करोडौँको लगानीमा निर्माण गरिएका पर्यटन व्यवसाय कोरोनाको मारमा

 माघ ६, २०७८ बिहिबार १३:७:७ | सन्तोष थापा
unn.prixa.net

पर्वत – कोभिड १९ को तेश्रो भेरियन्टको संक्रमण बढेसँगै पर्वतको पर्यटन क्षेत्र प्रभावित बनेको छ । करोडौँको लगानीमा निर्माण भएका सहासिक खेल सहितका संरचनाहरु अहिले कोरोनाको संक्रमण बढेसँगै सुनसान जस्तै बनेका छन् । 

पर्वतमा करिब १ बर्ष अघि निर्माण सम्पन्न भएको विश्वकै दोश्रो अग्लो बञ्जी जम्प र विश्वकै अग्लो स्विङ सँगै हालै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको विश्वकै दोश्रो लामो दावी गरिएको जीपलाइन प्रभावित बनेका छन् । पछिल्लो समय पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारको व्यापार प्रबद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका संरचनाहरु कोरोनाको मारमा परेपछि अहिले पर्यटन व्यवसायमा थप समस्या उब्जिएको छ । 

द क्लिफ प्रालि द्वारा सञ्चालित बञ्जी जम्प करिब ५ बर्षको अवधिमा २८ करोड बढी लगानीमा निर्माण भएको हो । निर्माण सँगै करिब १ वर्ष सहज रुपमा सञ्चालन भए पनि बेलाबखत कोरोनाको मार खेप्न बाध्य भएको सञ्चालक राजु कार्कीले बताउनुभयो । अहिले स्काइ साइक्लिङ समेत सञ्चालनमा ल्याएको प्रालिका सबै गतिविधि प्रभावित बनेका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतले निषेधाज्ञा जारी गरेसँगै पर्यटन व्यवसाय ठप्प जस्तै बनेको हो । 

‘केही दिन अघि सम्म दैनिक १ सय जना भन्दा बढीले सहासिक खेलमा भाग लिनुहुन्थ्यो, झण्डै ५ सय जना दैनिक ओहोरदोहोर गर्नुहुन्थ्यो’ उहाँले भन्नुभयो ‘कोभिडको संक्रमण बढेसँगै अहिले ह्वात्तै घट्यो, यस्तो बेला सहज रुपमा सञ्चालन गर्ने कुरा पनि भएन ।’

त्यस्तै हालै मात्रै सञ्चालनमा आएको हार्नेस जीपलाईन प्रालिद्वारा सञ्चालित जीपलाईन पनि कोरोनाको चपेटामा परेको छ । अंग्रेजी नयाँवर्षको आगमन सँगै सञ्चालन शुरु गरिएको जीपलाईन सञ्चालन भएको केही दिनमा नै बन्द अवस्थामा पुगेको छ । निर्माण समय देखि सञ्चालनको अवधि सम्म कोरोनाका कारण ठूलो समस्या उत्पन्न भएको सञ्चालनक रञ्जित जोशीले बताउनुभयो । झण्डै १५ करोडको लगानीमा बनेको यो जीपलाईन र बञ्जी सहज रुपमा सञ्चालनमा नआएपछि पर्वतको कुश्मा बजार क्षेत्रको चहलपहल पनि शून्य जस्तै बनेको छ भने होटल व्यवसाय पनि प्रभावित बनेका छन् । 

कुश्मामा १० वर्ष अघि देखि सञ्चालनमा आएको कुश्मा बलेवा यान्त्रिक पुल सँगै छिमेकी जिल्ला जोड्ने गरी बनेका अग्ला र लामा झोलुङ्गे पुलहरुमा समेत आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप घटेको छ । यता पर्वतका गाउँ गाउँमा सञ्चालित होमस्टेहरु समेत कोरोनाका कारण प्रभावित बनेका छन् ।   
 

अन्तिम अपडेट: चैत १४, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया