फुटपाथमा विद्युत् प्राधिकरणको सीटी बक्स, बटुवा च्यापिँदै र घस्रिँदै हिँड्छन्

 पुस २७, २०७८ मंगलबार १६:४:३० | वैद्यनाथ पाैडेल
unn.prixa.net

‘उसै त हिँड्ने ठाउँ छैन । एक जना मान्छे नअट्ने यत्रो जाबो फुटपाथमा यो ढ्वाङ्ग ल्याएर के खान तेर्स्याएको होला ?’, धोबीखोला करिडोरमा निर्माण व्यवसायी महासङ्घ कार्यालयको पर्खाल र विद्युत् प्राधिकरणले बनाएको संरचना, केवल टर्मिनेशन बक्स अर्थात् सीटी बक्सको बीचबाट चेपिँदै र घस्रँदै अनामनगरको हनुमानस्थानतिर जान लाग्नुभएकी शारदा भण्डारीको आक्रोश हो यो । 

नेपाल विद्युत् प्राधिकरणले केवल भूमिगत गरी बिजुली वितरण गर्नका लागि त्यहाँ सीटी बक्स बनाएको छ । केवल भूमिगत गरेपछि प्राधिकरणले धोबीखोला करिडोर सडकको फुटपाथमा ल्याएर सीटी बक्स राखेको हो । 

तार भूमिगत गर्दा अनामनगर क्षेत्रका फुटपाथ धेरै अतिक्रमणमा परेको देखिन्छ । अनामनगरको भाटभटेनी सुपर मार्केट अगाडिदेखि धोबीखोला करिडोरमा भूमिगत तारका सीटी बक्सका कारण बटुवा कतै च्यापिएर त कतै सडकबाट नै हिँड्नुपर्ने बाध्यतामा छन् । 

करिडोर अन्तर्गतको त्यस सडकमा प्राधिकरणले बिजुली बाँड्न भनेर थुप्रै सीटी बक्स राखेको छ । त्यसमध्ये झन्डै दश वटा जति यस्ता सीटी बक्स छन् जहाँबाट पैदल यात्रीले फुटपाथ चियाउन सक्छन् । हिँड्न सक्दैनन् । चियाउन आँखालाई पनि मुस्किल पर्ला कि झैँ हुन्छ कतिपय ठाउँमा !

अनामनगर कार्यथलो भएका सुनिल श्रेष्ठलाई त्यहाँबाट घस्रिँदै र च्यापिँदै झन्डै चार/पाँच पटक हिँड्नुपर्छ कामको सिलसिलामा । एउटा सहकारी संस्थामा काम गर्ने श्रेष्ठलाई कहिले पैसा उठाउन त कहिले अरू नै कामको सिलसिलामा ओहोरदोहोर गर्नुपर्छ । 

‘उसै त एक जना त सिधा हिँड्न नमिल्ने फुटपाथ थियो, अहिले त झन् च्यापिएर हिँड्नुपर्छ’, च्यापिएर हिँड्दा ज्याकेटमा लागेको धुलो टकटक्याउँदै श्रेष्ठ भन्नुहुन्छ, ‘पातलो मान्छेसम्म मुस्किलले छिर्छ, मोटो मान्छे छिर्दैन । खै कसरी बनाएको हो ? किन बनाएको हो ? बनाउने बेलामा यति पनि विचार गर्नुपर्दैन ! अचम्म छ हो !’

सडकको एकापट्टि मात्र फुटपाथ रहेको त्यस क्षेत्रमा गाडीको चहलपहल बाक्लो र व्यस्त छ । बाटो साँघुरो र अप्ठ्यारो छ । फुटपाथबाट हिँड्न नपाउँदा दोहोरो गाडी आएका बेला बटुवा पन्छिने ठाउँ समेत छैन । दृष्टिविहीन र शारीरिक अपाङ्गता भएका मानिसको अवस्था के होला त्यस ठाउँमा ? हेर्दा सामान्य देखिए पनि भोग्नेका लागि पहाड छ ।

अनामनगरका स्थानीयवासी आर्यन शाहलाई पनि यो बाटो दिनमा तीन/चार पटक नहिँडी सुखै छैन । कहिले कलेज जान त, कहिले भाटभटेनीमा किनमेल गर्न । अलि अगाडिसम्म फुटपाथमा तार त्यसै छरपष्ट भएको र बन्दैछ भनेर होला टोलवासीको खासै ध्यान नै नगएको बताउनुहुन्छ शाह । 

‘टोलमा यसको बारेमा खास कुरा भएको छैन । मान्छेले ध्यान नै दिएका छैनन्’, शाह भन्नुहुन्छ, ‘बाटोबाट हिँड्दा गाडीले हान्ला भनेर यताबाट हिँड्यो ब्याग कोरिएर च्यातिएला जस्तो भइसक्यो ।’ 

अशक्त र मोटो मान्छेलाई यहाँ बाटोबाट नहिँडी सुखै छैन । बाटोबाट हिँड्दा गाडीले हान्दिने डर पनि त्यत्तिकै देखिन्छ । ‘खोइ किन हो कुरै बुझ्दैनन्’, यहाँ मात्रै होइन सबै ठाउँमा यस्तै फुटपाथमै पारेर गरेकोमा आपत्ति देखियो शाहको । 

कतिपय सीटी बक्स राखिएका फुटपाथमा हिँड्ने ठाउँ नै छैन । बन्द छ । कतिपय ठाउँमा सकस खाएर, च्यापिएर हिँड्नुपर्छ । 

कमजोरी सुधार्ने, गल्ती नदोहोर्‍याउने 

नेपाल विद्युत् प्राधिकरणले सुरक्षित, भरपर्दो र स्तरीय बिजुली वितरणका साथै काठमाण्डौ उपत्यकाको सौन्दर्यता समेतलाई दृष्टिगत गरी बिजुलीको तार भूमिगत गर्ने काम गएकाे दुई वर्षभन्दा केही अघि सुरु गरेको हो । 

तार भूमिगत गरेपछि त्यसलाई एकीकृत गरेर राख्नका लागि सीटी बक्स चाहिन्छ । सीटी बक्सको काम केवललाई पानीबाट जोगाउने तथा घर अनि टोलमा लाइन जडान गर्ने हो । 

जसबाट घर तथा टोलमा जाने हरेक लाइनलाई व्यवस्थित गर्ने काम हुन्छ । कुनै समस्या आइपरेका खण्डमा मर्मत तथा हरेक घरको जडानलाई सुरक्षित रूपमा छुटाउन सकिन्छ । कुन घर, टोलमा कहाँबाट लाइन गएको छ भन्ने सीटी बक्स हेरेर जानकारी पाउन सकिन्छ । 

तर तार भूमिगत गर्दा लामो समयसम्म सडक पेटी खनेर अलपत्र छोडिएका कारण तथा फुटपाथमा ल्याएर यस्ता सीटी बक्स राख्दा पैदलयात्रीलाई भने निकै सकस भएको देखिन्छ । 

भूमिगत तारका लागि प्राधिकरणले अहिले महाराजगञ्ज वितरण केन्द्र र रत्नपार्क वितरण केन्द्र अन्तर्गत काम गरिरहेको अवस्था छ । अहिले कीर्तिपुर नगरपालिकामा समेत प्राधिकरणले तार भूमिगत गर्ने काम सुरु गरेको छ । तर गति भने उस्तै सुस्त देखिन्छ । 

कोरोना सङ्क्रमण तथा वर्षाका कारण केही ढिलो हुन पुगेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले स्वीकार्नुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकामा जनसङ्ख्या तथा गाडीको पनि एकदमै चाप छ । सडक सानो छ । फुटपाथ पनि त्यस्तै छ । त्यस कारण जुन रफ्तारमा काम हुनपर्ने हो त्याे हुँदैन । अनि यस्ता ठाउँमा काम गर्नुपर्दा सडक, खानेपानी, महानगरपालिका सबैसँग समन्वय गर्नुपर्दा पनि काममा ढिलाइ भएको हो । 

धोबीखोला करिडोर सडकमा यस्ता थुप्रै सीटी बक्स छन् जसका कारण बटुवा सडक पेटीबाट हिँड्न सक्दैनन् । 

‘बाटो अवरोध गर्ने हाम्रो मनसाय होइन । त्यसलाई सच्च्याउनुपर्छ । हामीले प्रोजेक्ट युनिटसँग कुरा गरिरहेका छौँ’, भट्टराई भन्नुहुन्छ । 

पहिले जापानी सहायतामा तार भूमिगत गर्ने काम न्युरोड तथा असन क्षेत्रमा भएको थियो । यो योजना बिल्कुल नयाँ तथा प्राधिकरणसँग यस्तो अनुभव नभएका कारण पनि प्राविधिक त्रुटि हुन पुगेको पनि उहाँको स्वीकारोक्ति छ । 

‘हामीले हाम्रो भूगोल त देखेकै हो । तर नयाँ आयोजना तथा अनुभव भएन’, उहाँ भन्नुहुन्छ, ‘बाटो अवरोध गर्ने तथा त्यत्तिकै छोड्ने हाम्रो पनि मनसाय होइन । व्यापक जनगुनासो आएको तथा प्राविधिक टोलीलाई चाँडो भन्दा चाँडो यसमा के–कस्ता सुधार गर्न सकिन्छ भन्नेबारेमा छलफल भइरहेको छ ।’

अनुगमन तथा ठेकेदारले दिनुपर्ने जानकारी नदिएको पनि गुनासो छ प्राधिकरणको । मुख्य रूपले सडक पेटीमा अवराेध भएका अनामनगरका ६ ठाउँ तथा अन्य सुधार गर्नुपर्ने ठाउँमा विशेष चासोसहित चाँडै सुधार गर्ने प्रतिबद्धता पनि रहेको छ प्राधिकरणको । 

कीर्तिपुर क्षेत्रमा पनि भूमिगत तारको काममा सुरु भएको तथा अहिलेको अनुभवले सिकाएकाले यस्ता कमी–कमजोरी नदोहोरिनेबारे सचेत रहेको प्रवक्ता भट्टराईको भनाइ छ । 

जम्मा ६ ठाउँमा आफ्ना त्यस्ता सीटी बक्स परेका तथा एउटा निश्चित विन्दुबाट बढीमा सय मिटर टाढा नपर्ने गरी विद्युत् वितरण गर्नुपर्ने हुनाले त्यस्तो बाध्यता आइलागेको ठहर छ प्राधिकरणको । 

दोहोरो त परै जाओस् एक जना मानिस समेत सजिलै हात फैलाएर हिँड्न नसक्ने भएका कारण काठमाण्डौका फुटपाथलाई व्यङ्ग्य गरेर ‘फुट’ पाथ नभइ ‘इन्च’ पाथ भन्ने गरिन्छ । ‘इन्च’ पाथ समेत प्राधिकरणका सीटी बक्सले ओगटेपछि बटुवाको एउटै प्रश्न छ– कहाँबाट हिँड्ने ? 

अन्तिम अपडेट: माघ ५, २०७८

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया