चार दशकको थर्मस चिया !

 माघ २५, २०७८ मंगलबार ८:१३:१३ | वैद्यनाथ पाैडेल
unn.prixa.net

चार वटा थर्मस । थर्मस पिच्छेको अलग स्वामित्व । अलग स्वामित्व भएपछि अलग हिसाब । अलग, अलग हिसाबका लागि अलग अलग ट्वाक । यो सबैको संयोजक भने सङ्गीता श्रेष्ठ । यसमा सङ्गीताको पनि एउटा थर्मस छ । जसमा करिब/करिब २५ कप दूध चिया अट्छ । अरुमा पनि अन्दाजी त्यस्तै २०/२५ कप अट्छ । तीन वटा थर्मसमा दूध चिया छ भने एउटामा कालो चिया । 

यो कथा हो वसन्तपुर दरबारको दक्षिणतिर रहेको नेपाल संस्कृत विश्वविद्यालयको टेकोले थामेको भवनको आडमा रहेको थर्मस चिया पसलको, जसले सफलतापूर्वक चार दशक पार गरिसकेको छ । करिब ४० हाराहारीकी श्रेष्ठ आफूले थाहा पाएदेखि  नै यहाँ चिया पसल रहेको बताउनुहुन्छ । 

आफ्नो बाहेक अरु बाँकी तीन वटा थर्मसको चिया बेचिदिने र हिसाब राख्ने दायित्व पनि श्रेष्ठकै हो । कारण अन्त बस्ने ठाउँ त्यति सहज छैन । उहाँकोमा भने साना/ठूला गरेर करिब आठ/दशवटा प्लास्टिकका साना साना बस्ने टुल छन् । 

दूध चिया धेरै जाने कारणले तीन वटा थर्मसमा र कम जाने भएका कारण एउटा थर्मसमा भने कालो चिया छ । दूध चियाको २५ रुपैयाँ तथा कालो चियाको २० रुपैयाँ पर्छ श्रेष्ठकोमा । 

अरुको थर्मसको चिया बेचेबापत उहाँलाई केही प्राप्त हुँदैन । ‘यहाँ सबैले मिलेर काम गरिखाउन भनेर राखिदिएको हो । बरु हिसाब–किताब मिलेन भनेर झगडा पो गर्न आउँछन,’ भिन्न भिन्न थर्मसका हिसाब राख्ने भिन्न भिन्न ट्वाक देखाउँदै श्रेष्ठ भन्नुहुन्छ । 

अहिले जाडोमा उहाँको पसलमा आगो ताप्दै चिया पिउने सुविधा समेत छ । पसल बिहान ९–१० बजेदेखि सुरु हुन्छ । बिहान चाँडैदेखि  चिया बेच्न पाए धेरै बिक्री हुन्थ्यो भन्ने सङ्गीताको चाहना छ । तर, त्यो सुविधा नगर प्रहरीले दिएका छैनन् । 

बिहान चाँडैदेखि चिया बेच्न नपाए पनि बेलुका भने अहिले जाडोको समयमा ७ र गर्मीमा ८ बजेसम्म चिया पसल चल्छ । ‘अलि रात परेपछि जाँड खाएर केटाहरु झगडा गर्न थाल्छन् अनि के राख्नु पसल !’ श्रेष्ठ भन्नुहुन्छ।  

हुनत नगर प्रहरीले त्यहाँ पसल राख्ने अनुमति दिएको होइन । विश्वविद्यालयको पालेलाई केही रकम बुझाएर श्रेष्ठलाई त्यहाँ पसल राख्ने सुविधा प्राप्त भएको छ त्यसको हिसाब किताब विश्वविद्यालयको बहीमा चढ्ने देखिँदैन किनकि त्यहाँ पैसा बुझाए बापत कुनै रसिद उहाँलाई दिइएको छैन । 

बरु नगर प्रहरीले बेला बेला उहाँको पसलका सामान जबरजस्ती लिएर जान्छन् । फिर्ता दिएको उहाँलाई थाहा छैन । ‘खोइ लगेर के गर्छन थाहा छैन’ अनभिज्ञता प्रकट गर्दै श्रेष्ठ भन्नुहुन्छ, ‘माग्न जाँदा हामीलाई दिँदैनन्।’ 

चारपाटे एउटा काठको फलेक । फलेकलाई पानी तथा चिसोबाट जोगाउन राखिएका केही इँटा । यीनै इँटामाथि सुरक्षित रहेको फलेकामाथि सुरक्षित फैलिएको छ उहाँको पसल । 

एक कार्टुन पानी । चाउचाउ । कुरकुरे, चिप्स, केही बिस्कुट, बेकरी आइटमका पप, कुकिज, चुरोट अनि यस्तै खित्रिङ, मित्रिङले भरिएको छ पसल । कति लगानी हो भन्ने बारेमा उहाँलाई खुल्न अप्ठेरो लाग्यो । थर्मसबाट कागजका कपमा चिया खन्याउँदै दैनिक व्यापारका बारेमा भने सहजै भन्नुहुन्छ, ‘दिनको तीन/चार हजार हुन्छ । जात्रा, पर्वका बेला पाँच, छ हजारसम्म हुन्छ ।’

यसमा खर्च कटाएर नाफा कति हुन्छ त्यसको हिसाब भने कति हुन्छ थाहा छैन । पसलमा बसे पनि यसका धेरैजसो हिसाब आमाकै हुन्छ । अहिले आमालाई निमोनियाले च्यापेपछि भने यो पसलको सबै जिम्मेवारी उहाँमा आइपरेको छ । 

यहाँबाट नजिकै करिब दश मिनेटको पैदल दूरीमा भिमसेनस्थानमा छ उहाँको कोठा । दुई वटा कोठाको दश हजार तिर्नुपर्छ । पसल भएका ठाउँमा चिया बनाउने ठाउँ छैन । त्यसैले चिया कोठाबाटै बनाएर थर्मसमा लेराउनुपर्छ । चिया बेचेर सकियो भने फेरि बनाउन कोठा पुग्नुपर्छ । दिनमा बिहान र बेलुका गरेर दुई पटक चिया बनाउन कोठामा त पुग्नै पर्छ । कहिलेकाहीँ धेरै बिक्री भएको बेला भने अलि दौडधुप हुन्छ । 

‘थर्मसको चिया मान्छेलाई त्यति मन नपरे पनि यहाँ पकाउने ठाउँ नभएर बाध्यता भएर खान्छन्’ श्रेष्ठ भन्नुहुन्छ, ‘यसले मेरो व्यवहार टरेको छ ।’ 

२०७२ सालको भूकम्पले मक्किएको र जीर्ण बनाएको विश्वविद्यालयको भवनलाई कहिलेसम्म टेकोले थाम्ला यसबारेमा त विज्ञहरु नै बढी जानकार होलान् । तर, पुनर्निर्माणको काम सुरु भएका दिन ४ दशककोे थर्मसको चिया पसल र रोजिरोटी के हुने भन्ने बारेको चिन्ताले भने अहिलेदेखि सताउन थालेको छ श्रेष्ठलाई ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया