'मुदिर' बनाउँछु भनेर साउदीमा महेन्द्रलाई कम्पनीले ठग्यो, रित्तो हात फर्कँदा श्रीमतीको साथ मिल्यो

 माघ १८, २०७८ मंगलबार १३:५४:४१
unn.prixa.net

सृजना तिमल्सिना, रौतहट ।

रौतहट –  श्रीमानले विदेशमा कमाउन थालेपछि त सुखका दिन आउलान् भन्ने सपना देख्नुहुन्थ्यो  चन्द्रपुर नगरपालिका ८ मोतीपुरकी ३८ वर्षीय रुकु चौधरी । तर जब श्रीमानकाे  विदेश यात्रा तावाबाट उफ्रेर भुङ्ग्रोमा भनेजस्तै भयो । तब रुकुले साँचेका सपना पनि चकनाचुर भयो ।

अहिले रुकु भन्नुहुन्छ ‘विदेशको कमाइमा हैन सुख त आफ्नै पौरखमा रहेछ ।’

श्रीमान् महेन्द्र पहिलो पटक वैदेशिक रोजगारीमा जाँदा त विदेशको कमाइले घर व्यवहार चलाउन अलि अलि भए पनि भरथेग गर्‍यो । तर जब दोस्रो पटक मुदिर बन्ने सपना बोकेर श्रीमान् त्यही कम्पनीमा जानुभयो तब रुकुले कल्पनै नगरेको दुःख र हण्डर सहन पर्‍यो । 

पहिलो पटक २०६८ साल भदौमा साउदी जानुभएको थियो रुकुका श्रीमान् महेन्द्र । त्यो बेलामा कम्पनीमा सामान्य कामदारका रूपमा काम गर्दा महेन्द्रले त्यहाँ कमाएर घर खर्च र वृद्ध बुवाको उपचार खर्च पुर्‍याउनुभयो । जसोतसो पाँच वर्ष बिताएर २०७३ सालमा घर फर्कनुभयो  ।

यो पाँच वर्षमा ठुलो प्रगति गर्न नसके पनि घर व्यवहार चल्यो । वृद्ध बुवाको उपचार भयो । महेन्द्रको मन यसमै खुसी थियो । तर दोस्रो पटक मुदिर बन्ने सपनाले भन्ने महेन्द्रलाई दुःखको भुङ्ग्रोमा हालिदियो ।

‘घर फर्किएको एक महिना पनि नपुग्दै कम्पनीले नै फोन गर्‍यो, यतिका वर्ष काम गर्नुभयो अब तपाईँलाई मुदिर बनाइदिन्छौ, आउनुहोस् भन्यो’ रुकु भन्नुहुन्छ ‘कम्पनीले फोन गरेर यतिसम्म भनेको थियो कि फाइदा भएको रकम तपाईँकै हुन्छ अब पहिलेजस्तो कामदार होइन, तपाईँलाई अब हामी मुदिर बनाउँछौँ भन्यो ।’

रुकु र महेन्द्रलाई पनि त्यो बेला कम्पनीले भनेको कुरा हो झैँ लाग्यो । पाँच वर्ष काम गर्दा केही प्रगति भएन । तर अब मुदिर(मालिक) नै बनाउने र नाफा रकम पनि दिने भनेपछि त राम्रै होला भन्ने विश्वासमा पर्नुभयो महेन्द्र पनि ।

मुदिर बन्ने सपनाले दिएको दुःख

महेन्द्र भन्नुहुन्छ ‘घर बसेर पनि मेरो गुजारा चल्ने वाला थिएन, अब कम्पनीले नै फोन गरेर मुदिर बनाउँछु भनेपछि त कसरी पो विश्वास नगर्नु र, होला झैँ लाग्यो, म त मख्खै पनि परेको थिएँ ।’ पहिलेभन्दा धेरै पैसा कमाइ हुने भएपछि मनको लड्डु मनैले खादै महेन्द्र फेरि २०७३ सालमै साउदीको बाटो लाग्नुभयो । 

साउदी गएर मुदिर बन्ने, कमाउने र जमाउने सपना बोकेर साउदी पुग्नुभएका महेन्द्रले सोचेभन्दा ठिक उल्टो भयो । मुदिर बनाउँछु भन्ने कम्पनीले जालमा पारेकाे कुरा त्यहाँ गएर घाटा बेर्होन थालेपछि बल्ल थाहा पाउनुभयो । 

‘त्यहाँ पेट्रोल पम्प थियो, कम्पनीले पहिले मैले काम गर्दा नै मेरो तलबमा अलिअलि गरेर दुई लाख १० हजार रुपैयाँ राखेको रहेछ, त्यही रकम तेरो लगानी भयो, त मुदिर भइस् भन्यो, त्यसपछि त घाटा नाफा हिसाब हुन थाल्यो’ महेन्द्र भन्नुहुन्छ ‘नाफा त कहिले पनि भएन, खाली घाटै मात्र भयो, घाटा भएपछि पम्प चलाउन मैले पनि पैसा हाल्न पर्‍यो ।’

कम्पनीमा सेयर दिएकाे कुरा गरेर घाटा हिसाब लगाउन थालेपछि समस्या थपियाे । घाटा मात्र भयो । अलि अलि साथमा भएको रकम पनि सकियो । 

महेन्द्र साउदीमा सोच्दै नसोचेको समस्यामा फस्दै गएपछि यता घरमा पनि समस्या हुन थाल्यो ।

कम्पनीमा घाटा भएपछि रुकुले श्रीमानलाई पैसा पठाउन पर्ने बाध्यता आइलाग्यो । पठाऊँ आफूसँग सुको छैन । नपठाऊ परदेशी भूमिमा श्रीमानलाई केही हुने हो कि भन्ने चिन्ता । साहुसँग ऋण लिएरै भए पनि पटक पटक गरी रुकुले श्रीमानलाई ४ लाख १० हजार रुपैयाँ हुण्डीमार्फत साउदी पठाइदिनुभयो । 

साउदीमा श्रीमानको समस्या त टार्नुभयो रुकुले । तर यता घरमा ऋण माथि ऋण थपिदा घर व्यवहार चलाउनै समस्या हुँदै गयो ।

पैसाको अभाव हुन थालेपछि साहुले च्याप्दै लगे । पढिरहेका छोराछोरीको स्कुलको शुल्क तिर्न नसक्दा विद्यालयले दबाब दिन थाल्यो ।  

‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी भने जस्तै भयो नि, कमाउँदा मात्र रहेछन् सबै आफ्ना हुने, पैसा नभएपछि कसैले पनि सहयोग नगर्ने रहेछन्, दुःखको बेलामा त आफ्ना पनि टाढा हुँदा रहेछन् ’ त्यो क्षण सम्झँदै रुकु भक्कानिनुहुन्छ ।

जीवनमा परिआएका हरेक परिस्थितिको सामना गर्नुको विकल्प के हुन्छ र । रुकुले पनि जसोतसो घर धान्नुभयो त्यो दुःखको घडीमा ।

यही पीडामा डुबेकै बेला रुकुको गाउँ चन्द्रपुर नगरपालिका ८ मोतीपुरमा परदेशीका परिवारका निम्ति एक वर्षअघि २०७७ माघमा वित्तीय साक्षरता कक्षा सञ्चालन भयो ।

यो कक्षा नेपाल सरकार र स्विस सरकार बीच भएको दुई पक्षीय सम्झौताअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहलमा, रौतहट जिल्लाको चार वटा पालिकाको नेतृत्व तथा सेवा प्रदायक संस्था माण्डवीको सहजीकरणमा सुरक्षित आप्रवासन सामी परियोजनामार्फत सञ्चालन भइरहेको छ । सामी परियोजनालाई हेल्भटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ ।

श्रीमान् विदेशमा नै भएकाले रुकु पनि वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षामा सहभागी हुन थाल्नुभयो । अक्षरहरू मुस्किलले लेख्न र पढ्न सक्ने रुकुको वित्तीय साक्षरता कक्षामा बस्न थालेपछि भने जीवनको बाटो नै फेरियो । 

‘श्रीमानको सुको कमाइ थिएन, उल्टो यहाँबाट पैसा पठाइरहेको बेलामा घर चलाउन कम्ता समस्या थिएन, त्यही बेलामा घरमै पनि व्यवसाय गर्न सकिने र पैसा कमाइ हुने अन्य विभिन्न बाटो थाहा पाए पछि त म कहाँ चुप लागेर बस्न सक्थेँ त’ रुकु मुस्कुराउँदै भन्नुहुन्छ ‘त्यसपछि त सक्ने जति सबै काम गर्न थालेको हुँ नि ।’

कमाउन गएका श्रीमान् परदेशी भूमिमा ऋणमा डुब्न थालेपछि रुकुलाई पिर चिन्ताले असाध्यै सताएको थियो । निद्रा नलाग्ने, खान मन नलाग्ने, छटपटी हुने, के गरौँ कसो गरौँ भन्ने हुटहुटीले मन पोल्ने गथ्र्यों । तर कक्षामा बस्न थालेपछि उहाँले मनोपरामर्श पनि पाउनुभयो । वित्तीय साक्षरता कक्षामा पैसा कमाउने र मनोपरामर्शकर्तालाई नियमित भेटघाट गरेर तनाव व्यवस्थापनको उपायहरू अपनाउन थालेपछि रुकुलाई अघि बढ्न झन् सहज भयो । 

त्यसपछि रुकुले आफ्नै घर अघिल्तिर भएको ३ कठ्ठा बारीमा मौसम अनुसारको तरकारी लगाउन थाल्नुभयो । तरकारी बेच्दा केही आम्दानी हुन थालेपछि भने रुकुलाई हौसला बढ्यो ।

त्यसपछि रुकुले बाख्रा र भैँसी पनि पाल्न थाल्नुभयो । तरकारीबाट खेर जाने  घाँस बाख्रा र भैँसीका लागि पनि हुने हुँदा दुवै काम एकसाथ गर्न सहज हुँदै गयो ।

रुकु अहिले दैनिक १२ लिटर दूध बेच्नुहुन्छ । तरकारी पनि मौसम अनुसार बेच्नु नै हुन्छ । त्यसबाट भएको आम्दानीले घर खर्च धान्दै श्रीमानलाई विदेशमा पठाइदिएको ऋणको ब्याज पनि तिरिरहनुभएको छ ।

‘यता मैले काम गर्दै ऋण पनि तिर्न थालेपछि श्रीमानलाई नेपाल आउन भने, तर कहाँ त्यहाँको कम्पनीले सजिलै आउन दिने रहेछ र’ रुकु भन्नुहुन्छ ‘आफ्नै घर आउन पनि कम्ती सास्ती खेप्न परेन ।’

रुकुले जसोतसो वृद्ध ससुराको औषधि उपचार त गरिरहनुभएको थियो । तर कमाउन गएको छोरो अवस्था परदेशमा बिग्रिएपछि यता घरमा रुकुका ससुरालाई रोगभन्दा पनि पिरले लाग्यो । रुकुका ससुराले २०७८ असाेजमा संसार छाडे ।

बुवा बितेको खबर महेन्द्रले कम्पनीमा सुनाउनुभयो । घर पठाइदिन अनुरोध गर्नुभयो । तर कम्पनीले सजिलै महेन्द्रको कुरामा विश्वास गरेन । प्रमाण देखाउन भन्यो । 

‘संसार छाडिसकेका बुवाको फोटो देखाउन पर्दा जिउँदै मरे समान भएको थियो, तर अर्काको देशमा अनेक गर्नु पर्ने रहेछ ’ ती दिन सम्झँदा अनुहार मलिनो बनाउँदै महेन्द्र भन्नुहुन्छ ‘कुनै पनि छोराले त्यो दिन भोग्न नपरोस् ।’

कम्पनीसँग हारगुहार गरेपछि नेपाल आउन दियो । बुवा बितेको पाँच दिनपछि महेन्द्र २०७८असाेजमा नेपाल आइपुग्नुभयो । तर महेन्द्रले बुवालाई सधैँलाई गुमाउनुभयो । अन्तिम पटक अनुहार समेत देख्न पाउनुभएन ।

‘त्यो नर्क भूमिबाट आफ्नो देश आउन पाउँदा सुखी त लाग्यो, तर बुवाको मुखसमेत देख्न नपाउँदा मरेकै जुनी भयो नि, त्यो दिन त सम्झँदा मात्रै पनि मन भारी हुन्छ’ महेन्द्रका आँखामा आशु टिलपिलाउँछन् । विदेशमा दुःखको अनेक हण्डर खेपेर फर्कनुभएका महेन्द्र अहिले त सपनामा पनि विदेश भन्ने कुरा देख्न चाहनुहुन्न ।

रित्तो हात फर्कँदा श्रीमतीको साथ

कमाउन गएको मानिस विदेशबाट मन भरी त्यहाँ खेपेका दुःख र रित्तो हात लिएर फर्कँदा पनि महेन्द्रलाई घर आइपुगेपछि मन खिन्न भएन । श्रीमतीले दिएको आँट भरोसाले छुट्टै खुसी दियो ।

बारीभरी तरकारी, गोठमा भैँसी देख्दा महेन्द्रको पनि मन फुरुङ भयो । अहिले त चौधरी दम्पतीले फाम दर्ता गरी १५ लाख रुपैयाँ बराबरको लगानी गरिसकेका छन् । कमाइ पनि चित्त बुझ्दो छ भन्नुहुन्छ उहाँहरू । विदेश जान खुट्टा उचाल्ने युवाहरूलाई विदेशमा पैसाको बोट नहुने रहेछ भन्नुहुन्छ महेन्द्र ।

‘अरूले के भन्छन् भन्दा पनि आफ्नो हातमा के सीप छ त्यस अनुसार परदेश जानु पर्ने रहेछ, कम्तीमा आफू जाने देश, गर्ने काम र अलिअलि भए पनि भाषा सिकेर जान पर्ने रहेछ’ महेन्द्र आफ्नो अनुभव सुनाउनुहुन्छ । 

महेन्द्र पनि स्वदेश फर्किएपछि उनीहरूको व्यवसाय बढेको छ । रुकुलाई काममा सहज भएको छ । १५, २० वटा लोकल कुखुरा र हाँस पनि थप्नुभएको छ । श्रीमान् श्रीमती दुवै जना मिलेर काम गर्दा सुख र सन्तुष्टि दुवै मिलेको छ भन्नुहुन्छ रुकु ।

२ छोरी र एक छोराको पढाइ र घर व्यवहारको खर्च कसरी पुर्‍याउनु भनेर चिन्ता लिन परेको छैन । 

रुकु भन्नुहुन्छ ‘विदेशमा हुँदा पैसा भन्दा बढी चिन्ता हुन्छ, यहाँ पैसाभन्दा पनि दुःख सुखमा एक अर्काको साथ हुन्छ ।’

(सृजना तिमल्सिना सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत रौतहटमा वित्तीय साक्षरता सहजकर्ताको रूपमा कार्यरत हुनुहुन्छ । सामी परियोजना नेपाल सरकार र स्वीस सरकारबीचको दुईपक्षीय परियोजना हो ।)

अन्तिम अपडेट: बैशाख २५, २०७९

तपाईको प्रतिक्रिया