वैदेशिक रोजगारीबाट फर्किएकै दिन श्रीमान् गुमाउनु पर्दा गुमेको उषाको आत्मबल मनोपरामर्शले फर्कायो

 माघ २१, २०७८ शुक्रबार १०:५८:२७
unn.prixa.net

विमला श्रेष्ठ / नवलपरासी ।

नवलपरासी - २० वर्षे वैदेशिक रोजगारीलाई बिट मात्रै श्रीमान् देश फर्कँदा  नवलपरासी कावासोतीकी उषा खत्वे साेच्नुहुन्थ्याे अब जीवनमा श्रीमानसँग टाढा हुने दिन सकियाे । अब दु:ख सुखसँगै गर्ने हाे । तर सोचेका र साँचेका खुसी कति बेला कहाँ गएर आशुमा परिणत हुन्छ पत्तै हुँदैन । श्रीमानसँग भेट हुँदाको खुसी अनुभव गर्न नपाउँदै  उषाले सधैँलाई  श्रीमान् गुमाउनुभयो । 

उषाका श्रीमान् विजय खत्वे साउदीबाट २०७७ को मंसिरमा नेपाल फर्किनुभयो । श्रीमान आफ्नै देश फर्केपछि उषामा खुसीको सीमा नै थिएन । तर नेपाल आएर पनि त्यतिबेला विजय र उषाको भेट भने हुन पाएन । कारण थियो कोरोना महामारी ।

विदेशबाट आएकाहरुले अनिवार्य एक हप्ता क्वरेण्टिन बस्नुपर्ने नियमअनुसार उहाँले काठमाण्डौमै एक हप्ता होटेल क्वरेण्टिनमा बस्नुपर्यो । क्वरेण्टिनबाट आएपछि त भेट भइहाल्छ नि भन्ने प्रतिक्षामा बस्नुभयो । श्रीमान् घर फर्केपछिका खुसीका पल कल्पिँदै एक हप्ता बिताउनुभयो ।

प्रतिक्षाको फल मिठो हुन्छ भन्छन् तर उषाको जीवनमा यो कुरा लागु भएन । क्वरेण्टिनको बसाइ सकेर घरमा पुगेकै राति विजय एकाएक बिरामी पर्नुभयो । उषाका अनुसार घर आएकै राति सँगै खाना खाएर बसेका विजयले एक्कासि छाति दुखेको, पेट पोलेको कुरा गर्नु भएको थियो । ग्यास्ट्रिक हो कि भन्ने लागेर उषाले घरायसी औषधि दिनुभयो । तर औषधि खान नपाउँदै छट्पटिन थाल्नुभयो विजय । आवाज घ्यारघ्यार आउन थाल्यो । त्यही बेला बिजुली पनि गयो र घरमा अन्धकार छायो ।

कोरोना महामारी । त्यसैमाथि रातिको समय । जिल्ला अस्पताल उषाको घर नजिकै छ । तर महामारीको बेला भएकोले भनेकै बखत गाडी पनि पाउनुभएन । अस्पतालसम्म लैजान निकै गाह्रो भयो । आफ्नो श्रीमानलाई अस्पतालसम्म पुर्याउन आफ्नै ज्यानको बाजी राख्नुपरेको उहाँ सुनाउनुहुन्छ, ‘कोरोनाको बेला भएकाले गाडीले रोक्न र बिविजयी लान मानेनन्, केही नलागेपछि म आफै बीच सडकमा उभिएर हात जोड्न थालेँ ।’ 

यसरी उषाले आफ्नो श्रीमानलाई अस्पतालसम्म त पुर्याउनुभयो । तर अस्पताल पुर्याएको केही समयपछि डाक्टरले मृत घोषित गरिदिए ।  श्रीमानलाई समयमै अस्पताल लैजान नसकेर मृत्यु भएको हो की भन्ने पश्चातपले पिरोलिरहन्छ उषालाई अहिले पनि ।

कस्तो खुसी दियो वैदेशिक रोजगारीले !

सामाजिक बन्धनलाई तोड्दै २४ वर्ष अगाडि उषा र विजयको अन्तरजातीय विवाह भएको थियो । विजयबाट पाएको मायालाई उषा शब्दमा वयान गर्न सक्नुहुन्न । तर मायाले मात्रै जीवन चल्दैन । घरको आर्थिक अवस्था कमजोर भएपछि बिहे गरेको चार वर्षमै विजय वैदेशिक रोजगारीमा जानुभएको थियो । त्यहीँको कमाइले घरको आर्थिक अवस्था सुधार्नुभयो । चार छोराछोरीलाई हुर्काउनुभयो, पढाउनुभयो ।

अहिले जेठी छोरी रोजगारीकै सिलसिलामा जापानमा छिन् । दुई छोरी र एक छोरा स्कुलमा पढ्दैछन् । कमाउने भइसकेकी छोरी र वैदेशिक रोजगारीबाट घर फर्किने श्रीमानको योजनाले झन् खुसी थपेको थियो उषाको जीवनमा ।

उहाँलाई अहिले पनि लाग्छ वैदेशिक रोजगारीकै कारण घरको अवस्था विजय्रो भएको हो, छोराछोरीलाई विजय्रोसँग पढाउन सकिएको हो । यस्तै सुखसाथ श्रीमानसँगै बाँकी जीवन बिताउने सपना थियो उषाको । तर श्रीमान नै नरहेपछि सबै सपना अधुरा रहे । चक्नाचुर भए । वैदेशिक रोजगारीले दिएका अरु खुसी पनि फिका लाग्न थाले ।

‘उहाँलाई उतैदेखि नै खासै सञ्चो थिएन रैछ, अन्तिम पटक हामी दुईजनाको भेट हुनु रहेछ त्यही भएर घरमै आएर अस्ताउनुभयो’, आँखाभरि आँसु पार्दै उषाले भन्नुभयो, ‘वैदेशिक रोजगारीले अब के दियो भन्नु मलाई, जो चाहिएको थियो उही नै चुँडेर लगेपछि ।’

मनाेपरामर्शले फर्काएकाे आत्मबल

श्रीमान गुमाउनुको पीडाले कसको मन विक्षिप्त हुँदैन, कसलाई पीडा हुँदैन ? उषालाई यो पीडाले गर्दा दिनमा भोक र राति निन्द्रा लाग्न छोडेको थियो । 

‘रोइरहन मनलाग्ने, एक्लै बस्न मन लाग्ने, मर्न पाए श्रीमान सँग भेट हुन्थ्यो कि भन्ने सोचहरु आउन थाले’, उहाँ सुनाउनुहुन्छ, ‘म त श्रीमानको वियोगलाई सहन नसक्दा आफ्नो कपाल आफैँ लुछ्न थालेँ, पागल जस्तै भएकी थिएँ ।’ 

श्रीमान् गुमाउँदाको पीडाले उषालाई निकै पिरोल्यो । बाँच्ने रहर मर्दै गयो । त्यत्रो वर्ष श्रीमानले विदेशमा पसिना बगाएर अहिले एकाएक छोडेर जाँदा उषासँग श्रीमानको यादबाहेक अरु केही थिएन । अबको बाँकी जीवन कसरी अगाडि बढाउने उहाँलाई केही थाहा थिएन ।

त्यही बेला उषाको सम्पर्क सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गतका मनाेसामाजिक परामर्शकर्तासँग भयो । परदेशीका परिवारकाे मनकाे कुरा सुन्न गाउँ गाउँ खटिएका मनाेपरामर्शकर्तासँगकाे भेटघाट पछि उषाले मनाेपरामर्श सेवा पाउनुभयाे । नियमित परामर्श लिन थालेपछि उषाले श्रीमान गुमाउनुकाे पीडा र तनावलाई व्यवस्थापन गर्न थाल्नुभयाे । तनाव व्यवस्थापनका विभिन्न उपायहरु जानेपछि उषाले मनकाे पीडा भुलाउन ती उपायहरु पनि अपनाउनुभयाे । 

मनाेपरामर्शकर्तासँग भेटेपछि नै उषालाई श्रीमानकाे श्रम अवधि भित्रै ज्यान गएकाे कुरा थाहा भयाे । उषालाई त वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गएमा आर्थिक सहायता प्राप्त हुन्छ भन्ने पनि थाहा थिएन । आप्रवासी श्रोत केन्द्रको सहयोग मार्फत उषाले वैदेशिक रोजगार बोर्डबाट राहातस्वरुप सात लाख रुपैयाँ र बिमा बाट १३ लाख रुपैयाँ पाउनुभयो ।

शुरुमा त श्रीमान् नै साथमा नभएपछि त्यो पैसाले के गर्ने भन्ने लाग्थ्यो उषालाई । श्रीमान गुमाउनुको वियोग एकतर्फ थियाे भने सन्तानको भविष्यप्रतिको चिन्ता अर्कोतर्फ । तर अहिले नियमित मनोपरामर्शपछि उषामा बदलाब आएको छ । आफूले आफैलाई सम्हाल्न नसके छोराछोरीको हालत के होला भन्ने साेचले उषाकाे गुमेकाे आत्मबल फेरि फर्किएकाे छ । 

‘म छु र त मेरा छोराछोरीले विद्यालयबाट फर्कदा आमा भन्न पाएका छन् । यो जाडोमा तातो खाएर न्यानो कपडा लगाएर विद्यालय जान पाएका छन्’, उहाँ मन गह्रुँगो पार्दै आफैसँग प्रश्न सोध्नुहुन्छ, ‘म पनि नभएको भए उनीहरुलाई झन् कत्ति गाह्रो होला ?'

यही प्रश्नले उहाँलाई जीवन जिउन थप उर्जा दिन्छ अचेल । बोर्ड र बिमाबाट आएको पैसाले ठूलो सहयोग गरेको छ । अहिले उषालाई निन्द्राको औषधि खानु पर्दैन । केही व्यवसाय गर्ने सोच राख्नुभएको छ । भन्नुहुन्छ, ‘श्रीमानले छाडेर जानु भएको जिम्मेवारी पूरा गर्नु छ, त्यसको लागि पहिला म स्वस्थ हुनुपर्छ, म याे स‌ंसारमा केही गर्ने छु, म फेरि उठ्ने छु ।’

(विमला श्रेष्ठ सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत नवलपरासीमा मनाेपरामर्शकर्ताको रूपमा कार्यरत हुनुहुन्छ । सामी परियोजना नेपाल सरकार र स्वीस सरकारबीचको दुईपक्षीय परियोजना हो ।)

अन्तिम अपडेट: जेठ १९, २०७९

तपाईको प्रतिक्रिया