रसुवागढी नाकामा एकीकृत जाँच चौकी निर्माणमा तीव्रता

 पुस २८, २०७८ बुधबार ९:५८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवागढी नाकामा छरिएर रहेका कार्यालयहरूलाई एकै ठाउँमा राख्नका लागि निर्माण थालिएको एकीकृत जाँच चौकी (आइसिपी) को निर्माणले गति लिएको छ । 

अबको एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको हो । हालसम्म आइसिपी निर्माणको ६५ प्रतिशत काम सकिएको छ । भवन पाँच तलाको हुने छ । यसमा भन्सार, अध्यागमन, क्वारेन्टिन र सुरक्षा निकाय रहने छन् । भवन निर्माण पश्चात जाँचपास गर्न तथा अवैध क्रियाकलाप रोक्नका लागि सहज हुने छ । 

आउँदो चैतसम्ममा निर्माण सम्पन्न गर्ने समयसीमा भएकाले कामलाई तीव्रता दिइएको श्यामसुन्दर रबिना जेभी कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर योगेन्द्र तुम्बाहाङफेले बताउनुभयो । तर तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न हुने देखिँदैन । सुपर स्ट्रक्चरको काम सम्पन्न गर्न करिब एक वर्ष लाग्ने छ । 

नाकामा आयात निर्यात हुने सामग्रीको जाँचपास गर्न तथा अवैध क्रियाकलाप रोक्नका लागि आइसिपीको निर्माण गरिएको हो । २०७५ पुसदेखि आइसिपीको  निर्माण सुरु भएको थियो । 

आइसिपी निर्माणको ठेक्का पाएको श्यामसुन्दर रबिना जेभी कन्स्ट्रक्सनले आइसिपी भवन निर्माणको साथै शसस्त्र प्रहरी बलको भवनको काम पनि गरिरहेको छ । आइसिपी भवनको पहिलो तलाको ढलान गर्ने काम चलिरहेको उहाँले बताउनुभयो । अहिले त्यहाँ ४८ जना कामदारले काम गरिरहेका छन् । 

२०७५ पुसदेखि निर्माण सुरु भएपनि कामले गति लिन सकेको थिएन । अहिले आइसिपी निर्माणले गति लिएको छ । कानुनी प्रक्रिया, ट्रान्सफर्मरको व्यवस्थापनमा ढिलाई, निर्माण सामग्रीको अभाव, कामदारको अभाव, नाकामा डाइभर्सन पुल निर्माण लगायतका कारण निर्माण कार्य सुस्त भएको थियो ।  

निर्माण प्रक्रिया सुरु भएपछि आफूले ठेक्का पाउनुपर्ने माग गर्दै एमबी चक्रेश्वरी शिवशक्ति जेभीले २०७३ पुस १९ मा सर्वोच्च अदालतमा रिट हालेको थियो । अदालतमा परेको रिट निवेदन २०७५ जेठ २४ मा खारेज भएको थियो । 

सर्वाेच्चले रिट निवेदन खारेज गरेपछि निर्माणको काम सुरु भएको थियो । सम्झौता अनुसार २०७७ असार २५ मा भवन निर्माण गरिसक्नु पर्ने थियो । विभागका अनुसार ६१ करोड ९८ लाख ६८ हजार ७५ रुपैयाँ खर्च हुने छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया