बजेट अभावमा सुस्तायो औद्योगिक ग्राम निर्माणको काम

 पुस ३०, २०७८ शुक्रबार १५:३८:११ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको जोरायल गाउँपालिका–२ बुडर धारापानीमा निर्माण हुन लागेको औद्योगिक ग्राम निर्माण कार्य बजेट अभावमा सुस्ताएको छ।

२०७६ साल माघ २० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले बुडरमा रहेकाे धारापानीमा औद्योगिक ग्राम बनाउने निर्णय भएसँगै यस क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि भौतिक संरचना निर्माण कार्य सुरुमा निकै तीव्र रुपमा भए पनि अहिले पुनः सुस्ताएको छ।

कुल ५० रोपनी जग्गामा औद्योगिक ग्राम निर्माण कार्य सुरु गरिए पनि बजेट अभावमा निर्माणको काममा ढिलाइ भएको स्थानीयवासी तीर्थराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बजेट अभावले औद्योगिक ग्रामभित्र निर्माण गर्न सकिने उद्योगको अवस्थालाई मध्यनजर गर्दै कम्तीमा पनि ५०० रोपनीसम्म जग्गा लिने काम पनि रोकिएको छ।

औद्योगिक ग्राम घोषणाका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र जोरायल गाउँपालिकाबीच २०७६ साल फागुन १६ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । स्थानीय स्रोतसाधन, कच्चापदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी उद्योग स्थापना, विकास र प्रवर्द्धन गर्दै रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने सरकारको उद्देश्य अनुसार यस औद्योगिक ग्राम निर्माण गरिन लागिएको थियो ।

पछिल्लो सयम काम पूर्णरुपमा ठप्प भएपछि यहाँका नागरिकमा निरासा छाएको जोरायल गाउँपालिका–२ बुडरका स्थानीयवासी लोकबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, 'औद्योगिक ग्राम बने सबैले रोजगारी पाउलान् भन्ने आशा थियो, अहिले एकाएक काम रोकिएको छ, सबै निरासामा छौँ ।'

यस ग्राम निर्माणका लागि सङ्घीय सरकारबाट आर्थिक वर्ष २०७६/७७ मा ९२ लाख रुपैयाँ निकासा आएकोमा गएको वर्षसम्म कम्तीमा पनि ८३ लाख ६० हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ। 

त्यस रकमबाट औद्योगिक ग्राम क्षेत्रमा खानेपानी, शौचालय र प्रशासनिक भवन, घेरबार लगायतका संरचनाको निर्माणको काम भए पनि अहिले ती काम पनि अधुरै रहेका छन्। 'बजेट अभावले केही समस्या भएको हो, यो योजना बहुवर्षीय योजना भएका कारण बाँकी काम आउँदाे वर्षमा हुने योजना अनुसार काम अगाडि बढाइएको छ ' जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'आर्थिक अभावले काम सुस्ताए पनि औद्योगिक ग्राम निर्माण हुन्छ, आत्तिनु पर्ने अवस्था छैन् ।' यस औद्योगिक ग्राम स्थापनाको लागि गाउँपालिकाले लामो समयदेखि पहल गरेको उहाँको दाबी छ।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला प्रवेश गर्ने एक मात्र पहाडी प्रवेशद्वारको रुपमा रहेको बुडरमा रहेकाे धारापानीमा निर्माण हुने औद्योगिक ग्राम नमुनाको रुपमा विकास गरिने योजना भए पनि अहिले आएर काम रोकिएपछि नागरिक चिन्तित भएका स्थानीयवासी भरत कुँवरले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'औद्योगिक ग्राम स्थापना भए डोटीसहित यहाँका छिमेकी जिल्ला डडेलधुराका आलिताल गाउँपालिका तथा कैलालीको चुरे गाउँपालिकाका स्थानीयवासी लाभान्वित हुने थिए, अहिले काम रोकिएको छ, काम सुरु हुनुपर्छ ।'

अन्तिम अपडेट: बैशाख ५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया