तनहुँमा जीप दुर्घटना : ९ महिने बालिकासहित ६ जनाको ज्यान गयो

 माघ १, २०७८ शनिबार ६:५६:२८ | समुद्र पौडेल
unn.prixa.net

तनहुँ - तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ६ धरमपानीमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन् ।

शुक्रवार बेलुका बन्दीपुर गाउँपालिकाको वडा नंं ६ बाक्सेबाट धरमपानीका लागि छुटेको ग १ ज ६५५५ नम्बरको जीप हटियामा दुर्घटना हुँदा बन्दीपुर गाउँपालिका वडा नं. ६ धरमपानी बस्ने ९ महिने बालिका आरूबि थापा, २३ वर्षीय रोशन गुरूङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशिलादेवी न्यौपाने, ७६ वर्षीया बिममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उपचारका लागि बन्दीपुर अस्पताल लगिएका उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको हो ।

दुर्घटनामा परि सनिषा थापा, ७ महिनाकी बालिका दिविसा मगर, मम्फुली गुरुङ, कुमारिया गुरुङ र जमुना थापा घाइते भएका छन्। घाइतेमध्ये केहीको बन्दीपुर अस्पतालमा र केहीलाई थप उपचारका लागि अन्यत्र पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटना लगतै घाइतेको उद्धारका लागि गाउँपालिकाको गाडी घटनास्थलमा पठाएर घाइतेलाई उपचारका लागि बन्दीपुर अस्पताल ल्याइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो । जीपमा १२ यात्रु थिए ।  
 

अन्तिम अपडेट: चैत २८, २०८०

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया