डोटीको गलागाडमा पक्की पुल निर्माण हुने

 माघ १८, २०७८ मंगलबार ८:५३:३७ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाको  गलागाडमा मोटर चल्ने पक्की पुल निर्माण हुने भएको छ ।

याे पुल निर्माणका लागि गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले शिलान्यास गर्नुभएको छ । गाउँपालिकाको वडा नं १ र २ अन्तर्गतका सिमचौर–केदारअखडा जोड्नका लागि ४ करोड ५० लाख रुपैयाँको लागतमा याे पुल निर्माण हुने भएको हो ।

पुल नहुँदा यहाँका नागरिकले सास्ती भोग्दै आएका थिए भने उत्पादित वस्तु भाउले बजार पाउन सकेका थिएनन् । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरदेखि बोगटान जोड्ने सडक खण्ड अन्तर्गत पर्ने गलागाड खोलामा निर्माण हुन लागेको पक्की पुलले यहाँका नागरिकलाई निकै राहत हुने गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'पुल नहुँदा यहाँका नागरिकदेखि गाडी सञ्चालनमा समस्या थियो, अब पुलको शिलान्यास भएको छ, सबैलाइ राहत हुने छ ।' याे खोलामा मोटर चल्ने पुल निर्माण भएपछि जिल्लाकै दुर्गम मानिने कानाचौर क्षेत्र अब सडक सञ्जालबाट पालिका र जिल्ला सदरमुकामसम्म जोडिने भन्दै स्थानीयमा खुसीयाली छाएको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीय अमरबहादुर बोगटीले बताउनुभयो ।

उहाँका अनुसार पुल निर्माण सम्पन्न भएपश्चात छिमेकी जिल्लाहरु सुर्खेत तथा अछामका नागरिकहरु पनि प्रत्यक्ष लाभान्वित हुने भएका छन् । याे क्षेत्रमा उत्पादित वस्तु भाउले बजार पाउने भन्दै कृषकहरु पनि खुशी भएका अर्का स्थानीय खडकबहादुर बोहराले बताउनुभयो । मोटर पुलसम्म बाटो  निर्माणका लागि गाउँपालिकाबाट ५० लाख र प्रदेश सरकारबाट ३५ लाख रुपैयाँ खर्च भइसकेको पालिकाले जनाएको छ ।

सडक डिभिजन कार्यालय कुल्पाते दिपायल अन्तर्गत याे पुलका लागि ठेक्का भइसकेको बताइएको छ । पुलको लम्बाई २५ मिटर रहेको र निर्माणको जिम्मा नेपाल मेघा सिस्ने कन्स्ट्रक्सनलाई दिइएको छ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया