् । सामाजिक सङ्घसंस्थालाई निःशुल्क रूपमा खानेपानी उपभोग गर्न दिइएको छ ।

उपभोक्तालाई भने एकदेखि ६ युनिटसम्मको शुल्क दुई सय ५० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै सातदेखि १० युनिटसम्म थप ५० रुपैयाँ, ११ देखि १५ युनिटसम्म ७५ रुपैयाँ र १६ देखि २० युनिटसम्मको ९० रुपैयाँ थप शुल्क लाग्ने उपभोक्ता समितिका सचिव नेत्रप्रसाद निरौलाले बताउनुभयो । यसअघि श्रमदान नगरेका नयाँ उपभोक्तासँग भने १० हजार रुपैयाँ जडान शुल्क लिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

सूर्यज्योति माध्यमिक विद्यालय परिसरमा भएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विष्णु भट्टले पालिकाभर 'एक घर एक धारा' कार्यक्रम कार्यान्वयनको क्रममा रहेको बताउनुभयो । धारामा खेर गएको पानी सदुपयोग गर्दै उपभोक्ताहरूले करेसाबारी निर्माण गरी तरकारी खेती सुरु गरेकामा उहाँले खुसी व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया